कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुक्र ग्रहको अध्ययनका लागि नासा र ईएसएका तीनवटा स्पेस मिसन सार्वजनिक

इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकी अन्तरिक्ष संस्था नासाले शुक्र ग्रहमा दुई वटा रोबटिक मिसनको घोषणा गरेको दुई साता नबित्दै युरोप स्पेस एजेन्सी(ईएसए)ले शुक्र ग्रहका लागि नयाँ मिसनको घोषणा गरेको छ । ईएसएले १० जुनमा शुक्र ग्रहमा अनुसन्धानका लागि 'इनभिजन' नाम गरेको अर्बिटल मिसनको घोषणा गरेको हो । यो सन् २०३१ मा लन्च हुने बताइएको छ ।

शुक्र ग्रहको अध्ययनका लागि नासा र ईएसएका तीनवटा स्पेस मिसन सार्वजनिक

यो युरेपियन स्पेस एजेन्जीको मध्य किसिमको अन्तरिक्ष खोज अन्तर्गतको बहुवर्षीय परियोजना हो । यो परियोजनाका लागि ६१० मिलियन युरेपियन डलर विनियोजन गरिएको छ ।

मंगल ग्रहको तुलानामा शुक्र ग्रहमा थोरै अन्तरिक्ष मिसनहरु छन् । जलवायु परिवर्तन र बाहिरी ग्रहहरुमा खोज तथा रुचि बढेसँगै शुक्र ग्रहतिर वैज्ञानिकहरुको ध्यान मोडिएको हो । यो ग्रहमा सल्फरिक एसिडको वायुमण्डल छ ।

ईएसएले सन् २००६ देखि २०१४ सम्म चलाएको भेनस एक्सप्रेस मिसनबाट त्यहाँको प्राचीन सागर र सक्रिय ज्वालामुखीहरुको अध्ययन गरेको थियो ।

यो मिसनको मुख्य उद्देश्य शुक्र ग्रहको हाइ रिजोलुसन राडार म्यापिङ र त्यहाँको वायुमण्डल अध्ययन रहेको छ । शुक्र ग्रहमा कुनै समयमा महासगर भए/नभएको जानकारी वा प्राचीन समयमा बस्न लागयक थियो कि थिएन भन्ने समेत जानकारी लिनेछ ।

शुक्र ग्रहमा हुने भौगर्भिक गतिविधि र त्यहाँको वायुमण्डलबीचको अन्तरसम्बन्ध थाहा पाउन यो मिसनले मद्दत पुग्‍ने बताइएको छ । यो मिसनले पृथ्वी र शुक्र ग्रहहरु कसरी फरक इतिहास बोकेर उत्पत्ति भए भन्ने कुरा पनि केलाउनेछ ।

यो मिसन नासासँग सहकार्य गरेर सञ्चालन हुनेछ । नयाँ मिसन अन्तर्गत त्यहाँको ज्वालामुखीको प्याटर्न हेरेर उक्त ग्रहले कसरी काम गरिरहेको छ भन्ने कुराको जानकारी हुने इनभिजिनका लिड साइन्टिस्ट रिचार्ड गेलले बताएका छन् ।

शुक्र ग्रहमा वायुमण्ड बाक्लो भएकाले क्यामेरबाट सिधै त्यहाँको अवस्थाबारे जानकारी लिन सकिँदैन । यसका लागि वैज्ञानिकहरुले तरंग दूरी(वेभ लेन्थ) को सहायताबाट काम गर्नेछन् । इनभिजनले इन्फ्रारेड सेपक्ट्रोमिटरको मद्दतबाट शुक्र ग्रहको सतह हेर्दै त्यहाँका सक्रिय ज्वालमुखीहरुको अध्ययन गर्नेछ । यसका अलवा राडार नक्साको मद्दतबाट त्यहाँका लाभाहरुको समेत अध्ययन गर्ने बताइएको छ ।

अल्ट्रा भाइलेट र उच्च रिजोलुसन भएका इन्फ्रारेड सेपक्ट्रोमिटरको सहयताबाट त्यहाँबाट निस्कने बाफ र सल्फर डाइअक्साइडको समेत जानकारी लिने बताइएको छ ।

नासाका नयाँ प्रशासक बिल नेल्सनले गत जुन २ तारिखमा शुक्र ग्रहको दुई वटा मिसन घोषणा गरेका थिए । यी दुईवटा रोबटिक मिसनहरुको नाम दाविन्ची प्लस र वेरिटास दिइएको छ । दुवै मिसनका लागि ५०/५० करोड अमेरिकी डलर दिइएको छ । यो शताब्दीको अन्त्यसम्म यी अर्बाइटरहरु त्यहाँ पुग्‍ने बताइएको छ । यसअघि नासाले सन् १९९०मा मैगलिन अर्बिटर शुक्र ग्रहमा पठाएको थियो ।

दाविन्ची प्लस (डिप एट्मोसफेयर भेनस इन्भेस्टिकेसन अफ नोबल ग्यासेस, केमस्ट्री एन्ड इमेजिङ प्लस) मिसन अन्तर्गत शुक्र ग्रहको वायुमण्डलको उत्पत्ति र पृथ्वी र मंगल ग्रहभन्दा किन फरक छ भन्ने सम्बन्धमा खोज गर्नेछ । यस्तै, यो मिसन अन्तर्गत शुक्र ग्रहमा पहिले महासगर थिए वा थिएनन् भन्ने सवालमा खोज गर्नेछ । यस्तै, शुक्र ग्रहको वायुमण्डलमा हुने रसायनिक प्रक्रियाको समेत अध्ययन गर्ने बताइएको छ । दाविन्ची प्लसले शु्क्र ग्रहको भू-तस्बिरहरु समेत लिनेछ । यसबाट त्यहाँ पृथ्वीमा जसरी भूगर्भिक प्लेटहरु छन् कि छैनन् भन्ने समेत जानकारी लिएर कसरी उक्त ग्रह बनियो भन्ने सवालमा अध्ययन गर्नेछ ।

यसले तस्बिरहरु पनि खिच्ने बताइएको छ । यसले शुक्र ग्रहमा पनि पृथ्वीको जस्तै टेक्टोनिक प्लेट्सहरु छन् भन्ने कुराको पनि खोज गर्नेछ ।

अर्को दोस्रो मिसन नासाले वेरिटास (भेनस इमिस्टिभिटी, रेडियो साइन्स, इन्सार, टोपोग्राफी एन्ड स्पेक्ट्रोसकपी) हो । यो मिसनले शुक्रको भूगर्भको उत्पत्ति कसरी भयो, यहाँको भौगर्भिक प्रक्रियाहरु कस्ता छन् र कतै शुक्र ग्रहको सतह वा आसपासमा पानी त छैन भन्ने सम्बन्धमा खोज गर्नेछ । यो मिसनले एक प्रकारको राडार प्रयोग गरेर त्यहाँ भूकम्प जान्छ या जाँदैन लगायतका विषयहरुको समेत अध्ययन गर्नेछ ।

आगोको भट्टिसमेत भनिने शुक्र ग्रहको वायुमण्डलमा कार्बनडाइअक्साइड छ । यो ग्रहको बादल सल्फरिक एसिडबाट बनेको छ । सल्फरिक अम्लको बादल भएकाले यसले धेरै प्रकाश परावर्तन गर्ने भएकाले यो अन्य ग्रहहरुभन्दा चम्किलो देखिन्छ ।

सौर्य मण्डलको दोस्रो ग्रह शुक्र पृथ्वी जत्रै छ । यसलाई कतिपयले पृथ्वीको जुम्ल्याहा ग्रह समेत भन्छन् ।

सौर्य मण्डलको पहिलो ग्रह बुध भएपनि शुक्र ग्रह धेरै तातो छ । यो ग्रहमा सबैभन्दा धेरै गर्मी र तापक्रम हुन्छ । यसको औसत सतही तापक्रम भनेकै ४७५ डिग्री सेल्सियस छ भने बुधको ४३० डिग्री रहेको नासाले जनाएको छ । यो तापक्रम भनेको सिसा पनि पग्लने तापक्रम हो । बाक्लो वायुमण्डल र कार्बन डाइअक्साइडका कारण ताप सोस्ने भएकाले यहाँ धेरै गर्मी र तापक्रम भएको वैज्ञानिकहरु बताउँछन् ।

शुक्र ग्रहमा रहेको कार्बन डाइअक्साइडको बाक्लो वायुमण्डलीय तहका कारण त्यहाँ हरितगृह प्रभाव हुन्छ । जसका कारण वायुमण्डल झन् तातिएर तापक्रम धेरै बढे्को अनुमान गरिन्छ ।

यो ग्रहको बादलहरु सल्फरिक एसिडले भएकाले चन्द्रामा पछि आकाशमा हेर्दा धेरै चम्किलो देखिन्छ ।

भेनसको एक दिन भनेको पृथ्वीको २४३ दिन(आफ्नो कक्षमा एक फन्को लगाउन) बराबर हुन्छ । तर, उसले सूर्यको परिक्रमा भने २२४.७ दिनमा गरिसक्छ । अर्थात भेनसको एक वर्ष भनेको २२५ पृथ्वी दिन । यो ग्रहमा सूर्योदय र सूर्यास्त करिब ११७ पृथ्वी दिन पछि हुन्छ । पृथ्वीभन्दा ठीक उल्टो घुम्ने भएकाले शुक्र ग्रहमा सूर्य पश्चिबाट उदाउँछ र पूर्वबाट अस्ताउँछ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?