कान्तिपुर हाफ म्याराथनको पुरस्कार वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर हाफ म्याराथन ‘शान्ति र संविधानको समर्थन, अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रवर्द्धन’ नाराका साथ २०६७ सालमा सुरु भएको थियो । सामाजिक विषयवस्तुलाई नाराका रूपमा अगाडि बढाउँदै कान्तिपुर हाफ म्याराथन दसौं संस्करण आयोजनाको संघारमा आइपुगेको छ । यसपल्टको नारा बनाइएको छ ‘जलवायु परिवर्तन’ ।

अनिश्चित र अनपेक्षित जलवायु परिवर्तनको कारण विश्वमै मानिसहरूको जीवनशैलीमा ठूलो असर गरिरहेको छ । जीवजन्तु र वनस्पतिजगतमा पनि नराम्रो प्रभाव पारिरहेको छ । कान्तिपुर मिडिया ग्रुप (केएमजी) द्वारा आयोजित कान्तिपुर हाफ म्याराथनको नवौं संस्करण २०७६ साल जेठमा भएको थियो । कोभिड–१९ महामारीले प्रभावित भएपछि दुई वर्षपछि आएर दसौं संस्करण यही जेठ २१ गते शनिबार हुँदै छ । यो संस्करणका लागि ह्यासट्याग रनफरग्रिननेपाल र क्लाइमेटचेन्जक्राइसिस चलाइएको छ ।

तीन विधा (हाफ म्याराथन, कर्पोरेट र ह्विलचेयर) समावेश गरिएको म्याराथनमा सहभागी हुनेले विभिन्न वनस्पतिसँग लैजान पाउनेछन्, जसलाई आफ्नो घर वा कार्यालयमा सजाउन सकिने छ । हाफ म्याराथनमा देशकै नाम चलेका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । २१.१ किमिको यो स्पर्धामा महिला र पुरुषका विजेतालाई नवौं संस्करणमा नगद ५०–५० हजार रुपैयाँ दिइएको थियो । यसपालि नगद पुरस्कार वृद्धि गरी १–१ लाख बनाइएको छ । दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन् । हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीमात्रै सहभागी हुन पाउनेछन् ।

विभिन्न कर्पोरेट हाउसमा संलग्न व्यक्तिहरूका लागि ५ किमिको कर्पोरेट रेस राखिएको हो । यसमा विजेतालाई पोखरा र दोस्रो हुनेलाई नगरकोटमा बस्ने–घुम्ने प्याकेजको व्यवस्था गरिएको छ भने तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट हात पार्नेछन् ।

शारीरिक रूपमा फरक क्षमता भएकाहरूका लागि ह्विलचेयर दौड निकै रोचक हुने गर्छ । महिला र पुरुष दुवै विधामा हुने यो रेसमा पहिलो, दोस्रो र तेस्रो हुनेले ३० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन् । गत संस्करणमा तीनै स्पर्धामा गरी ३ हजार ५ सय जना सहभागी भएका थिए ।

एनआईसी एसिया बैंक मुख्य प्रायोजक रहेको कान्तिपुर हाफ म्याराथनमा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहेको छ । संघले यही हाफ म्याराथनको नतिजाका आधारमा तीन महिनाभित्र नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा निमन्त्रणा आएका देशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरी पठाउने पनि जनाएको छ । त्यसैले खेलाडीहरूका लागि कान्तिपुर हाफ म्याराथन महत्त्वपूर्ण बनेको छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्

गुजरात डेब्युमै च्याम्पियन

एएफपी

अहमदबाद — कप्तान हार्दिक पाण्ड्येले ‘डेब्यु सिजन’ मै आईपीएलको उपाधि जितेपछि आउने पुस्ताले गुजरात टाइटन्सबारेमा कुरा गर्ने बताएका छन् । उनको टिमले १ लाख ५ हजार घरेलु दर्शकसामु राजस्थान रोयल्सलाई पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

हार्दिकले ३–१७ को उत्कृष्ट बलिङ प्रदर्शन गर्दै राजस्थानलाई ९ विकेटको क्षतिमा १३० रनमै सीमित पारेका थिए । अहमदबादको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामा भएको फाइनल एकपक्षीय भयो । त्यसपछि उनले ब्याटिङ गर्दै ३४ रन पनि बनाए । उनीसँगै सवनम गिल (४५ रन) र डेविड मिलर (३२ रन) को सहयोगमा घरेलु टिमले १ लाख ३२ हजार दर्शक क्षमताको रंगशालामा १८.१ ओभरमै ७ विकेटको जित हासिल गर्यो । विश्वकै सबैभन्दा बनी घरेलु क्रिकेटमा प्रवेशलाई गुजरातले कथाजस्तै गरी पूर्णता दियो । आईपीएलमा यो वर्ष गुजरात र लखनउ सुपर जायन्ट्सलाई थपेर १० टिम पुर्‍याइएको थियो ।

‘यो उपाधि एउटा विशेष बन्नेछ किनभने हामीले एउटा बेग्लै पहिचान बनाएका छौं,’ पाँचौंपल्ट आईपीएल उपाधि जितेका हार्दिकले भने, ‘आउने पुस्ताले यसबारे गफ गर्नेछन् ।’ उनले यसअघि मुम्बई इन्डियन्सबाट चारपल्ट आईपीएल जितेका थिए ।

गत फेब्रुअरीमा अक्सन भएपछि धेरैले गुजरात टिमको आलोचना गरेको थियो । तर, टोलीले उपाधि जित्दै आलोचकलाई चुप लगाएको छ । प्लेअफमा पुग्ने पहिलो टिम भएको गुजरातले फाइनलमा एकतर्फी जित नै निकाल्यो । सन्जु सामसनको कप्तानीमा रहेको राजस्थानको पहिला ब्याटिङ गर्ने निर्णयमा मुख्य ब्याटर जोस बटलरलाई हार्दिकले ३९ रनमै आउट गरिदिए । दोस्रो क्वालिफायरमा १०६ रन जोडेका बटलरले प्रतियोगिताकै सर्वाधिक ८६३ रन बनाए । आईपीएलको एउटै सिजन चार शतक प्रहार गरेका विराट कोहलीको कीर्तिमान पनि बराबरी गरेका उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि चुनिए । अफगान स्पिनर रशिद खानले पनि पुनरागमनमा १८ रन दिएर एक विकेट लिँदै आफ्नो प्रभाव देखाए ।

प्रकाशित : जेष्ठ १७, २०७९ ०६:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×