कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा पनि अन्तरिक्ष अनुसन्धान केन्द्र सञ्चालनको तयारी

सेन्टरअन्तर्गत अनुसन्धान, शोध, अध्ययन र निर्माणसम्बन्धी चार उपकेन्द्र प्रस्ताव
गोविन्द पोखरेल

काठमाडौँ — नेपालमा अन्तरिक्ष क्षेत्रको विकास र प्रवर्द्धन गर्न सरकारीस्तरबाट प्रस्तावित ‘नेसनल स्पेस रिसर्च सेन्टर’ सञ्चालनको तयारी थालिएको छ । सेन्टरअन्तर्गत अनुसन्धान, शोध, अध्ययन र निर्माणसम्बन्धी ४ वटा उपकेन्द्र प्रस्ताव गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) ले पहिलो पटक अन्तरिक्ष क्षेत्रकै लागि भनेर सेन्टरको प्रस्ताव गरेको हो ।

नेपालमा पनि अन्तरिक्ष अनुसन्धान केन्द्र सञ्चालनको तयारी

नास्टका सहप्राज्ञ विनोद अधिकारीको नेतृत्वमा गठन भएको समितिले स्पेस एन्ड एट्मोस्फोरिक, वेदर फोरकास्ट एन्ड क्लाइमेट स्टडिज, स्पेस इन्जिनियरिङ एन्ड टेक्नोलोजी र अर्थ सिस्टम र अब्जर्भेसन गरी चार विषयगत क्षेत्र समेटेर सेन्टर सञ्चालन गर्न सकिने प्रस्ताव गरेको छ । नास्टको प्राज्ञ सभाले नीतिगत रूपमै अन्तरिक्ष क्षेत्रमा काम गर्न स्पेस सेन्टर निर्माण गर्ने निर्णय यसअघि नै गरिसकेको छ । यसका लागि सहप्राज्ञ अधिकारीको नेतृत्वमा गठित अध्ययन समितिले अन्तिम प्रतिवेदन नास्टलाई बुझाउने तयारी गरेको छ । अध्ययन कार्यदलका संयोजक अधिकारीले हाल २० करोडको लगानीमा स्थापना गरेर सञ्चालन गर्न सकिने बताए ।

अमेरिका, चीन र भारतजस्तो नेपालमा स्पेस रिसर्च सेन्टर स्थापना गर्न ठूलो लगानी आवश्यक नपर्ने अधिकारी बताउँछन् । ‘ती देशले अर्बौं लगानीमा स्थापना गरे हामी करोडमा स्थापना गर्न सक्छौं,’ उनले भने । सेन्टरको स्पेस एन्ड एट्मोस्फेरिक उपकेन्द्रमा एरोनोमी, एस्ट्रोफिजिक्स, स्पेस जियो फिजिक्स रहनेछन् । वेदर फोरकास्ट एन्ड क्लाइमेट स्टडिज विभागले जल तथा मौसमको अध्ययन, मौसमको पूर्वानुमान, स्टोलाइटलगायतका विषयमा खोज गर्नेछ । यो डिभिजनबाट सेन्टरले जलवायुको अवस्था र अनुसन्धानका साथै पूर्वानुमान पनि गर्नेछ । स्पेस इन्जिनियरिङ एन्ड टेक्नोलोजीअन्तर्गत यान, स्याटेलाइट, ग्राउन्ड स्टेसनको निर्माणलगायत इन्जिनियरिङसँग सम्बन्धित खोज एवं अध्ययन हुने प्रस्तावमा उल्लेख छ । अर्थ सिस्टम र अब्जर्भेसनमा पृथ्वीसँग सम्बन्धित तथ्यांक, चक्रीय प्रणालीलगायतका विषय रहनेछन् ।

सेन्टर सञ्चालनका लागि ठूलो जनशक्ति र उपकरण आवश्यक हुन्छ । यसका लागि विशिष्टीकृत ल्याबोरोटरी, अनुसन्धान, सुपर कम्प्युटर, परीक्षणका कार्यहरू गर्नुपर्ने हुन्छ । अध्ययन प्रस्तावमा तत्कालै सेन्टर सञ्चालनका लागि हरेक विषयगत क्षेत्रमा ३ वैज्ञानिक छनोट गरेर राख्न सकिने उल्लेख छ । स्रोत व्यवस्थापनको जिम्मा नेपाल सरकारले लिने र विभिन्न संस्थाहरूसँगको साझेदारीबाट अनुसन्धानात्मक कार्यक्रम गर्न सकिने अधिकारीले बताए ।

अन्तरिक्षसम्बन्धी अध्ययन, अनुसन्धान र प्रयोग गर्न सरकारीस्तरबाट सञ्चालन गर्न लागिएको यो सेन्टर नेपालका लागि पहिलो हुनेछ । नास्टकै अगुवामा नानो स्याटेलाइट उडाएपछि देशभित्रै स्पेस सेन्टरको आवश्यकता महसुस गरिएको थियो । नानो स्याटेलाइट बनाउन र उडाउन विदेशकै स्पेस सेन्टरका लागि अन्य मुलुकसँग भर पर्नुपरेको थियो । ‘सेन्टर बनेपछि देशभित्रैबाट उडाउन नसके पनि कम्तीमा बनाउन र परीक्षण गर्न सकिन्थ्यो,’ नास्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले भने । ‘सानो भए पनि नेपालको नामबाट एउटा स्याटेलाइट उडाएर अनुभव पनि हासिल गरियो,’ उनले भने, ‘त्यही अनुभवले स्पेस रिसर्च सेन्टरको आवश्यकता औंल्यायो ।’ नास्टले आफ्नो दोस्रो स्याटेलाइट मिसन २०२३ मा लन्च गर्ने तयारी गरेको छ । यसका लागि पनि सेन्टर स्थापनाले सहयोग पुग्ने उनले बताए ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराई सेन्टर स्थापना गर्नु सकारात्मक भए पनि नेपालमा अन्तरिक्षसम्बन्धी नीति नहुँदा त्यसले समस्या ल्याउन सक्ने बताउँछन् । ‘हाम्रोमा अन्तरिक्षसम्बन्धी नीति नै छैन । सरकारले अन्तरिक्ष सम्बन्धी नीति एवं कानुन निर्माण गरेर त्यसले दिएको म्याडेन्टअनुसार स्पेस एजेन्सी बनाउँदा अझ राम्रो हुन्थ्यो ।’

तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयले नास्टका लागि ५ वटा प्राविधिक क्षेत्र पहिचान गरेको थियो । तीमध्ये, सूचना प्रविधि, जैविक प्रविधि, परमाणविक प्रविधि, स्पेस टेक्नोलोजी र नानो टेक्नोलोजीलाई प्राथमिकतामा राखेको थियो । नास्टले २०११ मै अनुसन्धानकर्ता नन्दविक्रम अधिकारीको संयोजकत्वमा ‘अर्थ सिस्टम र अब्जर्भेसन’ मा केन्द्रित रहेर अन्तरीक्षसम्बन्धी अध्ययन–अनुसन्धानका लागि आवश्यक पूर्वाधार निर्माणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेको थियो । उक्त समितिले समग्र अन्तरीक्षसम्बन्धी विषय समेट्न नसकेको टिप्पणी भएपछि त्यसको प्रतिवेदन कार्यान्वयमै आएन ।

प्रकाशित : आश्विन २४, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?