नास्टलाई प्रसाईंको ‘गुरुदक्षिणा’- विज्ञान र प्रविधि - कान्तिपुर समाचार

नास्टलाई प्रसाईंको ‘गुरुदक्षिणा’

थेसिस लेख्न नास्ट छिरेकी प्रसाईं अन्नत: त्यहाँकै स्थायी वैज्ञानिक बनिन् । निरन्तर अनुसन्धानमा क्रियाशील उनले झन्डै २ वर्षअघि युनेस्कोबाट फेलोसिपअन्तर्गत ५० हजार डलर प्राप्त गरिन् । उक्त रकम उपकरण खरिद र नास्टकै वातावरण प्रयोगशालाको स्तरोन्नतिमा खर्चेकी छन् ।
गोविन्द पोखरेल

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) को विज्ञान संकायअन्तर्गत वातावरण प्रयोगशालामा कणहरु (नानो–मेटेरियल्स) को आकार मापन गर्न सकिने एउटा उपकरण छ । कुनै पनि वस्तुको चार्ज पत्ता लगाउनसमेत यो उपयोगी हुन्छ । यसलाई कुनै सरकारी योजना या लगानीमार्फत भित्र्याइएको भने होइन ।

करिब ३२ लाख रुपैयाँ खर्च गरेर नाष्टमा ल्याइएको जेटा पोटेन्सियल न्यानो पार्टिकल एनालाइजरका साथ डा.टिस्टा प्रसाईं । तस्बिरः अनिश रेग्मी / कान्तिपुर ।

नास्टकी वैज्ञानिक डा. टिस्टा प्रसाईं जोशीले आफ्नो फेलोसिप परियोजनामार्फत खरिद गरी वातावरण प्रयोगशालामा जडान गरेकी हुन् । उनका अनुसार गत अक्टुबरमा जापानबाट झिकाइएको यो उपकरण किन्न २७ हजार ५ सय अमेरिकी डलर (करिब ३२ लाख रुपैयाँ) खर्च भएको थियो ।

चाइनिज एकेडेमी अफ साइन्सेसबाट इन्भोरोन्मेन्टल इन्जिनियरिङमा पीएचडी गरेकी प्रसाईं पानी प्रशोधन, यसको गुणस्तर र शुद्धीकरणसम्बन्धी अनुसन्धानमा संलग्न छिन् । उनले सन् २०१९ मा युनेस्कोअन्तर्गत अर्गनाइजेसन अफ वुमन साइन्स इन डेभलपिङ वल्र्ड (ओडब्लूएसडी) ले हरेक वर्ष प्रदान गर्ने अर्ली करिअर फेलोसिप अवार्ड प्राप्त गरेकी थिइन् । उक्त अवार्डमार्फत मिलेको ५० हजार अमेरिकी डलरबाटै उनले ‘जेटा पोटेन्सियल न्यानो पार्टिकल एनालाइजर’ खरिद गरेकी हुन् ।

पानी शुद्धीकरण गर्ने क्रममा रसायनको लागत घटाउन समयमै ‘कोगुलन्टको मात्रा’ समायोजन गर्न र प्रयुक्त रसायनका कणहरुको विशेषता थाहा पाउन यो उपकरण प्रयोग हुने उनको भनाइ छ । ‘०.३ नानोमिटरदेखि १० माइक्रोमिटरसम्मका कणहरुको आकार यसबाट मापन गर्न सकिन्छ,’ प्रसाईंले भनिन् ।

नेपालमै पहिलोपटक यस्तो उपकरण भित्र्याइएको हुन सक्ने उनको दाबी छ । अनुसन्धानमा उपयोगी मानिएको यो उपकरण हाल तथ्यांक सकंलनमा प्रयोग भइरहेको छ, जसमा तीन जना पीएचडी अनुसन्धानरत विद्यार्थी सामेल छन् ।

उपकरणबाहेक नास्टको वातावरण प्रयोगशालामा कम्प्युटर, एसी, वाल पेन्टिङदेखि आन्तरिक सजावटसमेत गरेको उनले बताइन् । ‘अब यो सबै नाष्टको सम्पत्ति हो । एक हिसाबमा यो एक विद्यार्थीले गुरुलाई दिने गुरुदक्षिणा नै हो,’ उनले भनिन्, ‘आफैं अनुसन्धानमा संलग्न भएर पाएको फेलोसिपलाई आफू कार्यरत संस्थाकै अनुसन्धान क्षमता अभिवृद्धिमा उपयोग गर्ने अवसर मिल्यो । निकै खुसी छु । सायद यो निरन्तरको अनुसन्धान र परिश्रमकै नतिजा हो भन्ने लाग्छ ।’

प्रसाईंको नास्टसम्मको यात्रा पनि रोचक छ । इन्भारोन्मेन्टल माइक्रोबायोलोजीमा स्नातकोत्तर सकाएपछि प्रसाईं अनुसन्धान सहायकको वृति पाएर नास्टमा प्रवेश गरेकी हुन् । समयक्रमसँगै उनी त्यहींकै स्थायी वैज्ञानिक बनिन् । ‘थेसिस गर्न भनेर नास्ट आएको थिएँ, यहीं रिसर्च एसिसटेन्ट भएँ,’ उनले भनिन्, ‘लगनशील भई काम गर्दै जाँदा करार हुँदै स्थायी वैज्ञानिक भएँ । अहिले स्थायी भएको पनि ११ वर्ष भएछ ।’

सफा हुनसक्छ वाग्मती

प्रसाईं हाल वाग्मती नदीको पानीको अवस्थाबारे पनि अनुसन्धान गरिरहेकी छन् । फोहोर नालीजस्तै बनेको वाग्मतीलाई सफा र स्वच्छ रुपमै बगेको देख्न सकिने उनलाई लाग्छ । ‘वाग्मतीको पानी अति नै प्रदूषित भएपनि अब सफा हुन सक्दैन भन्ने नकारात्मक टिप्पणी सही छैन,’ उनी भन्छिन्, ‘यहाँको पानीलाई बृहत्तर ट्रिटमेन्ट प्रविधि प्रयोग गरी तथा प्रदूषणका स्रोत पहिल्याएर नष्ट गर्दा पूर्ववत अवस्थामा लैजान सकिन्छ, यद्यपि लगानी धेरै हुन सक्छ ।’

तस्बिरः अनिश रेग्मी ।

नास्टकै प्रयोगशालामा स्थानीय पानीको परीक्षण गरी खान योग्य रहेको/नरहेकोबारे पनि उनले सर्वसाधारणलाई परामर्श सेवा दिँदै आएकी छन् । ‘पब्लिकबाट पानीको नमूना लिन्छौं, परीक्षण नतिजा दिन्छौं । यो सेवा हामीले सन् २००२ देखि नै प्रदान गर्दै आएका हौं,’ उनले सुनाइन् । प्रसाईंको अधिकांश समय अनुसन्धान र विभिन्न परीक्षण गर्ने सिलसिलामा प्रयोगशालामै बित्छ । भन्छिन्, ‘काम गर्ने कति घण्टा हो भन्ने नसोध्नुहोस् है, थाहै हुादैन । सधैं काममा नै व्यस्त हुन्छौं ।’

नयाँ पुस्ताका वैज्ञानिकहरुमा मिहिनेत, लगनशीलता र धैर्य रहनसक्ने गुण हुनुपर्ने उनको सुझाव छ । कुनै पनि अनुसन्धानकर्ताले के कुरामा आफूले अनुसन्धान गर्न खोजेको र किन गर्न लागेको भन्नेमा स्पष्ट भए मात्र त्यसले नतिजा राम्रो दिने उनको अनुभव छ ।

नयाँ अनुसन्धानकर्ताको लागि सधैं सहयोगी

प्रसाईं अनुसन्धानकर्ता मात्रै नभएर कुशल सुपरिवेक्षक पनि हुन् । हाल दुई जना पीएचडी अध्ययनरत विद्यार्थीहरुलाई उनी सह—सुपरिवेक्षण गरिरहेकी छन् । यसबाहेक त्रिवि विज्ञान संकायका विभिन्न विभाग र क्याम्पसका आधा दर्जन विद्यार्थीलाई थेसिस पनि गराउँदै छिन् ।

उनले थेसिस गराएकी उत्कृष्ट विद्यार्थीलाई आफ्नै परियोजनाबाट अनुसन्धान सहायकमा वृति प्रदान गरेकी छन् । ‘पहिला मलाई पानीको विभिन्न स्याम्पलहरुको टेस्ट हुन्छ भन्ने जानकारी थियो तर कसरी गरिन्छ भन्ने राम्रोसाग थाहा थिएन । पानीमा भएको आर्सनिकलाई कसरी हटाउने भन्ने पनि यहीं आएर सिकें,’ वृति पाएर अनुसन्धानमा खटिएकी नेना व्यञ्जनकारले भनिन् ।

प्रसाईंकै सुपरिवेक्षणमा अनुसन्धान गरिरहेकी छन् उन्नति अर्याल । वातावरण विज्ञानमा स्नातकोत्तर गरिरहेकी अर्याल पनि फरक–फरक उपकरण प्रयोग र अनुसन्धानका नयाँ आयामहरु सिक्ने मौका पाएकोमा गद्‌गद् छिन् । ‘कलेजमा भन्दा यहाँ राम्रोसँग थरिथरिका उपकरण चलाउन पाइन्छ । ल्याबको काम एकदमै चाखलाग्दो पनि छ । टिस्टा म्यामले धेरै कुराहरु सिक्ने अवसर दिनु भएको छ ।’

प्रसाईंको सुपरिवेक्षणमा प्रयोगशालमा कार्यरत विद्यार्थीहरु । तस्बिरः अनिश रेग्मी/कान्तिपुर

माइक्रो बायोलोजीका विद्यार्थी भुपेन्द्र लामाले प्रसाईंकै निर्देशन, सहयोग र समन्वयमा फोहोर पानीमा हुने एन्टिबायोटिक प्रतिरोधक ब्याक्टेरिया र तिनका जिनहरुको अनुसन्धान विधि सिकिरहेका छन् । प्रितम साह पनि पानीमा हुने ब्याक्टेरियाबारे अध्ययन गर्ने तरिका सिक्दै गरेको बताँउछन् ।

चाइनिज एकेडेमी अफ साइन्सेसमा पीएचडी गरिरहेका सुजन खड्काले पनि प्रसाईसँगै आफ्नो अनुसन्धान अघि बढाइरहेका छन् । कोरोना महामारी फैलिएपछि नेपाल फर्किएका उनी चीन जान पाएका छैनन् । उनी यो समय नास्टमै अनुसन्धानरत छन् ।

‘अनुसन्धानको क्षेत्रमा महिला र पुरुष भन्ने हुँदैन’

अध्ययन सकाएपछि प्रसाईंलाई पनि विदेश जाने रहर नलागेको होइन । मौका नआएको पनि होइन । तर उनले नेपालमै पेशागत उन्नयनको भविष्य हुन सक्ने सम्भावना देखिन् । यहीं मिहिनेत गरेर अन्तर्राष्ट्रियस्तरको फेलोसिपसमेत हात पारिन् । ‘विदेश नगई यहीं काम गर्दा देशका लागि पनि योगदान दिने प्रयास रहन्छ,’ उनले भनिन् ।

चर्चित वैज्ञानिकभन्दा पनि नतिजामुखी अनुसन्धान गर्न सक्ने वैज्ञानिक हुनुपर्ने उनको ठहर छ । भन्छिन्, ‘हामीलाई धेरै चिनिनु छैन । काम गरिरहने र त्यसको नतिजा र उपलब्धि सबैले पाऊन् भन्ने मात्रै लाग्छ ।’

विज्ञानसम्बन्धी अध्ययन, अनुसन्धानको क्षेत्रमा महिला र पुरुष भन्ने नुहने उनी बताउँछिन् । ‘यो क्षेत्रमा लाग्ने दुवैलाई गाह्रो हुन्छ । त्यसमा पनि महिलालाई थप जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने बाध्यता रहन्छ,’ उनले भनिन् । नयाँ पुस्तामा विज्ञानप्रति अभिरुचि जगाई अर्थमूलक अनुसन्धान गराउनु नै आफ्नो मुख्य उद्देश्य रहेको उनले सुनाइन् ।

प्रकाशित : फाल्गुन २९, २०७७ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्

नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

गोविन्द पोखरेल

काठमाडौँ — अनाधिकृत रुपमा बर्डस्-३ स्याटेलाइट सम्बन्धी अनुसन्धान कृति बौद्धिक चोरी गरेर छापेका एक नेपाली वैज्ञानिक अधिकृतलाई कारबाही नगरेको भन्दै नास्टलाई जापानको क्युसो इन्स्टिच्यूट अफ टेक्नोलोजी(क्युटेक)ले पत्रचार गरेको छ । 

बर्डस्-३ मिसन अन्तर्गत अन्तरिक्षमा छाडिएको नेपालको पहिलो स्याटेलाइट 'नेपाली स्याट-१' सम्बन्धी 'कन्फ्रेन्स पेपर' नास्टका प्राविधिक अधिकृत रोशन पाण्डेले अनाधिकृत रुपमा छापेको क्युटेकको दाबी छ । क्युटेकले उपकूलपति सुनिलबाबु श्रेष्ठलाई सम्बोधन गर्दैं दोस्रो पत्र पठाएको हो ।

क्युटेक विश्वविद्यालयका प्राध्यापक एवं ल्याबोरेटरी अफ लिन स्याटेलाइट इन्टरप्राइजेज एन्ड इन-अर्बिट एक्सपेरिमेन्ट्सका प्रमुख डा. मेंगु चोले उपकुलपति श्रेष्ठलाई पाण्डेले तयार गरेको कार्यपत्र चोरी गरेर अवैधानिक र अनाधिकृत रुपमा रिसर्च गेट अनलाइनमा राखिएको उल्लेख छ । उक्त कार्यपत्र नहटाएको र अनैतिक कार्य गर्दा पनि नास्टले पाण्डेलाई कारबाही नगरेको भन्दै प्राध्यापक चोले नास्टका उपकूलपतिलाई पत्र लेखेका हुन् । उनले अनलाइनमा राखिएको उक्त कृति हटाउन र वैधानिकता खारेज गर्न पनि भनेका छन् ।

नास्टका प्राविधिक अधिकृत पाण्डेले इन्टरनेशनल एस्ट्रोनोमिकल फेडरेसन(आईएफ)को सन् २०२० अक्टोबर १२ देखि १४ सम्म चलेको 'इन्टरनेसनल एस्ट्रोनोटिकल कंग्रेस, द साइबर स्टेशन' (आईएसी)को बी ४.३ मा 'स्मल स्याटेलाइट अपरेशन' विधामा 'नेपाली स्याट-१ बिगिनिङ अफ द स्पेस इरा इन नेपाल' नामक कार्यपत्र नास्टको नाममा प्रस्तुत गरेका थिए । उक्त कृति पाण्डेले अनलाइन साइट रिसर्च गेटमामा हालेपछि प्राध्यापक चोले पहिले पटक जनवरी ५ तारिखमा कारबाही प्रक्रिया बढाउन माग गर्दै नास्टलाई पत्र पठाएका थिए ।

ईकान्तिपुरलाई प्राप्त प्राध्यापक चोले नास्टलाई पठाएको उक्त पत्रमा इन्टरनेशनल एस्ट्रोनोमिकल कन्फरेन्स (आईएसी)मा पाण्डेले प्रस्तुत गरेको कार्यपत्र समेत हटाउन माग गरेका छन् । उनले उक्त कृति एक महिनाभित्र नहटाइए आफैंले थप कानुनी प्रक्रिया थाल्ने चेतावनी समेत दिएका छन् । पाण्डेले प्रकाशित गरेको उक्त कृतिमा बर्डस्-३ स्याटेलाइट मिसनको वेबसाइटमा राखिएका मिसन, चित्र तथा तथ्यांकहरु अधिकांश हुबहु सारिएका छन् । कृतिमा वाक्यहरु समेत हुबहु हालेको पाइएपछि प्राध्यापक चो नास्टसँग रुष्ट बनेका हुन् ।

प्राध्यापक चोले नास्टलाई पठाएको पत्र । तस्बिरः कान्तिपुर

नास्टका प्रविधि संकायका प्रमुख डा. रविन्द्र ढकालले यो आन्तरिक छलफलको विषय भएको प्रतिक्रिया दिए । उनले कसैको अनुसन्धानात्मक कृति कपीपेस्ट गरेर प्रकाशित गर्न नपाइने बताए । उनले भने, 'संस्थाको नोटिसमा नआइकन कसले, कसरी, कुन कृति प्रकाशित गरिरहेको छ भन्ने काममा जवाफदेही हुन सकिँदैन । कुनै पनि रिसर्चरले कृति लेख्दा इथिकल ग्राउन्डमा उभिएर गर्नुपर्छ ।' क्युटेकसँग आफूहरुले सम्पर्क गरिरहेको उनले जानकारी दिए ।

नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले भने क्युटेकका प्राध्यापकले पठाएको पत्रबारे अनविज्ञता प्रकट गरे ।

मेकानिकल इन्जिनियरिङमा विद्यावारिधी समेत गरिरहेका प्राविधिक अधिकृत पाण्डेले यसबारे क्युटेकलाई जवाफ दिएको र अनलाइनबाट हटाएको बताए । उनले भने, 'नास्ट र क्युटेकसँगको सहकार्यमा भनेर स्याटेलाइट बनाइएकाले मैले एक्नलेज दिँदा उपयुक्त हुने ठानेर त्यही गरेको थिएँ ।'

'वैज्ञानिकहरुको संस्थामा रहेर काम गरिरहँदा कसैको कृति सिधै कपीपेस्ट गरेर हाल्न पाइन्छ ?' भन्ने ईकान्तिपुरको प्रश्नमा पाण्डेले घुमाउरो रुपमा आफ्नो गल्ती भएको स्वीकार गरे । उनले भने, 'वेबसाइटमा राखिएको र खुला पहुँच भएकाले त्यही तथ्यांक प्रयोग गरेँ ।' कृति छाप्नुअघि र कन्फ्रेन्समा प्रस्तुति दिने सवालमा नास्टलाई उनले जानकारी समेत नदिएको पाइएको छ । उनले भने, 'अनलाइनमार्फत प्रस्तुतिकरण दिनुपर्ने भएकाले मैले अफिसलाई जानकारी दिनुपर्छ भन्ने लागेन ।'

वैज्ञानिक जगतमा अनुसन्धानकर्ताहरुलाई 'इथिकल' विषय ठूलो हुन्छ । कसैको कृतिलाई उल्लेख गरेर राख्न पाइएपनि हुबहु वाक्य सार्न भने पाइँदैन ।

नास्टका प्राज्ञ एवं प्राध्यापक इमिरेटस डा. प्रमोदकुमार झाले यो विषयलाई नास्टले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले भने, 'एउटा वैज्ञानिक संस्थामा यस किसिमको कार्य हुनु भनेको मुलुककै प्रतिष्ठामाथि आँच आउनु सरह हो । नास्टले उचित कदम चालोस् ।'

वातावरण अध्येता डा. उत्तमबाबु श्रेष्ठले अन्यत्र प्रकाशित भएका कुराहरु आफ्नो नाममा राख्नु भनेको अनुसन्धानमा अनैतिक र अनुचित कार्य भएको बताए । स्थापित संस्थाबाट यस्तो काम हुनु भनेको नराम्रो भएको उनले बताए । 'यो घटनाले नेपालको समग्र रिसर्चको प्रणालीको कमजोर नैतिक धरातल र संमिश्रणको नतिजा हो,' उनले भने, 'पहिला पनि यस्ता घटनाहरु हुन्थे तर कारवाही हुँदैन थिए । त्यसैले नै यसलाई सहज रुपमा लिन थालियो ।' अगामी दिनहरुमा यस्ता समस्याको हल गर्नका लागि अनुसन्धान समिति बनाएर नियमन प्रणालीको विकास गर्नुपर्ने उनी बताउँछन् ।

अस्ट्रेलियास्थित मेक्वाइरी विश्विद्यालयमा विद्यावारिधि गरिरहेका अनुसन्धानकर्ता सन्देश नेउपाने यो विषयलाई गम्भीर रुपमा लिनुपर्ने बताउँछन् । 'देशकै सबैभन्दा ठूलो अनुसन्धान केन्द्रबाट यसरी अरुको अनुसन्धानात्मक लेखबाट हुबहु सारेर अनैतिक काम गरेको भनी कसैलाई पत्र मात्रै काटिनु भनेको पनि देशमा भइरहेको सबै अनुसन्धानको नैतिकतामा प्रश्न उठाउनु बराबर हो,' नेउपाने भन्छन्, 'यसले अग्रज अनुसन्धानकर्ताहरुलाई असर नपरे पनि देशभरीका स्नातक, स्नातकोत्तर, विद्यावारिधी र स्वतन्त्र रुपमा अनुसन्धान गर्नेहरुलाई निरुत्साहित गर्दछ ।यसले नेपाल जस्ता विकासोन्मुख देशका लागि अन्तर्राष्ट्रियस्तरमा हुने साथ र सहयोगमा समेत प्रभाव पार्छ ।'

२०७६ साल वैशाख ५ मा अमेरिकाको भर्जिनियास्थित नासाको मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याडबाट बिहान २ बजेर ३१ मिनेटमा नेपाली स्याट–१ सहित श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह एकसाथ प्रक्षेपण गरिएको थियो । नास्ट र जापानको क्युटेक विश्वविद्यालयको सहकार्यमा आभास मास्के र हरिराम श्रेष्ठले उक्त स्याटेलाइट निर्माण गरेका थिए ।

*रोशन पाण्डेको प्रष्टोक्ति

क्युटेकले गत डिसेम्बरमा नै पेपरबारे जानकारी पठाएपनि मलाई त्यसबारे कुनै आधिकारिक पत्र पठाइएन वा त्यो आउनेक्रममा छ । मलाई त्यसबारे एउटा सानो मेमो पठाएर पेपर सम्बन्धी के हो भनेर सोधियो । मैले त्यसबारे जवाफ फर्काउँदै पेपरमा कुनै समस्या हो भने हटाइदिन्छु भनेको थिएँ ।

नाष्ट र क्युटेकबीचको सहकार्य गरेर निर्माण गरिएको नेपाली स्याट-१ को तथ्यांक र जानकारी सम्बन्धमा मैले प्रयोग गर्न पाउँछु भनेर मैले लिएको हो । के-कुरा तथा तथ्यांकहरु लिन पाइने/नपाइने भन्ने बारेमा एमओयूमा उल्लेख थिएन त्यही भएर मैले प्रयोग गरेँ । तर, क्युटेकका प्रोफेसरले पठाएको पत्रबारे मलाई कुनै जानकारी दिइन । प्रोफेसरसँग मेरो समन्वय पनि हुन पाएन । सामान्य मेमोमा सोधिएको कुराबारे मैले नाष्टलाई मेरो तर्फबाट डिसेम्बरमा नै मेरो पत्र लेखेर पठाएको थिएँ ।

नाष्टसँगको सहकार्यमा भएको काम भएकाले दुवै संस्थाबीचको समझदारीमा मैले पेपर तयार पारेँ । कुनै समस्या वा कुनै प्राविधिक गडबडी भए कन्फरेन्समा भएको पेपर मैले नै हटाउन भनेर मेल गरेँ । र फेब्रअरी १६ तारिखमा मलाई पेपेर हटाइएको भन्ने जानकारी आयो । उक्त पेपर अहिले आईएफले हटाएको पनि छ ।

तर यो बीचमा के-के भयो त्यो मलाई कुनै थाहा भएन । मलाई आधिकारिक चिठ्ठीपत्रहरुबारे कुनै जानकारी दिइएन । एकाएक विभिन्न सञ्चारमाध्यमहरुमा चिठ्ठी बाहिरिएपछि मात्रै मलाई थाहा भयो । अहिलेसम्म पनि प्रोफेसरले जनवरी ५ र फेब्रुअरी १६ मा पठाएको पत्रबारे आधिकारिक रुपमा जानकारी दिइएको छैन ।

*यो समाचारका बारेमा नाष्टका प्राविधिक अधिकृत पाण्डेको प्रष्टोक्ति फागुन २० गते अपडेट गरिएको छ । -सम्पादक

प्रकाशित : फाल्गुन १३, २०७७ १५:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×