कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : क्यासलको रणनीतिक हार

पोखरा — आफ्नै सहरमा जारी ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा पोखराको स्पोर्ट्स क्यासलले पहिलोपल्ट हार बेहोर्दा खेलाडी, अफिसियल, क्लब मालिक र समर्थकमा समेत कुनै अफसोच थिएन । यसअघि नै शीर्षस्थान निश्चित गरी प्लेअफ पुगिसकेको क्यासल यो खेलमा हारेको होइन, हारिदिएको हो ।

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : क्यासलको रणनीतिक हार

यसको अर्थ अनुचित लाभ लिने गरी दुई टोलीबीच ‘म्याचफिक्सिङ’ भयो भन्न खोजिएको होइन । स्पोर्ट्स क्यासलले यसरी किन खेल्यो भनेर बुझ्न प्रतियोगिताको अंकतालिका र समीकरणबारे जान्नैपर्छ ।

लिगका सुरुआती ८ खेलबाट २२ अंक जोडेको स्पोर्ट्स क्यासल अन्तिम खेलमा हारे पनि शीर्षस्थानमै रहने निश्चित थियो । १० टोलीसम्मिलित प्रतियोगिताको शीर्ष चार टोलीबीच प्लेअफमा क्वालिफायर र इलिमिनेटरबाट फाइनल पुग्ने टिमको टुंगो लगाइन्छ ।

९ खेलबाट धरानको द राइजिङ युवाको १९ अंक भएको छ । शंखमूल फुटसलको ८ खेलबाट १८ अंक छ । मंगलबार शंखमूलले पोखराकै अर्को टोली सविन मेमोरियलसँग हारेको अवस्थामा राइजिङ दोस्रो स्थानमा रहनेछ ।

क्यासलको कठिन चुनौती हो शंखमूल । शंखमूल फुटसल दोस्रो स्थानमा आएको अवस्थामा उसलाई पहिलो क्वालिफायरमै कठिन हुनसक्छ । पहिलो क्वालिफायर हारेको टोलीलाई फाइनल पुग्न तेस्रो र चौथो स्थानमा रहने टोलीको विजेतासँग खेल्नुपर्ने हुन्छ । यसबीच लगातार खेल हुनेछ । त्यसले खेलाडीको रिकोभरीलाई पनि समस्या हुने राष्ट्रिय फुटसल टोलीको समेत प्रशिक्षण सम्हालिइसकेका क्यासलका प्रशिक्षक विष्णु गुरुङले राम्ररी बुझेका छन् ।

सोमबारको खेलपछि प्रतियोगिताको प्लेअफमा पुग्ने तेस्रो टोलीको टुंगो लागेको हो । धरानको राइजिङ क्लब प्लेअफमा पुगेको छ । प्लेअफमा पुग्ने अर्को टोलीको टुंगो मंगलबारमात्र लाग्नेछ । जहाँ फुटसल फाइभ धरानले प्रभातफेरी क्लबलाई हराउनै पर्नेछ । त्यस खेलमा फुटसल फाइभले जित निकाल्न नसकेको स्थितिमा सविन मेमोरियलले शंखमूललाई हराएमा सविन नै प्लेअफमा पुग्नेछ ।

सोमबार पोखरा रंगशालास्थित कभर्डहलमा दिनको पहिलो खेलमा क्यासलका कोही खेलाडीमा पनि गम्भीरता थिएन । उनीहरू यत्तिकै समय व्यतित गरिरहेका थिए । घरेलु दर्शनको उपस्थिति पनि शून्यप्रायः थियो । उनीहरूमा हारको कुनै अफसोच थिएन । जित्न खेल्नुपर्छ भन्ने स्पोर्टिङ मानसिकता नै थिएन ।

क्यासलका खेलाडीहरू यसरी खेलिरहेका थिए कि लाग्थ्यो उनीहरूलाई निर्देशन दिइएको थियो– गोल गर्ने र रोक्ने प्रयास गर्ने होइन । तैपनि उनीहरू विपक्षी पोस्टसम्म बल लिएर पुग्थे तर अन्तिममा आक्रमण गर्दैनथे । त्यति हुँदा पनि खेलमा उनीहरूले ४ गोल गरे । राइजिङले त्योभन्दा २ गोल बढी गर्‍यो ।

खेलपछि क्यासलका सहायक प्रशिक्षक अर्बिन गुरुङको अनुहारमा कुनै असहजता थिएन । हारको अनुभव कस्तो हुँदोरहेछ त ? उनले हाँस्दै भने, ‘नमीठो । हार कसलाई पो राम्रो लाग्छ र ?’ अनि उनले बताए टिम हार्नुको कारण । ‘मैले आफूसँग भएका चोटग्रस्त खेलाडीलाई बचाउने प्रयास गरें । हामीले प्लेअफमा कठिन प्रतिस्पर्धीको सामना गर्नुपर्नेछ । मसँग भएका नयाँ खेलाडीलाई पर्याप्त समय दिएँ । उनीहरूले प्रयास गरेका थिए तर जितलाई पर्याप्त रहेन,’ गुरुङले भने ।

उनले पहिलो क्वालिफायरमा सहज टोलीको अपेक्षा गर्दै रणनीतिक प्रदर्शन गरेको भने स्वीकारे । यसको अर्थ उनीहरू हारेका होइनन् हारिदिएका हुन्, ताकि सजिलो टोलीसँग क्वालिफायर खेल्न पाइयोस् । ‘हार कहिल्यै पनि सजिलो हुँदैन । हारले निराश बनाउँछ । यो विश्वव्यापी नियम नै हो । हार स्विकार्न सक्नुपर्छ । यो हारलाई हामीले सकारात्मक पाठका रूपमा लिएका छौं,’ उनले थपे, ‘अर्को हिसाबमा हेर्दा हामीलाई शीर्ष दुईमा राइजिङ आयो भने सजिलो हुन्छ भन्ने थियो ।’

क्यासलमाथिको जितमा राइजिङका मिलन राईले दुई गोल गरे । रेवस मास्के, विसन श्रेष्ठ, बिकु तामाङ र सुदीप गुरुङले १–१ गोल गरे । क्यासलबाट सुमित श्रेष्ठ, सुरेन बुढामगर, किशोर गुरुङ र दिपेश घलेले १–१ गोल गरे ।

राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङले विपक्षी टोली सहज अवस्थामा रहँदा आफूहरूलाई त्यसले फाइदा पुगेको बताए । ‘स्पोर्ट्स क्यासल प्लेअफमा छनोट भइसकेका कारण आजको खेल हामीलाई सजिलो थियो,’ प्रशिक्षक गुरुङले भने, ‘उनीहरूलाई हारले समस्या हुँदैनथ्यो । उसले आफ्ना राम्रा खेलाडी जोगाउँदा हामीले त्यसको फाइदा उठायौं ।’

अर्को खेलमा मछिन्द्र स्काइ गोल्सले रूपन्देहीको लुम्बिनी फुटसललाई ५–४ गोलले हरायो । दुवै टोलीका लागि यो खेल अर्थहीन रह्यो । लुम्बिनी रेलिगेसनमा परिसकेको छ भने मिडटेबलमा रहेर लिग टुंग्याएको गोल्स प्लेअफमा नपुग्ने निश्चित भइसकेको छ ।

गोल्सका लागि मनोज राई, सविन केसी, शुभेत लामा र दीपसेन ठकुरीले गोल गरे भने लुम्बिनीका समिर मगरले आत्मघाती गोल गरेका थिए । लुम्बिनीका सुजन थापाले दुई गोल गरे । रुपेन बराइली र देवाशिष शर्माले १–१ गोल गरे ।

प्रकाशित : आश्विन १९, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?