फुटबलका ‘प्रेरणा स्रोत’ चन्द्रेश्वर

विनोद भण्डारी

विराटनगर — भारतसँग सीमा जोडिएको विराटनगरको मिल्स एरिया मुलुकको पहिलो औद्योगिक क्षेत्रको नामले चिनिन्छ । विसं १९९३ मा मुलुकको जेठो उद्योग विराटनगर जुट मिल स्थापना भएपछि यो ठाउँको नाम मिल्स एरियामा परिणत भएको थियो । अहिले यो स्थानमा एउटै उद्योग नभए पनि यसलाई मिल्स एरिया नै भनिन्छ ।

तर यतिले मात्र मिल्स एरियाको परिचय पुग्दैन । यसले दोस्रो उपनाम पनि कमाएको छ । कुनै समय यो ठाउँले मुलुकका लागि स्टार फुटबल खेलाडीहरू उत्पादन गरेको थियो । त्यसैले मिल्स एरियालाई फुटबलको उर्बरभूमि पनि भनिन्थ्यो । अहिले पनि मिल्स एरियामा नियमितझैं फुटबलका स्पर्धा हुँदै आएका छन् । खेलाडी उत्पादन पनि भइरहेका छन् । यहींका खेलाडीले मुलुकका विभागीय टिमहरूले पूर्णता पाउँदै आएको छ । यो क्रममा मिल्स एरियालाई दोस्रो उपनाम दिन एक व्यक्तिको पनि उत्तिकै योगदान रहेको पाइएको छ ।

उनी हुन् ५३ वर्षे चन्द्रेश्वर राम (मोची) । फुटबल भने पछि हुरुक्कै हुने रामलाई मिल्स एरियाबाट उत्पादन भएका हरेक स्टार खेलाडीले बिर्सिन सक्दैनन् । मिल्स एरियाका पुनम थापा, राजेश थापा, ललित थापा, अनन्त थापा, कुमार महर्जन, किशोर शाही, किशोर सुब्बा र श्यामल सुब्बालगायत दर्जन बढी खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका गरिसकेका छन् । ती सबै खेलाडीको फुटबल बुट चन्द्रेश्वरले नै सिउँथे ।

मिल्स फुटबल क्लबका अध्यक्ष किशोर सुब्बाका अनुसार मिल्स मैदानमा जति पनि खेलाडीले फुटबल खेले र अहिले पनि खैल्दैछन् । उनीहरू सबैको बुट उनैले सिउँदै आएका छन् । ‘खेल्दाखेल्दै बुट च्यातियो भने खेलाडी सिधै चन्द्रेश्वरकहाँ पुग्थे र अहिले पनि पुग्छन्,’ सुब्बाले भने, ‘बुट मर्मत गरेको ज्याला उनी लिन मान्दैन थिए तर केही खेलाडीले जबरजस्ती आफूखुसी पैसा तिर्थे ।’ उनका अनुसार फुटबल खेलाडी आएपछि गरिरहेको कामै छाडेर बुट बनाइदिन थाल्छन् ।


‘फुटबलको बुट र बल च्यातिएपछि चन्द्रेश्वरको याद आउँथ्यो,’ पूर्वखेलाडी तथा नेपाल पुलिस फुटबल टिमका पूर्वप्रशिक्षक श्यामल सुब्बाले भने, ‘मिल्स एरियाको फुटबल विकासमा उनको ठूलो योगदान छ, ऊबेला अहिले जस्तो यत्रतत्र बुट पाइँदैन थियो ।’

उनका अनुसार त्यतिबेला उनको निभिया कम्पनीको बुट थियो । खेल्दाखेल्दै पटक पटक च्यातिन्थ्यो । नयाँ किन्न हतपत पाइँदैनथ्यो । पाइए पनि महँगो पर्थ्यो । त्यो बुट चन्द्रेश्वरले बारम्बार सिलाएर खेल्न लायक बनाइदिन्थे । सुब्बाले भने, ‘कैयौं पटक त पैसा लिनै मानेनन्, लिए पनि न्यूनतम मात्र लिन्थे, पैसा नहुँदा पनि केही भन्दैन थिए ।’ चन्द्रेश्वर मिल्स फुटबलका बिर्सन नमिल्ने नाम हुन् । ‘यहाँका पुराना स्टार खेलाडीले उनको नाम बिर्सिनै सक्तैनन्,’ सुब्बाले भने ।

चन्द्रेश्वरले १२ वर्षकै उमेरदेखि मोचीको काम थालेका हुन् । उनका पिता तारणी राम पनि मोची नै हुन् । उनी पिताबाटै काम सिकेर अगाडि बढेका हुन् । ‘फुटबल खेल्ने रहर थियो, घरको आर्थिक अवस्थाले साथ दिएन,’ चन्द्रेश्वरले भने, ‘खेल्न नपाए पनि च्यातिएको बुट सिलेर खेलाडीलाई सहयोग गर्दा आफैं मैदानमा उत्रिएर फुटबल खेलको अनुभव मिल्छ ।’

उनका अनुसार आफ्नो खेल्ने रहर पुरा हुन सकेन तर खेल्ने र खेलेकालाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । ‘फुटबल खेल्न बुट नभइ हुन्न, त्यही बुटमात्र सिलाउन पाउँदा पनि आनन्द लाग्छ,’ उनले भने, ‘हातले सियो र धागो उन्न सकेसम्म फुटबल बुट सिउँछु ।’ दशक पहिला उनको पसल विराटनगर जुट मिल गेट अगाडि थियो । मिल बन्द भएपछि पसल पनि अलिक माथि हडताली हाटमा सर्‍यो । उनकी पत्नी विजयदेवीले भनिन्, ‘मिलको गेटमा पसल हुँदा पश्चिमको खेल मैदानबाट दैनिक दुई/चार खेलाडी च्यातिएको बुट लिएर आउँथे । पसल सरेपछि पनि खेलाडी बुट बोकेर खोजी खोजी आउँछने ।’ उनले थपिन्, ‘फुटबल खेलाडी आएका बेला कसैको एक हजार रुपैयाँ ज्याला आउने काम गर्दैछन् भने त्यो काम पछि गर्ने भन्दै पहिला बुट सिलाएर खलाडीलाई मैदान पठाउँछन् ।’

मोचीको कामबाट दैनिक २ सयदेखि हजार रुपैयाँसम्म आम्दानी हुन्छ । त्यही कमाइले उनको ५ सदस्यीय परिवारको गुजारा चल्दै आएको छ । पत्नी विजयदेवीले भनिन्, ‘कहिलेकाहीँ पुराना खेलाडी आउँछन् र केही आर्थिक सहयोग पनि गरेर जान्छन् ।’

चन्द्रेश्वरले मिल्स एरियाको फुटबल विकासमा पुर्‍याएको योगदानकै कारण मिल्स गोल्डकप ट्रस्टले उनलाई हालै २५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो । ट्रस्टका अध्यक्ष किशोर शाहीले भने, ‘चन्द्रेश्वर मिल्स एरियाको फुटबलका प्रेरणा स्रोत हुन् ।’

प्रकाशित : जेष्ठ १७, २०७९ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्

मकवानपुर गोल्डकपमा दुई टोली थपिए

कान्तिपुर संवाददाता

मकवानपुर — यसै साताबाट हेटौंडामा सुरु हुने चौथो संस्करणको स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ मा भाग लिने टोलीको संख्या १२ पुगेको छ । यसअघि आयोजकले १० टोली सहभागी हुने जनाए पनि सोमबार पुनः पत्रकार सम्मेलनमा मनाङ मर्स्याङ्दी र चर्च ब्वाइज क्लब थपिएको जनाएको हो ।

प्रतियोगिता समापन मिति पनि दुई दिन सरेको छ । अब जेठ १९ देखि ३० सम्म प्रतियोगिता हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा जिल्लाका १० स्थानीय तहको सहयोगमा हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । एक विदेशी क्लबले पनि भाग लिनेछ । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ क्लब, फ्रेन्ड्स, खुमलटार युथ क्लब, नव जनजागृति सिमरा, वाग्मती युवा क्लब सर्लाही, विजय युथ क्लब हेटौंडा र चितवन–११ टिम प्रतिस्पर्धी हुनेछन् । विदेशी क्लबमा एभिनियर एफसी क्यामरुन रहेको छ । प्रकाशित खेल तालिकाअनुसार उद्घाटन खेलमा सर्लाही र सिमराबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक संघका अध्यक्ष टीकाराम लामाले विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ६ लाखबराबरको बुलेट बाइक पाउनेछन् । यसवर्ष प्रथम र द्वितीय पुरस्कारमा वृद्धि गरिएको संयोजक प्रताप विष्टले जानकारी दिए । अघिल्लो वर्ष विजेताले १० र उपविजेताले ५ लाख पाएका थिए । साबिक विजेता आर्मी हो । विवादका कारण प्रतियोगितामा राष्ट्रिय टोलीबाट निस्किएका ११ खेलाडी सहभागी हुने वा नहुने अन्योल नै रहेको आयोजकले जनाएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ ०६:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×