कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबीच ‘गौरा’ रौनक

मनोज बडू, तृप्ति शाही

दार्चुला/बैतडी — कोरोनाबीच पनि सुदूरपश्चिममा धुमधाम साथ मनाइने गौरा पर्वको रौनक छाएको छ । चार दिनसम्म मनाइने मौलिक पर्व गौराको दोस्रो दिन शुक्रबार झिजाएका बिरुडा शनिबार धुने काम गरिएको छ । यसलाई ‘नानी गौरा’ भनिन्छ ।

कोरोनाबीच ‘गौरा’ रौनक

नानी गौराका दिन ब्रतालु महिलाले भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन छ । गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरा देवीको पूजाआजा गर्छन् । भाद्र पञ्चमीका दिन तामा र पित्तलको भाडामा पाँच प्रकारका अन्न (मास, गहुँ, केराउ, गहत र गुराउस) भिजाएर पर्वको शुभारम्भ भएको थियो । यी अन्नलाई नै विरुडा भनिन्छ । बिरुडाका साथै बारीमा फलेका फलफूल पनि गौरादेवीमा चढाउने चलन छ ।

दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझ मिठोमसिनो खानुका साथै बिरुडा र फलफूलसहित ब्रतालु महिलाले सगुन (फाग) गाएर गौरादेवीको पूजाआजा गर्छन् । कही ठाउमा गाउलेलाई भोज पनि गराउने परम्परा छ । पौराणिक कालमा भगवान शिवको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गर्दा प्राप्त भएको विश्वास छ । त्यति बेलादेखि गौरा र शिवको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा रहेको स्थानीय संस्कृतिका जानकार शिवराज बडूले बताए । दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । सप्तमीका दिन गौरा देवीलाई गाउको धार्मिक वा सामुदायिक घरमा भित्र्याउने चलन छ । सप्तमीको राति गौराको पूजा गर्छन् । महिलाहरूले धारणा गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन धारण गर्छन् । हिन्दु पुरुषले जनै जस्तै यहाँका महिलाहरूले दुबधागो लगाउँछन् । विवाहित महिलाले गौरापर्वमा विशेष पूजाआजा गरेर धागो लगाउने गरेको बैतडीको दशरथचन्द नगरपालिका—४ सप्रालीकी सुशीला चन्दले बताइन् । सामाजिक सद्भाव र पारिवारिक मिलनको लागि यो पर्व मनाइने गरिएको उनले बताइन् । गौराको समयमा सामूहिक रुपमा देउडा, ठाडो खेल, ढुस्को, धमारीलगायतका सांस्कृतिक खेलहरू पनि खेलिन्छन् ।

यो समयमा विभिन्न कामको सिलसिलामा जिल्ला बाहिर रहेकाहरू पनि पर्व मनाउन घरफर्कने गरेका छन् । भारतसंँगै अन्य देशमा रहेकाहरू पनि सकभर यो पर्व घरपरिवारसंँगै मनाउन गौरापर्वमा घर पुग्छन् । यो वर्ष कोरोनाले गर्दा पहिलेको जस्तो घरबाहिर रहेका धेरैजसो आउन नपाएको चन्दले बताइन् ।

प्रकाशित : भाद्र १३, २०७८ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?