कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सूर्य नेपाल प्रिमियर गल्फ सुरु : पहिलो दिन दिनेशको अग्रता 

काठमाडौँ — गोकर्ण गल्फ क्लबमा मंगलबार सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरु भएको छ । यस प्रतियोगिताले सिजनको ‘नम्बर वान गल्फर’ को तय गर्नेछ । प्रो भुवन नगरकोटीले नम्बर वानको ताज जोगाउन यस प्रतियोगिता जित्नुपर्नेछ । सूर्य नेपाल गल्फ टुर सिजन २०२३/२४ को यो अन्तिम प्रतियोगिता हो । 

सूर्य नेपाल प्रिमियर गल्फ सुरु : पहिलो दिन दिनेशको अग्रता 

यस प्रतियोगिता जित्नेले सिजनकै सर्वाधिक ठूलो पुरस्कार राशि हात पार्नेछ । कुल १५ लाख ७५ हजार पुरस्कार रहेको प्रतियोगितामा च्याम्पियन हुनेले २ लाख ७५ हजार रुपैयाँ जित्ने आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले बताए ।

७२ होलमा हुने प्रिमियर गल्फ च्याम्पियनसिपमा काठमाडौं, धरान र पोखराका गरी ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो दिन दिनेश प्रजापति ७ अन्डर ६५ को सानदार स्कोरसहित शीर्षस्थानमा छन् । उनले तोरणविक्रम शाही र एमेच्योर सुमन परियारलाई एक स्ट्रोकले पछि पारेका छन् । दुवैले ६ अन्डर ६६ को स्कोरमा संयुक्त दोस्रो स्थान बाँडे ।

डिफेन्डिङ च्याम्पियन सुवास तामाङ, भुवन नगरकोटी र एमेच्योर सद्भाव आचार्य ४ अन्डर ६८ सहित संयुक्त चौथो स्थानमा रहे । ३ अन्डर ६९ को स्कोरमा एमेच्योर विजय श्रेष्ठ सातौं र अर्का एमेच्योर वाङ्चेन ढोन्डुप २ अन्डर ७० सहित आठौं स्थानमा छन् । १ अन्डर ७१ स्कोर गरेका रवि खड्का, नीरज तामाङ, धनबहादुर थापा र सञ्जय लामा र एमेच्योर तेन्जिङ पाल्देनले संयुक्त रूपमा नवौं स्थान बाँडे ।

दुई दिन (३६ होल) को खेलपछि कट लागू हुनेछ । त्यसमा पर्ने शीर्ष २१ खेलाडीले थप ३६ होल खेल्नेछन् । प्रतियोगितामा दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले १ लाख २२ हजार, तेस्रोले १ लाख २ हजार र पाँचौं हुनेले ८८ हजार रुपैयाँ जित्नेछन् । शीर्ष २१ खेलाडी नै पुरस्कारका हकदार बन्नेछन् । यस सिजन सर्वाधिक ‘प्राइज मनी’ का आधारमा भुवन अगाडि छन् । उनले ५ लाख ६६ हजार ८ सय ७५ रुपैयाँ हात पारेका छन् । यो प्रतियोगिता जिते उनले नम्बर वानको ताज कायमै राख्ने महासचिव आचार्य बताउँछन् ।

वेस्टर्न ओपन विजेता भुवनलाई नीरज तामाङले चुनौती दिनेछन् । नीरजले ४ लाख ४८ हजार कमाएका छन् । काठमाडौं ओपन जितेका उनी भुवनभन्दा १ लाख १८ हजार ८ सय ७५ रुपैयाँले पछाडि छन् ।

प्रो दिनेश प्रजापति तेस्रो स्थानमा छन् । ४ लाख १५ हजार ६ सय ६७ कमाएका दिनेशले सात प्रतियोगिता खेल्दा महत्त्वपूर्ण सफलता भने एनपीजीए म्याच–प्लेमा पाएका थिए ।

सूर्य नेपाल च्यालेन्ज जितेका रवि खडका चौथोमा छन् । उनले ३ लाख ७२ हजार कमाएका छन् भने सञ्जय लामा पाँचौंमा रहे । उनले २ लाख ६० हजार ६ सय २५ रुपैयाँ पुरस्कार हात पारेका छन् ।

यी मनी लिडरका रूपमा रहेका प्रोहरूले यस टुरका पाँच प्रतियोगिता खेलेका साबिक विजेता पनि रहेका सुवास तामाङको सामना गर्नेछन् । भारतमा प्रोफेसनल गल्फ खेलिरहेका सुवास अहिले नेपाल आएका छन् । उनले पनि यो प्रतियोगिता खेल्नेछन् । त्यस्तै सूर्य नेपाल सेन्ट्रल ओपन र एनपीजीए टुर च्याम्पियनसिप जितेर सनसनी मच्चाएका सद्भाव आचार्य पनि कडा प्रतिस्पर्धीमा रहनेछन् ।

चोटका कारण शुक्रबहादुर तामाङको भने सहभागिता रहने छैन । एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले सिजनको अन्तिम प्रतियोगिता र सर्वाधिक पुरस्कार राशि रहेकाले सबै गल्फरको ध्यान केन्द्रित रहने बताए । उनले सूर्य नेपाल प्रालिले नेपाली गल्फ विकासमा लामो समयदेखि सहकार्य गर्दै आएको र अर्को सिजन थप रोमाञ्चक बन्ने आशा व्यक्त गरे । शनिबार भने प्रिमियर च्याम्पियनसिपकै प्रो एम हुनेछ । त्यसमा २५ व्यावसायिक र एक सय भन्दा बढी एमेच्योर गल्फरले भाग लिने एनपीजीएले जनाएको छ ।

प्रकाशित : असार ५, २०८१ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×