कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘थकित’ नेपाली टोली र हराइरहेका व्यवस्थापक

क्यानडासँगको खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक, कप्तान, खेलाडी तथा अफिसियल कोही उपस्थित थिएनन्
विनोद पाण्डे

डालास, अमेरिका — नेपाल र क्यानडाबीच आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको पहिलो दिनको अभ्यास खेल निकै अस्तव्यस्त रह्यो । खेल ‘क्लोज डोर’ खेलाइएपछि ठूलो संख्यामा आएका नेपाली दर्शक अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालाको मुख्य प्रवेशद्वारअगाडि रोकिन पुगे । उनीहरूलाई रंगशालाभित्र प्रवेश गर्नै दिइएन ।

‘थकित’ नेपाली टोली र हराइरहेका व्यवस्थापक

नेपाली दर्शकले अनेकन् अनुरोध गर्दा पनि सुरक्षाकर्मीले उनीहरूलाई रंगशालाभित्र जान दिएनन् । विश्वकपको पहिलो दिनको अभ्यास खेलका बारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जानकारी नगराउँदा बिनाटिकट सोमबार उक्त अभ्यास खेल हेर्न पुगेका दर्शक रंगशालाभित्र जान नपाएका हुन् । तीन घण्टा टाढाबाट आएका दर्शकसमेत खेल हेर्न नपाउँदा निराश बनेका थिए ।

मैदानभित्र पनि धेरै अन्योल थियो । अमेरिकामा क्रिकेट लोकप्रिय बनाउने भनेर आईसीसीले विश्वकप आयोजना गरेको हो । तर विश्वकपको अभ्यास खेल भए पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थिएन । एक्रिडिएसन लिएका मिडियाकर्मीलाई रंगशालाभित्र प्रवेश दिइए पनि फोटो पत्रकारलाई फोटो खिच्न बन्देज लगाइएको थियो ।

उस्तै नेपाली टोलीको व्यवस्थापन

खेलपछि पोस्ट म्याच प्रेस कन्फ्रेन्समा प्रशिक्षक, कप्तान अथवा कुनै खेलाडी वा अफिसियल प्रस्तुत हुने प्रावधान छ । यही आशामा खेलपछि रंगशाला कम्पाउन्ड बाहिर निस्किएका नेपाली सञ्चारकर्मी नेपालका प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहित पौडेलसँग प्रतिक्रियाका लागि पर्खिरहेका थिए । त्यसका लागि नेपाली टोलीका व्यवस्थापक प्रदीप मजगैंयालाई जानकारी गराइएको थियो ।

व्यवस्थापक मजगैंया यसबारेमा प्रशिक्षक र कप्तानसँग बुझेर आउने भन्दै रंगशालाभित्र गए । केही समयपछि आएका उनले ‘थाकेको’ हुनाले प्रशिक्षक र कप्तान आउन नसक्ने बताए । नेपाली मिडिया टोलीको अनेकन् अनुरोधपछि अरु खेलाडी भए आफूले बोलाउन सकिने भनेर व्यवस्थापकले नयाँ प्रस्ताव राखे । कुशल भूर्तेल वा अन्य जो कोही भए पनि हुने बताएपछि मजगैंया पुनः रंगशालाभित्र गए । तर, एकछिनपछि उनले भित्रैबाट म्यासेज पठाए– खेलाडीहरूले ‘नाई’ भने भनेर ।

क्यानडाका प्रशिक्षक पुबुदु दासानायके केही समयपछि नेपाली मिडिया टोलीको अनुरोधमा रंगशालाबाहिर आए । नेपाली टोलीसँग संवाद गर्नुअघि उनले आफ्नो मिडिया म्यानेजरलाई यसबारे जानकारी गराउन भुलेको जनाउँदै उनलाई फोन लगाए । तुरुन्तै क्यानडाका मिडिया म्यानेजर विवेक ज्याकोब पुबुदुसामु आइपुगे । ज्याकोबले क्यानडाका प्रशिक्षकसँग कस्तो विषयमा संवाद गर्न लागेको भनेर नेपाली मिडिया टोलीसामु जिज्ञासा राखे ।

सम्भवतः बजारमा आएको पुबुदुको राजीनामाका विषयमा विश्वकपजस्तो प्रतियोगिताको मुखमा आफ्ना प्रशिक्षकले यस्तो प्रश्नको सामना गर्नु नपरोस् भन्ने आशय ज्याकोबको देखिन्थ्यो । क्यानडाको टोली वेस्ट इन्डिजको सेन्ट किट्समा प्रशिक्षण गरिरहेको विषयमा पुबुदु बर्खास्तमा परेको केही सञ्चारमाध्यममा समाचार आएको थियो, जुन पुष्टि हुन सकेको थिएन र पुबुदु क्यानडाको टोली लिएर डालास आएका थिए ।

नेपाली मिडिया टोलीले क्यानडाका मिडिया म्यानेजर ज्याकोबलाई नेपाल र क्यानडाबीचको खेल, पुबुदुको नेपालसँगको सम्बन्ध र विश्वकपमा क्यानडाको सम्भावनाका बारेमा संवाद हुने जानकारी गराएपछि उनले पुबुदुलाई बोल्न अनुमति दिएका थिए । नेपालसँगको खेलका क्रममा क्यानडाका चार खेलाडी घाइते हुन पुगेका थिए, त्यसमध्येका केही खेलाडीलाई स्ट्रेचरमा राखेर मैदानबाहिर ल्याइएको थियो ।

यस्तो अवस्थामा क्यानडाका प्रशिक्षक र मिडिया म्यानेजर नेपाली मिडिया टोलीसामु प्रस्तुत भएका थिए । यही क्रममा ‘थकित’ नेपाली टोली बस चढेर होटल लाग्दा पुबुदुसँग नेपाली मिडिया टोलीको संवाद झन्डै ५ मिनेट चलेको थियो । उनी सोमबारको अभ्यास खेलमा क्यानडाको नेपालमाथिको विजय, नेपाली टोलीको विश्वकप यात्रालाई लिएर निकै खुसी र उत्साहित थिए ।

क्यान अध्यक्ष नै नेपाली टोलीमा

ट्वान्टी–२० विश्वकपका लागि २५ सदस्यीय टोली हुनुपर्ने प्रावधान छ, जसमा १५ खेलाडी अनिवार्य हुनुपर्छ । आईसीसीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बुझाएको २५ सदस्यीय टोलीमा क्यान अध्यक्ष चतुरबहादुर चन्द पनि रहेका छन् । कान्तिपुरलाई प्राप्त २५ सदस्यीय टोलीमा चन्द क्यान अध्यक्षको हैसियतमा टोलीमा समावेश भएका हुन् ।

जबकि, टोलीमा क्यानकै सदस्य प्रदीप मजगैंया व्यवस्थापक र दिवाकर घले गुरुङ टिम लिडरका रुपमा रहेको अवस्थामा क्यान अध्यक्ष चन्द बिना जिम्मेवारी नेपाली टोलीमा परेका छन् । अध्यक्ष र महासचिव/सचिव आईसीसी, एसीसीको वार्षिक बैठकमा भाग लिन जाने र त्यसबाहेक क्यानका अन्य पदाधिकारी र सदस्य टिमसँग व्यवस्थापकको हैसियतमा जाने परम्परा रहँदै आएको थियो ।

नेपाली टिमभित्र रहेर प्रतियोगितामा जाने चन्द क्यानका पहिलो अध्यक्ष हुन् । २००८ मा विश्व क्रिकेट लिग डिभिजन ५ खेल्न नेपाली टोली जर्सी जाँदा व्यवस्थापकका रुपमा गएका तत्कालीन महासचिव टंक पनेरु विवादमा परेका थिए । यसपटक अध्यक्ष चन्द आफैंले अमेरिका भ्रमण गर्ने निर्णय गरेका हुन् ।

नेपाली टोलीमा रहेका अन्य ७ अफिसियलमा प्रशिक्षकमा मुरगाङ जग्दीश (मोन्टी देसाई), बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडेरिक ओर्भिल इस्टविक, रमन सिवाकोटी (एनालिस्ट), विक्रम न्यौपाने (फिजियो), अब्दुल सतार (ट्रेनर), वसन्त शाही (सहायक प्रशिक्षक), नन्दन हनमन्त फाडनिस (कन्सलटेन्ट प्रशिक्षक) छन् ।

जबकि, ट्वान्टी–२० विश्वकप खेल्न आएको नेपाली टोली अझै मिडिया म्यानेजरविहीन छ । क्यानडासँगको खेलमा नेपाली टोलीका व्यवस्थापक प्रदीप मजगैंया आफैं मिडिया म्यानेजरको भूमिकामा दौडिरहेका थिए । आईसीसीले संवादका लागि आवश्यक परेमा विभिन्न देशका मिडिया म्यानेजरलाई सम्पर्क गर्नु भनेर मिडिया नोट पठाए पनि क्यानले अझै मिडिया म्यानेजर उपलब्ध गराउन सकेको छैन ।

यस बाहेक टिम डक्टर, टिम सेक्युरिटी म्यानेजरलाई २५ सदस्यीय टोलीमा राख्न सकिन्छ । तर चन्द आफैं विश्वकप टोलीको सूचीमा रहने निर्णय क्यानले आईसीसीलाई पठाएपछि १० वर्षपछि विश्वकप खेल्न आएको नेपाली टोली अझै व्यवस्थित बनेको देखिँदैन ।

प्रकाशित : जेष्ठ १६, २०८१ ०६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×