३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

युवा वैज्ञानिकहरू वर्तमान अनुसन्धानको वातावरण र पूर्वाधारप्रति असन्तुष्ट

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपालका युवा वैज्ञानिकहरू देशमा अनुसन्धानको वातावरण र पूर्वाधार नभएकाे भन्दै असन्तुष्ट देखिएका छन् । राष्ट्रिय युवा वैज्ञानिक एकेडेमी नेपाल (नयन) ले नेपाली युवा वैज्ञानिक तथा अध्येताहरूमाझ गरेको राष्ट्रिय स्तरको अनलाइन सर्वेक्षणले यस्तो औंल्याएको हो ।  

युवा वैज्ञानिकहरू वर्तमान अनुसन्धानको वातावरण र पूर्वाधारप्रति असन्तुष्ट

सर्वेक्षणका सहभागीमध्ये ५४ प्रतिशतले अनुसन्धानका पूर्वाधारहरू जस्तै– प्रयोगशाला, उपकरण, सन्दर्भ सामग्रीहरूको पहुँच, ५२ प्रतिशतले संस्थाको व्यवस्थापन प्रणाली र पदीय उचनीच र ४८ प्रतिशतले रोजगारीसम्बन्धी सुविधाहरूको विषयमा असन्तुष्टि जनाएका थिए । ४५ प्रतिशतले आफूले रोजगारीको विकल्प खोज्न थालेको बताएका थिए ।

यद्यपि सर्वेक्षणका सहभागीहरूमध्ये ७२ प्रतिशतले प्राज्ञिक स्वतन्त्रता पाएको, ७५ प्रतिशतले काम गर्ने समय लचिलो भएको, ५४ प्रतिशतले रोजगारीको सुरक्षा रहेको भन्दै सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

युवा वैज्ञानिकका लागि विद्यमान अनुसन्धान सहायताको वातावरण अपुग र अपर्याप्त रहेको पनि पाइएको छ । सर्वेक्षणमा सहभागीमध्ये धेरैजसोले आफूले काम गरेका संस्थाहरूबाट अनुसन्धान सहायता पाउने गरेको बताए पनि ६३ प्रतिशतले अपर्याप्त रहेको बताएका थिए । सर्वेक्षणका अनुसार नेपाली युवा वैज्ञानिकहरूले तीन वर्षमा औसत ३.५ वटा अनुसन्धान सहायताका निवेदन दिने गरेका छन् ।

नेपाली युवा वैज्ञानिकहरूको अनुसन्धान सहकार्यमा आधारित भए पनि अन्तर विधागत र अन्तरदेशीय सहकार्यको अवस्था न्यून रहेको सर्वेक्षणले देखाएको छ । उनीहरूले तीन वर्षमा औसत ६ वटा जर्नलमा लेख लेख्ने, ५ पटक विज्ञान सम्मेलनमा भाग लिने र ३ वटा लेख पत्रपत्रिकामा छपाउने र एउटा पुस्तकको च्याप्टर लेख्ने गरेको पाइएको छ ।

५३ प्रतिशतले आफूले काम गरेका संस्थाहरूकै अन्य अनुसन्धानकर्तासँग सहकार्य गरेको बताए भने ३७ प्रतिशतले नेपालभित्रका आफूले काम गर्नेबाहेकका संस्थाहरूसँग वैज्ञानिक सहकार्य गरेको बताए ।

नेपाली वैज्ञानिकहरूले युरोप, अमेरिका, अस्ट्रेलियाका वैज्ञानिकहरूसँग बढी सहकार्य गर्ने गरेको पनि पाइएको छ । उनीहरुले विदेशी सहकार्यमा भने एसिया महादेशका वैज्ञानिकहरूभन्दा पनि एसिया भन्दा बाहिरका मुलुकहरुका वैज्ञानिकहरुसँग सहकार्य गर्ने गरेको सर्वेक्षणमा बताएका थिए ।

उनीहरुले कमजोर अनुसन्धान पूर्वाधार र अनुसन्धान कोषजस्ता समस्या प्रबल रहेको बताएका छन् । ३२ प्रतिशतले अनुसन्धान कोषको अभाव, ३० प्रतिशतले अनुसन्धान सहायताको निवेदनका लागि चाहिने सहयोग, २९ प्रतिशतले अनुसन्धान पूर्वाधारहरूलाई आफ्नो वैज्ञानिक करिअरको प्रमुख बाधक तत्त्वको रूपमा पहिचान गरेका थिए ।

गत भदौदेखि मंसिरसम्म अनलाइनमा गरिएको उक्त सर्वेक्षणमा देशभरिका २४४ जना सहभागीले भाग लिएका थिए । सहभागीमध्ये स्नातकोत्तर तहका र विद्यावारिधि गरेका ८७ प्रतिशत थिए भने प्राकृतिक विज्ञान र व्यवहारिक विज्ञान, इन्जिनियरिङ र चिकित्सा शास्त्र पढेकाहरू ८८ प्रतिशत थिए ।

युवा वैज्ञानिकहरूलाई विज्ञान क्षेत्रमा राखिराख्ने वातावरण तयार पार्न वर्तमानमा उनीहरूले भोगेका चुनौती, देखेका अवसरहरू, उनीहरूको रोजगारी र अनुसन्धानका बहुआयामका बारेमा बुझ्‍न पनि यो सर्वेक्षणले सहयोग गर्ने नयनका कार्यसमिति सदस्य उत्तमबाबु श्रेष्ठले बताए ।

नेपाली युवा वैज्ञानिकहरूले सन् २०२० मा नयन गठन गरेका थिए । संस्थाले नेपाली युवा अध्येताहरूको आवाजलाई उठाउने र ज्ञान विज्ञान तथा अनुसन्धान सम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दाहरुमा विश्वका युवा वैज्ञानिकहरूसँग सहकार्य गर्ने लक्ष्य बोकेको अध्यक्ष वसन्त गिरीले बताए ।

प्रकाशित : फाल्गुन २०, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?