२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

क्यानडासँग ‘क्लिन स्विप’

काठमाडौँ — क्यानडाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जसरी नेपालले सोमबार आफ्नो नाममा लेखायो, त्यसरी नै ब्याटरद्वय अनिल शाह र भीम सार्कीले आफूअनुकूल कथा बुने । उनीहरूको शतकीय इनिङ्ससहित सानदार ब्याटिङमा नेपालले तेस्रो खेल ९ विकेटले जित्दै शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको हो ।

क्यानडासँग ‘क्लिन स्विप’

बिहीबार सुरु हुने विश्वकप लिग २ को तयारीका क्रममा खेलिएको शृंखलाको पहिलो दुई खेल जितेर नेपालले यसअघि नै अविजित अग्रता लिएको हो । अनिल र भीमले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सानदार शतक बनाएपछि नेपालले शृंखलाका सबै खेलमा विजय हात पारेको हो ।

अनिलले १ सय १२ र भीमले १ सय १ रनको अविजित इनिङ्स खेलेपछि नेपालले २ सय ३३ रनको लक्ष्य ४४.३ ओभरमा २ सय ३४ रन बनाएर पूरा गरेको थियो । अनिल र भीम दुवैको यो पहिलो शतक रह्यो । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो यस्तो खेल रह्यो त्यसमा पहिलो पटक एकै इनिङ्समा दुई खेलाडीले शतक बनाए । योसँगै एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको ८ शतक पूरा भएको छ । संयोगले सबै शतक फरक खेलाडीको नाममा छ ।


अनिल र भीमको कथा यतिमै सीमित हुँदैन । यी दुईले दोस्रो विकेटमा १ सय ८९ रनको अविजित साझेदारी गरे । नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा यो सबैभन्दा ठूलो साझेदारी पनि हो । कुशल भुर्तेल र आसिफ शेखले विश्वकप छनोट दौरान यसअघि पहिलो विकेटमा १ सय ७१ रनको साझेदारी गरेका थिए । उनीहरूले अक्टोबरमा जिम्बावेविरुद्ध हरारेमा उक्त साझेदारी बनाएका थिए ।

कुशल भुर्तेल १३ रन बनाई बोल्ड भएपछि अनिल र भीमको जोडीले खुलेर ब्याटिङ गरे । यसै शृंखलाबाट राष्ट्रिय टोलीमा पुनरामगन गरेका अनिलले शनिबार दोस्रो खेलमा १९ बलमै अर्धशतक बनाएका थिए । सोमबार पनि उनको आक्रामक शैली यथावत् थियो । अनिलले आफूले सामना गरेको पहिलो चार बलमै चौका प्रहार गरेका थिए । शतक बनाउनेक्रममा उनले पुनः लगातार दुई चौका प्रहार गरे । त्यसपछिको अर्को बलमा उनले चौका प्रहार गरे ।

नेपाललाई विजयनिम्ति ५ रन चाहिएको अवस्थामा अनिलले उदय भगवानको बलमा मिडविकेटमा छक्का प्रहार गरे । शतकीय इनिङ्समा अनिल र भीम एकअर्काका कारण यो सम्भव भएको भन्दै तारिफ गरिरहेका थिए । भीम ९७ रनमा गएर केही समय रोकिएको अवस्थामा अनिलले लगातार शट खेल्दै शतक पूरा गरेका थिए । थप ३ रन बनाउन १४ बल खेलेका भीमले शतक पूरा गरेपछि अनिलको जर्सी चुमेका थिए ।

विश्वकप छनोटमा अमेरिकाविरुद्ध बनाएको अविजित ७७ रन भीमको यसअघिको व्यक्तिगत उच्च स्कोर थियो । उनले १ सय २९ बल खेल्दै ११ चौका र १ छक्का तथा अनिलले १ सय २४ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरे ।


यसअघि नेपालले टस जितेपछि ब्याटिङ निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाई २ सय ३२ रन बनायो । नभनीत धालिवालको अर्धशतक र निखिल दत्तको प्रयासमा क्यानडाले सम्मानजनक स्कोर बनाएको थियो । धालिवाल ५० रन बनाई आउट भए । उनले ८२ बलमा ५ चौका प्रहार गरे । ४८ औं ओभरमा रनआउट दत्तले ६२ बलमा ४५ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका हेमन्त धामीले आरोन जोन्सनलाई ४ रनमा आउट गरेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । उनले ३ विकेट लिएर आफ्नो पहिलो खेललाई स्मरणीय बनाए । हेमन्तले ८ ओभरमा ४९ रन खर्चे ।

क्यानडाबाट कप्तान साद बिन जाफरले अविजित ३१ रन बनाए । उनले १५ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । श्रीमान्था विजयरत्ने २८ बलमा २ चौकासहित २२, निकोलस किर्तन ३, हर्ष ठाकर ५७ बलमा २ चौकासहित २९, श्रेयास मोभ्भा २९ बलमा १ चौकासहित २५, डिल्लोन हेलिगर ४ रन बनाई आउट भए ।


नेपालबाट हेमन्तबाहेक कुशल मल्लले २ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ३८ रन खर्चे । ललित राजवंशी र आकाश चन्दले १–१ विकेट लिए । प्रमुख ३ तीव्र गतिका बलर करण केसी, सोमपाल कामी र गुलशन झाविनै नेपालले यो खेल खेलेको थियो । लिग २ अगाडि करण र गुलशनलाई आराम दिइएको थियो भने सोमपालसहित आसिफलाई क्यानडासँगको अन्तिम खेलमा आराम दिइएको हो ।

नेपालले पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले जितेको थियो । नेपालले बिहीबार सुरु हुने विश्वकप लिग २ को तयारीका लागि क्यानडासँगको शृंखला खेलेको थियो । नेपालले लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग २–२ खेल खेल्नेछ । पहिलो खेल बिहीबार नामिबियासँग खेल्दै छ । दुई सातापछि दुबईमा यूएई र स्कटल्यान्डसँग लिग २ को शृंखला खेल्नेक्रममा क्यानडाले आउँदो १० दिन मूलपानीमा रहेर प्रशिक्षण गर्दै नेपाल ‘ए’ सँग तयारी खेल खेल्नेछ ।




प्रकाशित : फाल्गुन १, २०८० ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?