'के तपाईं ट्विटरमा एडिट बटन चाहनुहुन्छ ?'

ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले मस्कको ट्विटलाई रिट्विट गर्दै लेखेका छन्, 'यो सर्भे निकै महत्त्वपूर्ण छ त्यसैले ध्यान दिएर मत दिनुहोला ।'

काठमाडौँ — फेसबुक, युट्युब, लिंक्डइनलगायतका सामाजिक सञ्जालमा पोस्ट सम्पादन गर्न मिले पनि माइक्रो ब्लगिङ साइट ट्विटरमा भने मिल्दैन ।  सम्पादनको फिचर नहुँदा प्रयोगकर्ताले निकै सजग भएर लेख्नुपर्ने हुन्छ । ट्विटर लन्च भएको १५ वर्ष भइसकेको छ ।

'के तपाईं ट्विटरमा एडिट बटन चाहनुहुन्छ ?'

यसबीचमा प्रयोगकर्ताले धेरै पटक सम्पादनको फिचर ल्याउन माग गरिरहेका छन् । ट्विटरका संस्थापक ज्याक डोर्सीले पटक-पटक सम्पादनको फिचर नल्याउने पनि बताएका थिए ।

तर पछिल्लो पटक प्रविधि व्यवसायी एलन मस्कले ट्विटरको सेयर किनेपछि सम्पादनको फिचरबारे पुन: बहस सुरु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मस्कले ट्विटरको ९.२ प्रतिशत सेयर किनेका छन् । मस्कको लगानी भित्रिएसँगै सोमबार ट्विटरको सेयर मूल्य २७ प्रतिशतले बढेको छ ।

अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनका अनुसार टेस्लाका प्रमुख कार्यकारी मस्कले ट्विटरको ७३ करोड ४८ लाख ६ हजार ९ सय ३८ कित्ता सेयर किनेका छन् । शुक्रबारको सेयर मूल्यअनुसार मस्कले ट्विटरको २.८९ बिलियन डलरबराबरको सेयर किनेका हुन् । मस्कको सेयर संस्थापक ज्याक डोर्सीको भन्दा पनि बढी छ । जोर्सीको ट्विटरमा २.२५ प्रतिशत सेयर छ ।

मस्क आफै पनि अत्यधिक ट्विटर प्रयोग गर्ने व्यक्तिमा पर्छन् । ट्विटरमा उनलाई ८ करोडभन्दा बढीले पछ्याएका छन् । मस्कले मंगलबार 'के तपाईं इडिट बटन चाहनुहुन्छ ?' भन्दै ट्विट गरेका छन् । उनले दुई अप्सन दिएका छन् । ती अप्सनमा उनले 'वाईईएस' र 'एनओ' लेख्नुपर्नेमा 'वाईएसई' र 'ओएन' लेखेका छन् ।

कुनै पनि ट्विटमा गल्ती भएमा कि त डिलिट नै गर्नुपर्ने हुन्छ वा थ्रेड बनाएर भूलसुधार भएको जानकारी दिनुपर्छ । त्यही भएर पनि मस्कले ट्विटर प्रयोगकर्ताको राय बुझ्न खोजेका हुन् । यसअघि मस्कले टेस्लामा रहेको आफ्नो सेयरको केही हिस्सा बेच्नका लागि ट्विटरमै सर्भे गरेका थिए । उनले केही महिनाअघि लेखेका थिए, 'टेस्लामा भएको मेरो १० प्रतिशत सेयर बेच्न प्रस्ताव गर्छु,तपाईँ यसलाई समर्थन गर्नु हुन्छ ?'

ट्विटरमै आएको प्रतिक्रियाअनुसार उनले करिब १ अर्ब १० करोड मूल्यबराबरको टेस्लाको सेयर बेचेका थिए । त्यसैले पनि मस्कको ट्विट महत्त्वपूर्ण मानिएको छ । ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले मस्कको ट्विटलाई रिट्विट गर्दै लेखेका छन्, 'यो सर्भे निकै महत्त्वपूर्ण छ त्यसैले ध्यान दिएर मत दिनुहोला ।'

मस्कको ट्विटमा ७४ प्रतिशतभन्दा बढीले सम्पादन फिचर राखिनुपर्ने बताएका छन् । कतिपयले भने भाषिक शुद्धाशुद्धि मिलाउन मात्र सम्पादनको फिचर हुनुपर्ने माग गरेका छन् । एनडीटीभीका विदेश मामिला हेर्ने वरिष्ठ सम्पादक उमाशंकर सिंह लेख्छन्, 'म सम्पादनको पक्षमा छु तर केबल टाइपिङसम्बन्धी अशुद्ध सुधारका लागि । सम्पादनको आडमा यो नहोस् कि पहिले केही राम्रो लेखेर लाइक रिट्विट बटुलेर फेरि आफ्नो ट्विट उल्टाऊन् । पुरानो ट्विट पनि फेरिन सक्छ, यसमा ट्विटरले विचार पुर्‍याउनुपर्नेछ ।

त्यस्तै अमेरिकी लेखक लिज ह्विलर भन्छिन्, 'यदि ट्विटले लाखौँ प्रयोगकर्तालाई प्रभावित बनाइसकेपछि ट्विटकर्ताले व्याकरण मात्रै होइन विचारधारा नै परिवर्तन हुने गरी पूरै अर्थ फेरे भने ? अथवा आत्मप्रचारका लागि ।'

प्रकाशित : चैत्र २२, २०७८ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?