२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : दुई धराने क्लबको सनसनी

राइजिङ युथ र फुटसल फाइभले पछाडि परेको अवस्था उल्टाउँदै खेल जितेका थिए

पोखरा — ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा मंगलबार दुवै धरानका टोलीले सानदार पुनरागमन जित रचेका छन् । राइजिङ युथ क्लबले काठमाडौंको ढुकु फुटसल हबलाई ५–३ र फुटसल फाइभले पोखरेली टोली सविन मेमोरियलमाथि ५–४ को जित दर्ता गरेका हुन् ।

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : दुई धराने क्लबको सनसनी

राइजिङले दोस्रो हाफको दुई मिनेटभित्र ४ गोल गरी ढुकुमाथि जित निकाल्यो । पहिलोमा अग्रता बनाएको ढुकुले दोस्रो हाफमा सोही लय कायम राख्न सकेन । ६ खेलबाट राइजिङको १३ अंक भएको छ । एक खेल कम खेलेको शीर्षस्थानको स्पोर्टस क्यासलसँग अंक बराबर भए पनि गोलका आधारमा पछि पर्दै राइजिङ दोस्रोमा छ ।

आठौं मिनेटमा अमित लामाले गोल गरेपछि ढुकुले अग्रता लियो । २५ औं मिनेटमा हेमन्त थापाले गोल गर्दा खेल बराबरी भयो । तर, ढुकुले २८ औं मिनेटमा पुनः अग्रता बनायो । गोल प्रसिद्ध मगरले गरेका थिए । ३५ देखि ३६ मिनेटको बीचमा ४ गोल गरेपछि राइजिङले खेलमा एकाएक अग्रता बनाएर अन्तिमसम्म कायम राख्न सक्यो । ३४ औं मिनेटमा सुदीप राई, एक मिनेटपछि विवेक राई र लगत्तै मिलन राईले २ गोल गरेका थिए । ३५ औं मिनेटमा अजय राणाले ढुकुबाट तेस्रो गोल गरे ।

यो जित राइजिङका लागि शीर्ष चारभित्र पर्ने लक्ष्यको महत्त्वपूर्ण ३ अंक हो । तीन खेल बाँकी रहँदा कम्तीमा एक जितले पनि उसको शीर्ष चारमा दाबी गर्नसक्ने समीकरण बन्दै गएको छ । राइजिङले धरान डर्बीमा फुटसल फाइभ, लुम्बिनी फुटसल र घरेलु टोली स्पोर्ट्स क्यासलसँग खेल्न बाँकी छ ।

‘यो हाम्रो खेल सोचेअनुसार नै भयो । हाम्रो मुख्य समस्या भनेको गोलरक्षक हो । गोलरक्षक चोटग्रस्त भएकाले हामीले धेरै गोल खायौं । ऊ फिट थियो भने हामीले अझै फराकिलो अन्तरले जित्ने थियौं,’ राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङले भने, ‘यो खेलपछि शीर्ष चारभित्र दाबेदारी पेस गर्न सजिलो भएको छ । १३ अंक भयो । बाँकी तीन खेलमा राम्रो प्रदर्शन हुने र शीर्ष चारभित्र पर्नेमा आशावादी छौं ।’


फुटसल फाइभ धरानका सरोज तामाङ (रातो) लाई रोक्ने प्रयासमा सविन मेमोरियलका खेलाडी । तस्बिर : केशव थापा/कान्तिपुर

उपाधि दाबेदारको छविमा प्रतियोगिता सुरु गरेको ढुकु फुटसललाई भने अब रेलिगेसन जोगाउने चुनौती छ । ६ खेलबाट ढुकुको ४ अंकमात्रै भएको छ । छनोट प्रतियोगितामा वाग्मती प्रदेश च्याम्पियन ढुकु लगातार हारिरहेको छ । टोलीले यसअघि नै उपाधि दाबेदारितामा नरहेको बताइसकेको छ । ‘यो हारले धेरै नै पीडा भएको छ । पीडा भनेको अब रेलिगेसन डर हो । आजको खेलमा पनि हामीलाई रेफ्रीको पक्षपातपूर्ण निर्णय महसुस भएको छ । हामी भिडियो हेरेर उजुरी गर्नेछौं,’ ढुकुका प्रशिक्षक राज महर्जनले भने, ‘अघिल्लो खेलदेखि नै हामी उपाधि दौडबाट बाहिरिइसकेका थियौं । अब रेलिगेसन जोगाउन पनि कठिन हुन्छ कि भन्ने चिन्ता सुरु भएको छ ।’

अधिकांश समय खेल नियन्त्रणमा राख्ने तर सही समयमा गोलको प्रयास गर्ने नसक्ने समस्या आफ्नो टोलीको लगातार खराब प्रदर्शन कारक रहेको प्रशिक्षकको बुझाइ छ । ‘हामीलाई पहिलो खेलदेखि नै इन्ज्युरीले सतायो । अग्रता जोगाउन नसक्ने ढुकुको रोग नै भइसक्यो । मानिसहरूले डिफेन्समा कमजोर भयो भनेका छन्,’ उनले थपे, ‘तर हामीले धेरैधन्दा धेरै पोस्ट आक्रमणमा चुकिरहेका छौं । बल पोजिसन लिने चक्करमा पोस्ट आक्रमण भइरहेको छैन ।’

अर्को खेल झनै रोमाञ्चक रह्यो । ४–२ गोलअन्तरको अग्रता उल्टाउँदै फुटसल फाइभले घरेलु टोली सविन मेमोरियलमाथि ५–४ को जित निकाल्यो । यो जितमा फुटसल फाइभले क्वालिफायर प्रवेशको सम्भावना बलियो पारेको छ भने सविन मेमोरियललाई शीर्ष चारभित्रको यात्रामा कठिन देखिएको छ । दुवैले लिगमा ३ खेल खेल्न बाँकी छ ।

मनोज गुरुङले पहिलो मिनेटमै घरेलु समर्थकलाई खुसी पार्दै गोल गरे । अर्को मिनेटमा अविनाश तामाङले गोल गरे । चौथो मिनेटमा कप्तान अनुप रानामगरले गोल गर्दा सविन मेमोरियलले खेल सुरु भएलगत्तै ३–० को अग्रता बनायो । चौथो मिनेटमा रञ्जित गुरुङले फुटसल फइभका लागि पहिलो गोल फर्काए । लिगका सर्वाधिक गोलकर्ता अविनाशले १२ औं मिनेटमा गोलसंख्या १२ पुर्‍याउँदा सविन मेमोरियल ४–१ ले अगाडि बढ्यो । १७ औं मिनेटमा प्रवेश जोशीले फुटसल फाइभबाट गोल गरेपछि पहिलो हाफ ४–२ को स्थितिमा थियो ।


म्यान अफ द म्याच फुटसल फाइभका विजय श्रेष्ठ ।तस्बिर : केशव थापा/कान्तिपुर

दोस्रो हाफको अन्त्यतिर ४ मिनेट अन्तरमा तीन गोल गरी फुटसल फाइभ नतिजा उल्टाउन सफल रह्यो । ३२ औं मिनेटमा विजय श्रेष्ठले गोल गरे । लगत्तै केही सेकेन्डपछि विजयकै पासमा प्रवेशले व्यक्तिगत दोस्रो गोल गरे । विजयले ३६ औं मिनेटमा टिमलाई अग्रता दिलाए । त्यसयता गोल हुन नसकेपछि फुटसल फाइभ ३ अंकको हकदार बन्यो ।

यो जितले फुटसल फाइभको ६ खेलबाट ११ अंक भएको छ । टोली तालिकाको चौथो स्थानमा पुगेको छ । सविन मेमोरियल १० अंकसहित पाँचौं स्थानमा छ । घरेलु टोलीमाथिको पुनरागमन जितले फुटसल फाइभका प्रशिक्षक विश्वास लामा दंग देखिए । ‘घरेलु दर्शकको दबाबबीच पछि परेको स्थितिबाट जित पाउँदा हाम्रो आत्मविश्वास बढेको छ । अबका तीन खेल कठिन छन् तर शीर्ष चारभित्र छिर्नेमा हामी आशावादी छौं ।’

सविनका प्रशिक्षक राजेन्द्र तामाङले कम अनुभवी आफ्ना खेलाडीहरू धेरै आत्मविश्वासी रहेको बताए । उनले रिजर्भ खेलाडीहरू प्रेसरमा खेल्न नसक्दा हार बेहोर्नुपरेको स्वीकारे । ‘टिम गेम भएकाले टिम मिल्यो भने राम्रो हुने हो ।

पहिलो हाफमा राम्रो भएको थियो । तर, दोस्रो हाफ बिग्रियो । मैले पहिल्यैदेखि भन्दै आएको छु हामीसँग फिल्डभित्र नेतृत्व लिने एउटै खेलाडी छैनन्,’ प्रशिक्षक तामाङले कान्तिपुरसँग भने, ‘खेलाडीहरूले अग्रता लिइरहेको अवस्थामा विपक्षीको रणनीति बुझेर खेल नियन्त्रणमा राख्न सकेनन् । अबका कठिन खेल छ, अघिल्लो खेल बराबरीमा रोकिनुपरेको छ । यसले हामीलाई शीर्ष चारभित्र पुग्न कठिन भएको छ ।’

प्रकाशित : आश्विन १३, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?