२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

टोकियो पारा ओलम्पिक : पलेशाको आत्मविश्वास

‘अरु जस्तो किन भइनँ भनेर गुनासो गर्नुभन्दा आफू जस्तो हो, त्यसमै खुसी हुनुहोस्’

काठमाडौँ — हामी सधैं सकारात्मक हुनुपर्छ । जित्नका लागि खेल्ने हो भने त स्वर्ण नै जित्ने नि !’ तेक्वान्दो खेलबाट नेपालको पहिलो पारा ओलम्पियन बन्न लागेकी पलेशा गोवर्द्धन यही आत्मविश्वास साथ शुक्रबार टोकियो प्रस्थान गरेकी छन् ।

टोकियो पारा ओलम्पिक : पलेशाको आत्मविश्वास

युद्धमा होमिएको सिपाहीले हार्ने मानसिकता बनाउँदैन, ठीक त्यसै गरी पलेशाको ‘गोर्खाली’ जोस गज्जबको छ । यसै पनि नेपाली पारा तेक्वान्दोले पदक जित्न बाँकी ओलम्पिकमा मात्र हो ।

ओलम्पिक जत्तिकै मान्यता र महत्व बोकेको पारा ओलम्पिक हरेकपल्ट ओलम्पिक सकिएको एक महिनाभित्र सोही सहरमा आयोजना हुन्छ । नेपालबाट यसपालि पारा ओलम्पिकमा एकजनाको मात्र प्रतिनिधित्व हुन लागेको छ । अन्य ५ खेलमा प्रयास भए पनि एकको मात्र वाइल्ड कार्ड आयो । अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीसँग समन्वय गर्ने नेपालको पारा ओलम्पिक कमिटीले पौडी खेलाडीको भने नामै दर्ता गरिदिएन ।

‘ओलम्पिक भनेको प्रत्येक खेलाडीको सपना हो । अझ कतिपयले त ओलम्पिक खेलेर करिअरबाट बिदा लिने सोच राखेका हुन्छन् । मैले यति सानो उमेरमै यो अवसर पाएकोमा आफूलाई भाग्यमानी ठान्छु,’ सुरुआतमै १८ वर्षीया किशोरीको कुरा सुन्दा ओलम्पिकका लागि उनको प्राथमिकता प्रतीत हुन्छ । सोमबारदेखि टोकियोमा सुरु हुने पारा ओलम्पिकको तेक्वान्दोतर्फ पलेशाले के४४ विधाको ५८ केजीमुनि आफ्नो चुनौती प्रस्तुत गर्नेछिन् ।

कोरोना महामारीका कारण एक वर्ष सारिएको ओलम्पिकअघि उनले राष्ट्रिय टोलीका कोरियाली प्रशिक्षक क्वान, पूर्व ओलम्पियन दीपक विष्ट, पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगीसँग दुई महिनादेखि विशेष प्रशिक्षण गरिरहेकी छन् ।

गत मे २१ र २२ मा जोर्डनको अम्मानमा भएको छनोट प्रतियोगितामा सहभागिता जनाउन पाएको भए पलेशाले वाइल्ड कार्ड कुर्नुपर्ने थिएन । महामारीका कारण भएको लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द हुादा छनोट प्रतियोगिता छुटेको हो । ‘सिर्जना घिसिङ र विशाल गर्बुजासहित तीन खेलाडीलाई हामीले छनोट प्रतियोगिताकै लागि तयारी गरेका थियौं । यदि त्यहाा जान पाइएको भए तीनमध्ये कम्तीमा २ जना सिधै छनोट हुनसक्थे,’ प्रशिक्षक नेगीले भने, ‘कोरोनाले गर्दा वाइल्ड कार्ड प्रयास गर्दा एकजनाको मात्र आयो ।’

पलेशाको तौलमा १२ देशका खेलाडी समावेश छन् । कम्तीमा २ खेल जितेको अवस्थामा उनले कांस्य पदक हासिल गर्नेछिन् । यसअघिका अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका खेलाडीसँगै प्रतिस्पर्धा गर्नैपर्ने भएकाले प्रतिद्वन्द्वीहरू उनका लागि नयाा होइनन् ।

‘धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका कारण पारा ओलम्पिकका लागि म उत्साही नै छु । मुख्य कुरा आफ्नो आत्मविश्वास नै हो,’ ६ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी पलेशाले कान्तिपुरसँग भनिन्, ‘सबैले आफ्नो गल्तीहरूबाट सिक्ने हो । अघिल्ला प्रतियोगिताको कमजोरी हेरेर अहिले स्टामिना बढाउने, किकहरूमा ध्यान दिने, पावर गेम, जिम, शरीरको गतिशीलतामा ध्यान दिएकी छु । अहिले चाहिँ बलियोभन्दा पनि दिमागी खेल खेल्नुपर्छ । त्यसैले शारीरिक र मानसिक रूपमा नै तयार भएको छु ।’

पलेशाको सबैभन्दा बलियो पक्ष यो हो उनी सितिमिति हार मान्दिनन् । कतिपयले यस्तो बानीलाई एकोहोरो पनि भन्छन् । सकारात्मक प्रयोगमा लगाउँदा त्यही एकोहोरो बानीले सफलता दिलाउँदो रहेछ । स्तरीय प्रशिक्षण, फिटनेस, अनुभव र एक्सपोजरले उनको एकोहोरोपनलाई निखारता दिएको छ । दुई वर्षअघि भियतनाममा आयोजित पाँचौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेपछि उनलाई ओलम्पियन बन्ने साहस बढेको हो ।

सन् २०१७ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेकी पलेशाले एसियन च्याम्पियनसिपमात्रै तीनपल्ट खेलिन् । उनी के४४ स्पर्धामा ५८ केजीमुनि र त्यो भन्दा माथि दुवै समूहको अन्तर्राष्ट्रिय अनुभव छ । ‘त्यतिबेला धेरै सहभागी भएको हुनाले तौल बढाएर खेलेकी थिएँ । पदक पनि आयो । राम्रो प्रदर्शन गर्न तौलले केही फरक पर्दैन । तयारी कस्तो गरेको छ भन्ने कुरा मुख्य हो,’ पलेशाले ५८ केजीमाथि तौलबाट खेल्दा भियतनाममा कांस्य जितेकी हुन् ।

पलेशाको यो सफलताको सूत्रधार पहिल्याउन झन्डै ६ वर्ष अगाडि फर्कनुपर्छ । जतिबेला नेपाल तेक्वान्दो संघले पारा कमिटी गठन गरी खेलाडी पहिचान सुरु गरेको थियो । अर्थात् पारा तेक्वान्दो बामे सर्दै थियो । खेलाडीको पहिचानका लागि प्रयासरत रहँदा तत्कालीन प्रशिक्षक कल्याण कुँवरलाई खबर आयो, डीएभी स्कुलमा एउटी खेलाडी छन् । राम्रो खेल्छिन्, उचाइ राम्रो छ । त्यसपछि हो, उनको वास्तविक तेक्वान्दो यात्रा सुरु भएको छ ।

‘तेक्वान्दोमा त म अप्रत्याशित रूपमा पुगेको हो नि ! हाम्रो स्कुलमा अतिरिक्त क्रियाकलापमा मार्सल आर्ट सुरु भयो । गीत गाउने र नाच्ने त पहिलेदेखि नै थियो,’ जन्मजात देव्रे हातको पन्जा नभएकी पलेशाले आफ्नो सुरुआती दिन स्मरण गरिन्, ‘उता पनि ट्राइ गरम न त भनेर खेल्न थालेको हो । मेरो खेल देखेर गुरुले राष्ट्रिय प्रशिक्षकहरूसँग भेटाइदिनुभयो ।’

शिक्षाकै कारण सक्रिय खेलजीवनपछिको समय पछुतो मान्ने नेपाली समाजमा उनीे खेलकुद र शिक्षालाई एकैपल्ट लान सकिन्छ भन्ने उदाहरण हुन् । पलेशा विज्ञानकी विद्यार्थी हुन् । यी मेधावी विद्यार्थीले शिक्षाको ज्ञानले खेलकुदमा प्रत्यक्ष सहयोग पुगिरहेको गहन तर्क गरिन् ।

‘मेरो विषय फिजिक्स (भौतिकशास्त्र) हो । फिजिक्स र स्पोर्ट्समा धेरै कुरा समान हुन्छन् । स्पिड (गति), डिस्ट्यान्स (दूरी) को हिसाब गर्नुपर्छ । तेक्वान्दोमा पनि कति दूरी राखेर कति पावरले हान्यो भने अंक ल्याउन सकिन्छ भन्ने हिसाब हुन्छ । अभ्यासका बेला पनि गुरुहरूले भन्न खोज्नुभएको कुरा छिट्टो बुझ्न सजिलो हुन्छ,’ उनले सुनाइन् ।

२५ वर्षदेखि नेपालमा रहेर तेक्वान्दो प्रशिक्षण गराइरहेका दक्षिण कोरियाली प्रशिक्षक क्वानले पनि पलेशाको बुझ्ने क्षमताको प्रशंसा गरे । ‘जापानमा भएको रिहर्सल गेममा उसको धेरै कमजोरी थियो । अहिले हामी त्यसैमा केन्द्रित भएर सिकाइरहेका छौं । विदेशी खेलाडीहरूसँग प्रशिक्षण गर्न पाएको भए अझै राम्रो हुन्थ्यो । कोरोनाले त्यो दिएन,’ कोरियाली लवजमा नेपाली बोल्दै क्वानले थपे, ‘धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भएर उसको आत्मविश्वास र अनुभव राम्रो छ । उसको बुझ्ने क्षमता पनि राम्रो छ ।’

छोरीको सफलतामा सबैभन्दा धेरै गर्व आमाबुबाकै छ । पलेशाका अनुसार आमाले उनलाई इन्जिनियर भएको हेर्न चाहन्थिन् । ‘तर, म त खेलाडी पो भएँ,’ पलेशाले हाँस्दै सुनाइन् । इन्जिनियर बनेको हेर्ने आमाको सपना पनि पूरा हुन्छ कि ? उनले जवाफ दिइन्, ‘भविष्य कसैले देखेको छैन ।’

फरक क्षमता भएकालाई तेक्वान्दो खेलाउने काम कठिन चुनौती हो । प्रशिक्षक नेगीका अनुसार आत्मविश्वास जगाउनु, शारीरिक सन्तुलन मिलाउनुलगायतका काम सुरुआती चरणमा निकै गाह्रो हुन्छ । चोटको डर उत्तिकै हुन्छ । त्यसबाहेक खेलाडी पहिचान अनि परिवारलाई मनाउनुपर्ने चुनौतीलगायतका कारण पनि धेरैले खेल्न सकिरहेका छैनन् ।

प्रशिक्षक दीपक विष्टले पनि सामान्य खेलाडीको तुलनामा फरक क्षमता भएकाहरू धेरै प्रतिभाशाली रहने बताउँछन् । अन्तर्राष्ट्रिय सफलताका आधारमा पनि उनीहरूको सम्भावना राम्रो छ । ‘अपांगता भएकाहरू असक्षम होइनन् ।

फरक क्षमताका हुन् भनेर बुझाउनै सकिएको छैन । सरकारी तबरबाटै अपांगता भएकाले पनि खेल्न सक्छन् र भन्ने मानसिकता बोकेका प्रशासकहरू छन्,’ विष्टले भने, ‘आर्थिक अवस्थाकै कारण देशभर छरिएका खेलाडीलाई एकै ठाउँमा राखेर खेलाउन सकिएको छैन ।’

पलेशाले पनि अपांगता भएकामा हीनताबोध त्यागेर गर्व गर्नुपर्ने अनुभव सुनाइन् । ‘सायद सामान्य भएको भए म यो उमेरमा ओलम्पिक खेल्न पाउँदिनथें । यसका लागि म आफूलाई गर्व गर्छु,’ उनले भनिन्, ‘अरू जस्तो किन भइनँ भनेर गुनासो गर्नुभन्दा आफू जस्तो हो, त्यसमै खुसी हुनुहोस् । भाग्यमा लेखेको कुरा परिवर्तन गर्न सकिन्न तर कर्म गर्न नछाड्नुहोस् । आत्मविश्वास र आसालाई कहिल्यै मर्न नदिनोस् । आफ्नो कमजोरीलाई तागत सम्झिनुहोस् ।’

पलेशाको अन्तर्राष्ट्रिय सहभागिता

  • तेस्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप, दक्षिण कोरिया, २०१७
  • सातौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप, लन्डन, २०१७
  • चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप, फिलिपिन्स, २०१८
  • पाँचौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप, भियतनाम, २०१९ (कांस्य)
  • आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप, टर्की, २०१९
  • पारा ओलम्पिक रिहर्सल प्रतियोगिता, टोकियो, २०१९

प्रकाशित : भाद्र ५, २०७८ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?