कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भुवनलाई रेकर्ड स्कोरसहित उपाधि

रवि खड्का र एमेच्योर सदभाव आचार्यलाई १२ स्ट्रोकले पछाडि पार्दै भुवनले जिते सूर्य नेपाल वेस्टर्न ओपन 

पोखरा — प्रोगल्फर भुवन नगरकोटीले शुक्रबार रेकर्ड स्कोरसहित सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । ५४ होलको प्रतियोगिता १० अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो । 

भुवनलाई रेकर्ड स्कोरसहित उपाधि

पूर्व नम्बर एक प्रो भुवनले सन् २०१७ मा शिवराम श्रेष्ठले बनाएको ९ अन्डरको रेकर्ड तोडेका हुन् । प्रतियोगितामा भुवनको यो दोस्रो रेकर्ड हो । उनले ७ अन्डर ६२ को कोर्स रेकर्ड बनाए ।

पोखरास्थित पार ६९ को हिमालयन गल्फ कोर्समा अन्तिम दिन आज इभन–पार ६९ को स्कोर निकाल्दा भुवनले समग्रमा १० अन्डर १ सय ९७ को स्कोरमा करियरको एघारौं उपाधि जिते । भुवनले रवि खड्का र एमेच्योर सदभाव आचार्यलाई १२ स्ट्रोकले पछाडि पारे । उपाधिसँगै भुवनले १ लाख ४० हजार पुरस्कार पाए । सन् २०२२ को सूर्य नेपाल काठमाडौं ओपन जितेपछि उनले जितेको यो पहिलो उपाधि हो ।

रवि र एमेच्योर सदभावले समग्रमा २ ओभर २ सय ९ को स्कोरमा दोस्रो स्थान बाँडे । रवि र सदभाव दुवैले शुक्रबार १ ओभर ७० मा खेल टुंग्याए । रविले ९६ हजार प्राप्त गरे । एमेच्योरतर्फ सदभावले ट्रफी जिते । उनले प्रज्वल गुरूङलाई १३ स्ट्रोकले हराएर उपाधि जितेका हुन् । दोस्रो भएका प्रज्वलले १५ ओभर २ सय २२ स्कोर गरे ।

धरानका प्रो नीरज तामाङले इभन–पार ६९ मा खेल सक्दा समग्रमा ४ ओभर २ सय ११ को स्कोरसहित तेस्रो स्थान पाए । उनले ७२ हजार पाए । भेट्रान प्रो दीपक मगरले समग्रमा ६ ओभर २ सय ११ सहित चौथो भए । उनले इभन–पार ६९ मा खेल सके । चौथो भएका उनले ५९ हजार पाए । समग्रमा १० ओभर २ सय १७ बनाएका प्रदीपकुमार लामा पाँचौ भए । उनले ४ ओभर ७३ मा खेल सके । उनी ५० हजार पुरस्कारको हकदार बने ।

बलभद्र राई, भूबहादुर गुरुङ र सञ्जय लामाले समग्रमा ११ ओभर २ सय १८ को नतिजामा छैटौं स्थान बाँडे । उनीहरूले जनही ३९ हजार पुरस्कार प्राप्त गरे । अन्तिम दिन बलभद्रले ४ ओभर ७३, भूबहादुरले ३ ओभर ७२ र सन्जयले १ ओभर ७० मा खेल सके । दलबहादुर लामा र दिनेश प्रजापतिले १३ ओभर २ सय २० को स्कोरमा संयुक्त नवौं स्थान बाँड्दा जनही ३२ हजार हात पारे । दलले ६ ओभर ७५ र नीरजले ३ ओभर ७२ मा अन्तिम दिनको खेल टुंग्याए ।

११ स्ट्रोकको अग्रतासहित अन्तिम १८ होलको सुरु गरेका भुवनलाई अरू गल्फरले चुनौती दिन सकेनन् । उनले फ्रन्टनाइन इभन–पार ३४ मा सके । पहिलो र पाँचौं होलमा बर्डी तथा चौथो र सातौं होलमा बोगी प्रहार गरे । उनले ब्याकनाइन पनि इभन–पार ३५ मा सके । यो क्रममा उनले १४ र १८ औं होलमा एक–एक शट खेर फाल्दा १५ र १६ औं होलमा बर्डी प्रहार गरे ।

रविले फ्रन्टनाइनमा राम्रो प्रदर्शन गर्न सकेनन् । ३ ओभर ३७ मा फ्रन्टनाइन सक्दा उनले पहिलो र आठौं होलमा बोगी र सातौं होलमा डबल बोगीको सामना गरे । तेस्रो होलमा एक शट बचाए । ब्याकनाइनमा सम्हालिँदै १५ र १८ औं होलमा दुई बर्डी प्रहार गरे । ब्याक नाइन २ अन्डर ३३ मा पूरा गरे ।

संयुक्त दोस्रो भएका एमेच्योर विजेता सदभावले फ्रन्टनाइन इभन पार ३४ मा पूरा गरेका थिए । नीरजले फ्रन्टनाइन १ ओभर ३५ र ब्याकनाइन १ अन्डर ३४ मा सके ।

काठमाडौंबाहिर हुने सूर्य ओपनको दुई प्रतियोगितामध्ये एक वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवराम गुरुङले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ । प्रतियोगितामा ७६ एमेच्योर र १९ प्रोफेसनल गल्फरले भाग लिनेछन् ।

प्रकाशित : फाल्गुन १२, २०८० ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×