कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

३ महिनापछि चल्यो नास्टको ग्राउन्ड स्टेसन

गोविन्द पोखरेल

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को ग्राउन्ड स्टेसन ३ महिनापछि पुनः सञ्चालनमा आएको छ । स्टेसनको एन्टेनामा जडान हुने चिप बिग्रिएपछि ३ महिना बन्द भएको थियो । 

३ महिनापछि चल्यो नास्टको ग्राउन्ड स्टेसन

गत डिसेम्बरमा रोटेटर बिग्रिएपछि स्टेसन एक महिना बन्द भएको थियो । केही महिना चलेपछि 'इन्कोडर' बिग्रिएपछि ३ महिनासम्म बन्द भएको थियो । लकडाउन खुलेसँगै जापानबाट इन्कोडर चिप ल्याइएपछि स्टेसन पुनः सञ्चालनमा आएको नास्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले जानकारी दिए ।

इन्कोडर चिपले रोटेटर घुम्दा कति डिग्रीको कोण बनाएर घुम्‍ने सम्बन्धमा कमान्ड दिने काम गर्छ । चिप बिग्रिएपछि उक्त काम रोकिएको थियो ।

स्टेसन बनेसँगै स्याटेलाइटसँग कम्युनिकेसन हुन थालेको ढकालले जानकारी दिए । स्टेसनबाट नेपाली स्याट-१ ले खिचेका तस्बिरहरु लिने काम भइरहेको उनले जानकारी दिए । नास्टको ग्राउन्ड स्टेसनबाट बर्ड्स मिसन अन्तर्गतका स्याटेलाइटहरूलाई पनि निगरानी गर्न सकिन्छ । अहिले स्टेसनबाट हुने नियमित काम भइरहेका छन् । स्टेसनमा ४ जना विद्यार्थी खटिएका छन् । उनीहरूलाई तालिम दिएर स्याटेलाइट निगरानीका लागि स्टेसनमा खटाइएको हो । ग्राउन्ड स्टेसनले लोरा डेमोन्सट्रेसन मिसन अन्तर्गतको डाटा, हाइ स्याम्प्लिङ डेटा लिइरहेको छ ।

नास्टमा नेपाली स्याटेलाइट-१ लाई लक्षित गरेर यो स्टेसन निर्माण गरिएको हो । स्टेसनले अन्य स्याटेलाइटहरुबाट पनि तथ्यांक लिन सक्ने बताइएको छ ।

नेपाली स्याट-१ प्रक्षेपण भएको ५ महिनापछि मात्रै नास्टमा ग्राउन्ड स्टेसन निर्माण भएको थियो । त्यसबेला नास्टले सार्वजनिक खरिद प्रणालीको कारण देखाउँदै स्टेसन निर्माणमा ढिलाइ भएको बताएको थियो । स्टेसन निर्माण भएपनि त्यहाँ प्रयोग हुने रेडियो उपकरण फरक मोड्युलको परेपछि स्याटेलाइटबाट तथ्यांक लिन सकेन । रेडियो अर्कै मोड्युलको परेको विषय बाहिरिएपछि विवादसमेत भएको थियो ।

नास्टमा जडान गरिएको ग्राउन्ड स्टेसनको एन्टेना । एन्टेनामा जडान हुने सामानहरु बिग्रिदा ३ महिनासम्म स्टेसनबाट काम हुन छाडेको थियो । तस्बिर: केशव थापा/कान्तिपुर ।

उक्त रेडियो फेर्न पनि केही महिना लागेको थियो । रेडियो जडान गरेपछि केही समय स्टेसन चलेको थियो तर जनशक्ति अभावका कारण नियमित रुपमा हुने कामहरु हुन सकेको थिएन । कहिले रोटेटेर बिग्रिने, कहिले एलिभेसन मोटर बिग्रिनेजस्ता समस्याहरु स्टेसनमा देखा पर्दै आएको छ ।

नेपाली स्याट-१का निर्माणकर्ता आभास मास्के स्वदेश फर्किएपछि नास्टले उनैलाई स्टेसन सम्बन्धीको काम गर्न सघाइदिन आग्रह गरेको थियो । हाल मास्केसहितको टिमले ग्राउन्ड स्टेसनको मोनिटरिङ गरिदिँदै आएको छ ।

प्रकाशित : भाद्र २८, २०७८ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?