कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डडेलधुरा र कञ्चनपुरमा देउवा पक्षको वर्चस्व

कञ्चनपुर, डडेलधुरा — कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कञ्चनपुर र डडेलधुरामा मंगलबार सम्पन्न परिणामअनुसार संस्थापन पक्षले बढी पदमा जित हासिल गरेको छ । मंगलबार कञ्चनपुरमा क्षेत्रीय अधिवेशन र डडेलधुराको जिल्ला अधिवेशन सकिएको हो । 

डडेलधुरा र कञ्चनपुरमा देउवा पक्षको वर्चस्व

डडेलधुरामा अधिकांश सर्वसम्मत

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराबाट अधिकांश पदमा सर्वसम्मत भए पनि सभापति, सचिव र महाधिवेशन प्रतिनिधिमा भने निर्वाचन भएको छ । निर्वाचन अधिकृत लोकन्द्र बमका अनुसार जिल्ला कार्यसमितिमा सभापति र सचिवबाहेकका सबै पदमा निर्विरोध निर्वाचन भएको छ । सभापतिमा भीमबहादुर साउद निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी चूडामणि ठकुराठीले जम्मा ७६ मतमात्र ल्याएका छन् । जिल्ला सभापतिसहित २६ महाधिवेशन प्रतिनिधि एकलौटी रूपमा देउवा पक्षले जितेको छ । जसमा प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजुसमेत छन् ।

देउवा दम्पती सर्वसम्मत

प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा दुवै जना महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । प्रधानमन्त्री देउवा खुलातर्फबाट सर्वसम्मत भएका हुन् भने आरजु खुला महिलाबाट सर्वसम्मत निर्वाचित भएकी हुन् । यसअघिका हरेक निर्वाचनमा पनि दुवैलाई सर्वसम्मत गरेर बाँकी रहेको संख्यामा मात्र निर्वाचन हुने गरेको थियो । यसपटक महिला खुलातर्फ सबै निर्विरोध भए । महाधिवेशन खुलातर्फ प्रधानमन्त्री देउवालाई छाडेर अन्य ९ पदमा निर्वाचन भएको थियो ।

कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ को सभापतिमा संस्थापनइतर पक्षका उम्मेदवार विजयी भए । क्षेत्र नं. २ र ३ मा संस्थापन पक्षका उम्मेदवार विजयी भए । तीन निर्वाचन क्षेत्रबाट चयन भएका ७५ महाधिवेशन प्रतिनिधिमध्ये शेरबहादुर देउवा समूहका ५७ जना निर्वाचित भएका छन् । तीनै क्षेत्रबाट संस्थापनइतर समूहका १८ जना निर्वाचित भएका छन् । कञ्चनपुर–१ मा संस्थापनइतर पक्षका १६ र संस्थापन पक्षका ९ जनाले जितेका छन् । क्षेत्र नं. २ मा २५ जना सबै संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नं. ३ बाट २ जना संस्थापनइतर र २३ जना संस्थापन पक्षका विजयी भएका छन् ।

जिल्ला सभापति र उपमेयर पराजित

कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधिमा कांग्रेस जिल्ला सभापति नै पराजित भएका छन् । क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका सभापति हरिप्रसाद बोहरा पराजित भएका हुन् । बोहरा २ सय ४४ मत ल्याएर ११ औं स्थानमा आएका हुन् । खुला पुरुषतर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि १९ जनाको उम्मेदवारी परेको थियो । ५ सय ८ मतदाता रहेको क्षेत्र नं. २ मा ५ सय ४ मत खसेको थियो । क्षेत्र नं. २ मा नेताहरू रमेश लेखक र एनपी साउदले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।

लेखक प्यानलबाट उम्मेदवारी दिएका बोहरासहित सबै उम्मेदवार पराजित भएका छन् । बोहरासँगै पूर्वसांसदहरू समेत पराजित भए । यस्तै, भीमदत्त नगरपालिकाकी उपमेयर पनि क्षेत्रीय सचिवमा पराजित भएकी छन् । प्रतिनिधिसभाको क्षेत्र नं. ३ बाट सचिवकी उम्मेदवार उपमेयर सुशीला चन्द सिंह पराजित भएकी हुन् ।

प्रकाशित : मंसिर ८, २०७८ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?