कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

'ग्रुप अफ डेथ’ को चुनौती

नेपालले ८ वर्षपछि यू–१९ विश्वकप क्रिकेटमा पुनरागमन गर्दै, बलियो समूहमा रहे पनि नेपालको दोस्रो चरण पुग्ने लक्ष्य 
विनोद पाण्डे

काठमाडौँ — न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान । यी राष्ट्र नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटको समूह चरणमा खेल्ने प्रतिद्वन्द्वी हुन् । त्यसमा पाकिस्तान दुई पटकको विजेता हो । स्वाभाविकै छ, दक्षिण अफ्रिकामा शुक्रबार सुरु युवा विश्वकपको समूह ‘डी’ मा रहेको नेपालका लागि यात्रा सजिलो हुने छैन ।

'ग्रुप अफ डेथ’ को चुनौती

नेपालले समूह चरणमै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण राष्ट्रहरूसँग खेल्ने छ । यू–१९ मा नेपालका लागि यी कुनै नौला प्रतिद्वन्द्वी होइनन् । समूह चरणमा खेल्ने टोलीसँग नेपाल परिचित छ । तर ‘ग्रुप अफ डेथ’ मानिएको समूहमा नेपाल जितविहीन हुने त होइन भन्ने पनि छ । किनभने समूहका अन्य तीन टोलीको स्तर नेपालभन्दा माथि छ ।

यसअघि यू–१९ विश्वकपका सात संस्करणमा प्रतिस्पर्धा गर्दा नेपाल एकपल्ट मात्र समूह चरणमा जितविहीन रहेको थियो । सन् २०१२ मा अस्ट्रेलियामा भएको यू–१९ विश्वकपको समूह चरणमा नेपाल आयोजक अस्ट्रेलियासहित इंग्ल्यान्ड र आयरल्यान्डसँग पराजित भएको थियो । अन्यथा यू–१९ विश्वकपमा नेपालको गर्विलो इतिहास छ । नेपाल ८ वर्षपछि पुनः विश्वकपमा फर्किंदै छ ।

न्युजिल्यान्डलाई नेपालले सन् २००६ को यू–१९ विश्वकपको प्लेट फाइनलमा १ विकेटले र २०१६ मा समूह चरणमा ३२ रनले पराजित गरेको थियो । २००२ को संस्करणमा नेपालले न्युजिल्यान्डमा पाकिस्तानमाथि ३० रनको सनसनीपूर्ण जित हात पारेको थियो । अफगानिस्तानलाई २०११ को यू–१९ ग्लोबल विश्वकप छनोटमा पराजित गरेयता नेपालले यो टोलीविरुद्ध अर्को जित हात पार्न सकेको छैन ।

नेपालले आइतबार इस्ट लन्डनमा न्युजिल्यान्डविरुद्ध खेलेर यू–१९ विश्वकपको यात्रा सुरु गर्नेछ । त्यसपछि बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानविरुद्ध खेल्ने छ । चुनौती रहे पनि तीनवटै टेस्ट खेल्ने राष्ट्रविरुद्ध खेल्न मानसिक रूपमा तयार भएको बताउँदै प्रशिक्षक जगत टमाटा नेपालको लक्ष्य दोस्रो चरणमा पुग्ने रहेको सुनाउँछन् ।

‘एक वर्षदेखि हामी यही टोलीका साथ खेलिरहेका छौं, खेलाडीले पनि दोस्रो चरणमा पुग्ने हिसाबले आफूलाई तयार गरेका छन्,’ टमाटाले दक्षिण अफ्रिका जानुअघि भनेका थिए, ‘न्युजिल्यान्डविरुद्धका खेल हामीलाई निकै महत्त्वपूर्ण छ । पहिलो खेलमै लय समाउने हो भने सजिलो हुन्छ । त्यसैले न्युजिल्यान्डसँगको खेल निर्णायक हुन्छ ।’

नेपाल गत वर्ष फागुनमा यूएईलाई फाइनलमा उसकै भूमिमा पराजित गरी यू–१९ एसिया छनोट जित्दै विश्वकप पुगेको हो । त्यसयता नेपालले यूएईलाई नै फाइनलमा पराजित गरी एसीसी यू–१९ प्रिमियर कप पनि जितेको थियो । अघिल्लो महिना यूएईमै भएको एसीसी यू–१९ एसिया कपमा भने नेपालले निराशाजनक प्रदर्शन गर्‍यो । नेपाली टोली पाकिस्तानसँग ७ विकेट, अफगानिस्तान ७३ रन र भारतसँग १० विकेटले पराजित भएको थियो । भारतसँग समूह चरणको अन्तिम खेलमा नेपाल ५२ रनमै अलआउट भएको थियो ।

नेपाल यू–१९ टोलीका कप्तान देव खनाललाई यू–१९ एसिया कपको अफगानिस्तानसँगको खेलले अझै घोचिरहन्छ । ‘अफगानिस्तानसँग यू–१९ एसिया कपको खेल हामीले जसरी पनि जित्नुपर्थ्यो । अर्जुन कुमालले ९१ रन बनाएर इनिङ्स जमाएका थिए, त्यो दिनमा बलरका लागि विकेटमा केही पनि थिएन, ब्याटमा बल सजिलै आइरहेको थियो,’ कप्तान देवले भने, ‘त्यस्तो खेल हार्दा पहिलो पटक मैदानमा मेरो आँखाबाट आँसु झरेको थियो । किनभने त्यो खेल नेपाललाई जिताउन आतुर थियौं । तर, उनीहरूलाई पनि हराउन सकिन्छ भन्ने चाहिँ भयो ।’

नेपाली टोलीका दुई महत्त्वपूर्ण खेलाडी देव र गुलशन झा विशेष गरी आफ्नो प्रदर्शनलाई लिएर निकै निराश थिए । त्यसपछि यस विषयमा उनीहरूले लामो समय गफ पनि गरे । आफूहरूसँग ठूलो जिम्मेवारी र भरोसा रहेको मनन गर्दै विश्वकपका लागि त्यहीअनुसार तयारी गरेको देव बताउँछन् । एसिया कपमा खेलिसकेका हुनाले पाकिस्तान र अफगानिस्तान कस्ता टोली हुन् भनेर केही हदसम्म बुझिसकेको र चुनौती के छन् भनेर थाहा पाएको देवले बताए ।

‘उनीहरूले यति धेरै क्रिकेट खेलेका छन्, त्यही भएर उनीहरू राम्रो छन् । तर समूह चरणबाट अगाडि बढ्न हामीलाई त्यस्तो गाह्रो चाहिँ छैन,’ उनी पनि समूह चरणबाट अगाडि बढ्ने सम्भावना देख्छन् । यसपालिदेखि यू–१९ विश्वकपको संरचनामा केही परिवर्तन गरिएको छ । यसअघि समूहका शीर्ष दुई टोली अघिल्लो चरणमा प्रवेश गर्थे भने पुछारका दुई टोली प्लेट च्याम्पियनसिपमा खेल्थे । अहिले समूहको शीर्ष तीन टोली दोस्रो चरणमा पुग्नेछ भने चौथो हुने टोलीले प्लेअफ खेल्नेछ ।

समूह चरणमा एउटै खेलमा विजय हात पारे पनि दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना रहन्छ । तर, नेपालले पहिलो पटक दक्षिण अफ्रिकामा गएर खेल्न लागेको हो । त्यहाँ खेलेको अनुभव नभए पनि दक्षिण अफ्रिकाको तीव्र गतिका बलरमैत्री विकेटलाई लिएर नेपाली टोली सचेत छ । त्यही भएर कन्डिसन बुझेर खेल्ने नेपालको लक्ष्य छ ।

दुई साताअघि दक्षिण अफ्रिका पुगेको नेपालले सुरुमा नामिबिया र स्कटल्यान्डसँग अभ्यास खेल खेलेको थियो । दुवै खेल नेपालले जितेको थियो । स्कटल्यान्डसँग विश्वकपको अर्को अभ्यास खेलमा पनि नेपालले जित हात पारेको थियो । वेस्ट इन्डिजसँगको अन्तिम अभ्यास खेल वर्षाले रद्द भएको थियो ।

दक्षिण अफ्रिका पुगेर अफगानिस्तानले दक्षिण अफ्रिका र भारतसँग यू–१९ को त्रिकोणात्मक शृंखला खेलेको थियो । अफगानिस्तानले यू–१९ विश्वकपको अभ्यास खेलमा दुई वर्षअघिको उपविजेता इंग्ल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । पाकिस्तानले वर्षाका कारण ४१ ओभरमा छोट्याइएको अभ्यास खेलमा दक्षिण अफ्रिकाविरुद्ध ८ विकेट गुमाई २ सय ११ रन बनाएको थियो । दक्षिण अफ्रिकाले नवौं ओभरमा २ विकेट गुमाई ३८ रन बनाएपछि वर्षाले थप खेल हुन दिएन ।

पाकिस्तान दोस्रो अभ्यास खेलमा इंग्ल्यान्डसँग डकवर्थ लुइस पद्धतिका आधारमा ९ रनले पराजित भएको थियो । इंग्ल्यान्डले ३४ ओभरको खेलमा ६ विकेट गुमाई १ सय ८३ रन बनाएपछि पाकिस्तान ३ बलअगाडि १ सय ७२ रनमा अलआउट भयो । न्युजिल्यान्ड पहिलो अभ्यास खेलमा १ सय ३१ रनमा अलआउट हुँदैं वेस्ट इन्डिजसँग ६ विकेटको पराजय भोगेको थियो । स्कटल्यान्डसँगको दोस्रो अभ्यास खेलमा भने न्युजिल्यान्डले ८ विकेट गुमाई ३ सय ६ रन बनाएर १ सय ३० रनको विजय हात पारेको थियो ।

प्रकाशित : माघ ६, २०८० ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×