गौरीफन्टा नाकाबाट दैनिक १५ सय जना भारततर्फ- सुदूरपश्चिम - कान्तिपुर समाचार

गौरीफन्टा नाकाबाट दैनिक १५ सय जना भारततर्फ

भवानी भट्ट, मोहन बुढाऐर

कञ्चनपुर/धनगढी — काखमा दूधेबालक । हातमा पानीको बोतल । अछाम तुर्माखाँदकी कल्पना विक सबैभन्दा अगाडि थिइन् । झोला भिरेका पुरुषहरूको लर्को पछाडि थियो । कामको खोजीमा भारत जान लागेका उनीहरू महेन्द्रनगर बसपार्क क्षेत्रमा खाना खान होटल चहार्न थाले ।

होटलमा पस्नेबित्तिकै कल्पनाले छोरालाई दूध चुसाइन् । एकवर्षे बालक दूध चुस्दाचुस्दै निदाए । ‘सिमला जान हिँडेका हौं हजुर,’ कल्पनाले भनिन्, ‘घरमा अन्नको गेडो छैन, चार/पाँच महिनादेखि घरमै बस्दा निकै गाह्रो भएको छ ।’ बिरामी छोराको उपचारसँगै श्रीमान् नवीनका लागि खाना बनाउन र डेरा कुर्न उनी पहिलो पटक सीमापारि जान लागेकी हुन् ।

नवीन चार वर्षदेखि भारत हिमाचल प्रदेशको सिमलामा सिजनअनुसार स्याउ टिप्ने, घाँस काट्ने र निर्माणका काममा ज्याला–मजदुरीको काम गर्छन् । ‘अब स्याउ टिप्न सुरु भयो होला, असोज कात्तिकसम्मै यो काम चल्छ,’ उनले भने, ‘त्यसपछि हिउँदमा घाँस काट्ने र सडक बनाउने काम पाइन्छ ।’ उनका अनुसार स्याउ टिप्ने काममा दैनिक ५ सय ज्याला पाइन्छ । अरू काममा चार/साढे चार सयसम्म पाइन्छ । गत चैतमा कोरोना संक्रमण बढ्न थालेपछि घर फर्किएका नवीन त्यसयता घरमै खेतीपातीको काममा लागे । खेतीपाती नभएका बेला कतै काम नपाएपछि ऋण खोजेर फेरि सिमलातिरै हिँडेको उनले बताए । घर फर्केयता काम गर्ने ठाउँमा सम्पर्क नभएपछि उनी काम पाइने/नपाइनेमा ढुक्क छैनन् । तर, यतिबेला स्याउ टिप्ने समय भएकाले उनलाई सहजै काम पाउने विश्वास छ ।

‘जिन्दगी चलाउन पनि भारत नभई नहुने भयो,’ २५ वर्षदेखि भारत आउजाउ गरेका अछाम तुर्माखाँदकै भानुभक्त धमलाले भने, ‘हाम्रो त परम्परा नै यही भयो, खेतीपाती लाउन घर आउने, त्यसपछि काम खोज्दै भारत जाने ।’ कोरोना संक्रमणको महामारी सुरु भएयता भने आउजाउ गर्ने समय फेरिन थालेको उनले बताए ।

२० वर्षको छँदा काम खोज्दै भारत पसेका उनी पटके (यता घरमा फुर्सद भएको बेला पारि जाने) कामदारकै रूपमा रोजगारी खोज्दै हिँड्छन् । हरियाणा, दिल्लीलगायतका ठाउँमा लामो समय काम गरेपछि उनी पछिल्ला वर्ष सिमलातिर जान लागेका हुन् । गाउँका सबैजसो युवादेखि वृद्धवृद्धासम्म सिमलातिरै जाने भएका कारण उनले पनि रोजगारको गन्तव्य बदलेका हुन् । ‘२५ वर्षअघि भारत पस्ने बेला र अहिलेको अवस्थामा कुनै परिवर्तन आएको छैन,’ धमला भन्छन्, ‘अहिले पनि किनेर घरपरिवारको

गुजारा भइरहेको छ, बालबालिकाको पढाइ खर्च पनि यहींबाट चलेको छ ।’ सानोतिनो खेतमा रोपाइँको काम सकेर उनी गाउँका साथीभाइसँगै हिँडेका हुन् । तुर्माखाँद गाउँपालिकाका मात्रै महिला र पुरुष गरी १७ जना सोमबार गड्डाचौकी नाका हुँदै भारतको सिमला हिँडेका छन् । त्यसपछि काम खोज्दै अलगअलग ठाउँमा फैलिन्छन् । स्याउ टिप्ने काम पाइए एउटै बगैंचामा समेत जाने उनीहरू बताउँछन् ।

दैलेखको विन्द्रासैनी नगरपालिकाका ३६ वर्षीय झक्क विक पनि २० वर्षदेखि भारत उत्तराखण्डका नैनीताल, अल्मोडा र बागेश्वर चहार्दै छन् । भारी बोक्ने, सडक खन्ने र माटो ढुंगा बोक्ने आदि कामका लागि उनी उक्त क्षेत्रमा जाने गर्छन् । सोमबार उनी रोपाइँ सकेर गड्डाचौकी नाका हुँदै बागेश्वर हिँडे । चैतमा कोरोना संक्रमणले सबै काम बन्द भएपछि घर आएका उनी फेरि काम सुरु भएको जानकारी पाएपछि फर्किन लागेका हुन् । ‘मेट (ठेकेदार) सँग कुरा भएको छ, काम सुरु भइसक्यो भन्ने खबर पाएपछि म पनि हिँडें,’ विकले भने, ‘सहजै जान दिए साँझसम्म बागेश्वर पुगिन्छ, बाटोमा कस्तो अवस्था छ, केही थाहा छैन ।’

१६ वर्षकै उमेरमा भारत जान लागेका उनले लामो समय हल्द्वानीमा होटलमा काम गरेका थिए । होटलमा निकै कम ज्याला पाइने भएकाले भारी बोक्न नैनीताल हिँडे । त्यहाँबाट पनि अल्मोडा हुँदै अहिले बागेश्वरतिर पुगेका छन् । ‘मेरा बुबा पनि नैनीतालतिरै भारी बोक्ने काम गर्थे,’ विक भन्छन्, ‘अहिले बुबाको काम मैले गरिरहेको छु ।’ अधिकांश कामदारहरू बाबुबाजेकै पालादेखि स्याउ टिप्ने, भारी बोक्ने र विकास निर्माणका अन्य काममा मजदुरी गर्न गइरहेका भेटिन्छन् । उनीहरूका लागि यो परम्पराजस्तै बनेको छ । छाक टार्नका लागि पनि उनीहरूले भारत नगई नहुने अवस्था छ । दुई/तीन पुस्तादेखि भारत जान लागेका उनीहरूको जीवनस्तर भने जहाँको त्यहीं छ ।

कैलालीको गौरीफन्टा नाका पनि दैनिक १५ सय जनासम्म कामको खोजीमा भारत गइरहेका हुन्छन् । भारत छिर्नेको लस्करमा महिला, बालबालिका र ६० वर्ष नाघेकासमेत उत्तिकै हुन्छन् । भारत पस्नेहरूका आ–आफ्नै पीडा छन् । स्वदेशमा रोजगारीमूलक काम नपाउँदा कोरोना कहरका बीचमा पनि लालाबालासहित भारत पस्नु बाध्यता बनेको उनीहरूको भनाइ छ । गरिबीले माथिल्लो कक्षा पढ्न नसकेकाहरू गाउँमा त्यत्तिकै दिन काट्नुभन्दा दुई पैसा कमाउन हिँडेको सुनाउँछन् । कतिपय महिलाहरू परिवारले जिम्मेवारी नउठाउँदा अर्काको विश्वासमा कोखे बच्चासहित बिरानो ठाउँमा जानुपरेको सुनाउँछन् । पारिवारिक र सामाजिक हिंसा खपेर जिउनुभन्दा जोखिम मोलेरै भए पनि दुई पैसा आम्दानी गर्ने आसले भारत जान बाध्य हुनुपरेको एक महिलाले बताइन् ।

सशस्त्र द्वन्द्वमा विद्रोही पक्षबाट अग्रमोर्चामा होमिएका कैलाली मसुरियाका शेरबहादुर साउद कामको जोखीमा गौरीफन्टा नाका पार गर्दा ‘नेपालीको समृद्धि’ देख्दैनन् । ‘जसले र जुन पार्टीले देश बदल्छ र जीवनमा परिर्वतन ल्याउँछ भनेर स्कुल पढ्दापढ्दै हातमा बन्दुक समात्यौं, त्यो शक्तिलाई विसर्जन गरियो, नेता सत्ताको स्वार्थमा लागे,’ उनले भने, ‘गरिबी र बेरोजगारीको सामना खाली हात घरमा बसेर गर्न सकिँदैन । हामी नेपालीको भारतमा कामका लागि पस्नु अन्तहीन पीडा भइसक्यो ।’ साउद तत्कालीन माओवादीको सातौं डिभिजनमा कार्यरत थिए । उनी सेना समायोजनको अन्तिम चरणमा बाहिरिएका हुन् । ‘स्वैच्छिक अवकाशको अफर’ बाट पाएको दुई लाखले सातौं डिभिजननजिकैको मसुरियामा पाँच कट्ठा जग्गा किनेर उनले नयाँ जीवन सुरु गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारत पस्नुपर्ने बाध्यता हटाउने आश्वासन दिए तर केही नगरेको उनको गुनासो थियो । ‘गरिबी र बेरोजगारीको जोताइमा परेर भारतको मुम्बईमा चौकीदार भएर लट्ठी बजाउने कलिलो युवा माओवादी विद्रोहमा एउटा सपना बोकेर लागेका थिए होलान्,’ उनले भने, ‘समयले उनलाई प्रदेशको मुख्यमन्त्रीसमेत बनाएको छ । कोरोनाकालमा पनि भारत पस्नेको लर्को दशकदेखिकै उस्तै छ । यो कहिले रोकिएला र ?’

साउदसँगै भारत पस्न लागेका हर्कसिंह धामी पनि यहाँका युवाले परदेसिनुको यात्रामा विराम लाग्ने सपनासमेत देख्दैनन् । १५ वर्षको उमेरदेखि भारतमा जान थालेको उनी अहिले ३५ वर्ष पुगेका छन् । सरकारले बेवास्ता गर्दा कोरोना महामारीका कारण घर फर्केका नेपाली ६ महिनामै फेरि भारत पस्नुपरेको तालिम तथा रोजगार व्यवसायी महासंघका सुदूरपश्चिम अध्यक्ष प्रमोद पाठक बताउँछन् । भारतबाट घर फर्केको जनशक्तिलाई देश विकासमा लगाउन गरी तीनै तहका सरकारले नीति कार्यक्रम र बजेटमा कुनै ठोस योजना ल्याउन नसक्दा जनशक्ति पुनः पलायनको क्रम नरोकिएको पाठक बताउँछन् ।

प्रकाशित : श्रावण ४, २०७८ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्

चुरे फेदीका बस्तीमा उच्च जोखिम

नदीजन्य वस्तु नै आम्दानीको प्रमुख स्रोत बनाउँदा चुरे दोहन बढ्यो
अनियन्त्रित दोहनले खोला र नदीको आकार बर्सेनि बढ्दो
भवानी भट्ट, मोहन बुढाऐर

कञ्चनपुर/धनगढी — मनसुनी वर्षाले मुलुकका अधिकांश भागमा बाढीपहिरो र कटान–डुबानले धनजनको क्षति भइरहेको छ । अविरल झरीसँगै कैलाली र कञ्चनपुरको चुरे पहाड र फेदका बस्तीमा त्रास फैलिएको छ । कञ्चनपुरमा चुरे क्षेत्रबाट बग्ने खन्या खोलाको बाढी बर्सेनि बस्तीमा पसेर घरखेत बगाउने गरेको छ । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को चुर फेदीमै खन्या खोलाले भत्काएको तटबन्ध मर्मत गरिँदै। तस्बिर : भवानी/कान्तिपुर

महाकाली सिँचाइ आयोजना तेस्रो चरणले ५ वर्षअघि तटबन्ध निर्माण गरेपछि बाढी वस्तीमा पस्न रोकिएको थियो । यसपटक असार सुरुमै चुरे फेदमै तटबन्ध भत्काएर खोला सामुदायिक वन हुँदै बस्तीतर्फ मोडियो । बाढी थोरै समय रहेकाले ठूलो क्षति हुनबाट जोगियो । ‘केहीबेर मात्रै बाढी रह्यो, नत्र बस्ती सबै बगाउँथ्यो,’ भीमदत्त नगरपालिका– ३ तिलकपुरका उत्तम चन्दले भने, ‘तटबन्धका कारण केही वर्ष बाढी रोकिएको थियो, फेरि दुःख दिन थाल्यो ।’ उनका अनुसार ५ वर्षअघिसम्म उक्त खोला बर्सेनि बस्ती पसेर चुरे फेदीका बस्तीहरू जहिल्यै डुबानमा पर्थे ।

तटबन्ध निर्माणपछि खोला नियन्त्रण भएको थियो । ‘यो पाला त सुरुमै तटबन्ध भत्काएर खोलाले धार परिवर्तन गरेको छ,’ सोही क्षेत्रका स्थानीय केशव साउदले भने, ‘बर्खा त भर्खर सुरु भएको छ, अझै कति क्षति गर्ने हो ।’ चुरे फेदी हुँदै महेन्द्रनगर बजार छेउ भएर बग्ने उक्त खोलाको समयमै नियन्त्रण हुन नसके भीमदत्त नगरपालिकाका आधा दर्जन वडा प्रभावित हुने देखिन्छ । खन्याखोला बग्ने चुरे क्षेत्रमा पनि पहिरोको आकार बर्सेनि बढ्दो छ । यतिबेला खन्याखोलाले भत्काएको बाँध मर्मतको काम चलिरहेको छ ।

तटबन्ध पुनर्निर्माण भएपछि बाढी रोकिने स्थानीयका आशा छ । तर, चुरे क्षेत्रमा बढ्दै गएको पहिरो नियन्त्रणको प्रयास नभएर तटबन्धले मात्रै काम नगर्ने स्थानीय बताउँछन् । उनीहरूका अनुसार केही वर्षअघिसम्म निकै सानो आकारमा रहेको पहिरोले अहिले ठूलो रूप लिएको छ । जसका कारण खोलाले समेत बढी क्षति गर्दै आएको छ । भीमदत्त–९ ब्रह्मदेवनजिकैको भिमिरगाड खोला पनि बर्सेनि विकराल बन्दै गएको छ । उक्त क्षेत्रमा बस्ती नभए पनि वन क्षेत्र ठूलो मात्रामा सखाप पारेको छ । चुरे क्षेत्रमा पनि बर्सेनि पहिरो बढ्दै गएको छ ।

चुरे फोड्दै स्थानीय तह

पश्चिम नेपालको चुरे क्षेत्रमा वन फँडानी, ढुंगागिट्टी उत्खनन र डोजरले सडक खन्दा तराईको शिर चुरे कमजोर बन्नुका साथै उर्वर जग्गा मरुभूमि बन्ने क्रम बढ्दो छ । सुक्खायाममा लाग्ने डढेलोले वन क्षेत्र नांगो हुने र खोलानालाबाट अनियन्त्रित ढंगले उत्खननका कारण चुरेसँगै आसपासका बस्तीसमेत जोखिममा परेको स्थानीय बताउँछन् ।

चुरे फेदमै एक्स्काभेटर प्रयोग गरेर हुने उत्खननले खोलाको स्वरूप नै परिवर्तन गरेको उनीहरू बताउँछन् । ‘डढेलोले वन पूरै नांगो भएको छ, त्यसैमा तल्लो क्षेत्रबाट अनियन्त्रित उत्खननले अहिलेको समस्या निम्तिएको हो,’ चुरे संरक्षण सञ्जालका अध्यक्ष रवीन्द्र कुँवरले भने, ‘ब्रह्मदेवदेखि अत्तरियासम्म अधिकांश खोलानालामा यस्तै समस्या छ ।’

कञ्चनपुरमा खन्या खोला, बगुन, मुसेपानी, बण्ड र मछेलीलगायत चुरेबाट बग्ने आधा दर्जन खोलानालाबाट ढुंगा, गिट्टी उत्खनन हुने गरेको छ । स्थानीय तहहरूले राजस्व संकलन गर्न उत्खननका लागि ठेक्का दिने भए पनि त्यसको अनुगमन नहुँदा खोलानाला अनियन्त्रित हुन थालेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयविक्रम मानन्धर बताउँछन् । ‘स्थानीय तहहरूले निर्माण सामग्री उत्खनन गर्दा मापदण्ड पालना गरेका देखिँदैन,’ उनले भने, ‘संकलन भएको राजस्वको केही अंश पनि संरक्षणमा लगाउँदैनन् ।’

आफैंमा कमलो पहाड चुरेमाथि मेसिनहरू प्रयोग गरेर अनियन्त्रित उत्खननले तल्लो तटीय क्षेत्रका बस्तीसंँगै चुरेको भविष्यसमेत जोखिममा रहेको मानन्धर बताउँछन् । ‘हरेक खोलाको सिरानमा पहिरो बढ्दै गएको छ,’ उनले भने, ‘नियन्त्रण गर्न सकिने अवस्था पनि छैन ।’ उनले बायोइन्जिनियरिङबाट मात्रै पहिरो नियन्त्रण हुन सक्ने भएकाले त्यसतर्फ ध्यान जानुपर्ने बताए ।

‘यस्तै अवस्था रहे तराई मरुभूमि परिणत हुन्छ,’ लामो समयदेखि चुरे संरक्षणमा रहेका स्थानीय वनविज्ञ विजय श्रेष्ठले भने, ‘चुरे फोडेर ढुंगा, गिट्टी निकासी गर्ने कुरो गम्भीर चिन्ताको विषय हो, सरकारको यस्तो नीतिले समृद्धि हैन, डरलाग्दो भविष्यलाई संकेत गरेको छ ।’ कैलालीको चुरे फेदमा रहेका गोदावरी, खुटिया, गौरीगंगा नदीबाट ढुंगा, गिट्टी उत्खनन भइरहेको छ । श्रेष्ठका अनुसार दुई दशकअघि १०/१५ मिटर चौडाइका नदीनाला अहिले ५ सय मिटर फराकिलो भइसकेका छन् । पूर्वपश्चिम राजमार्गका सडक–पुलहरूको उचाइ नदीको सतह पुरिएर घट्दै गएको छ । स्थानीय तहहरूले नदीजन्य वस्तु नै आम्दानीको प्रमुख स्रोत बनाएकाले चुरे दोहन बढेको डिभिजन वन कार्यालय धनगढीका वन अधिकृत रामचन्द्र कँडेलले बताउँछन् । ‘दुई/चार करोड राजस्व उठाउने लोभमा स्थानीय तहले दूरदृष्टि राख्न सकेका छैनन्,’ उनले भने, ‘वातावरणीय प्रभावको अध्ययन गरेको क्षेत्रभन्दा बाहिरबाट उत्खनन भएको छ कि छैन भनेर अनुगमन पनि छैन ।’ उनले विकास निर्माणको रूपमा जथाभावी भइरहेको सडक बाटो, खानेपानी, सिँचाइका योजनाले पनि चुरे विनाश भइरहेको बताए ।

चुरेसँग जोडिएका कैलालीका लम्कीचुहा, बर्दिगोरिया, घोडाघोडी, गौरीगंगा र गोदावरी नगरपालिकाको कुल आम्दानीको ४० प्रतिशत खोलानालाका ढुंगा, गिट्टी र बालुवाको ठेक्कापट्टाबाट उठ्ने गरेको छ । चुरेबाट बग्ने नदीमा लगाउने ठेक्काको विषयमा स्थानीय तहबीच सीमा विवादसमेत बढेको छ । चुरेमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाको तल्लो क्षेत्रका गोदावरी बर्दगोरिया, गौरीगंगा, घोडाघोडीसँग सीमा विवाद छ ।

स्थानीय तहले एकातिर चुरेका नदीखोलाबाट जथाभावी उत्खननको ठेक्का दिएर तराईको पानीको रिचार्ज गर्ने प्रभाव तहसनहस गरिरहेका छन् भने अर्कातिर चुरेमा सडक सञ्जाल बिस्तार गर्ने नाममा डोजर लगाएर पहाड फोड्ने काम भएको चुरे संरक्षण क्षेत्रका विज्ञहरूको भनाइ छ । कैलालीका चुरे क्षेत्रका मोहन्याल र चुरे गाउँपालिकाले कुल विकास बजेटको ४० प्रतिशतका दरले सडक खन्न रकम विनियोजित गरेका छन् । चुरेको सहजपुर, अलाड, देउराली, मौरी, चौमला, फल्टुडे र धनेरी–गजारको ट्र्याक खोल्ने काम सुरु भएको छ ।

मोहन्यालमा खमडी–सिमली, फल्ले–बिसौना र चिसापानी–सोल्टा र राजकाँडा–कुशेगडा मुख्य पाँच सडक योजना छन् । बस्ती–बस्ती जोड्ने सहायक सडक योजनामात्रै चुरे क्षेत्रमा दुई दर्जनभन्दा बढी छन् । उपभोक्ता समिति वा ठेक्कापट्टाबाट चुरेमा निर्माण भइरहेका सडक योजनामा डोजरकै प्रयोग हुने गरेको छ । चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरले पालिकामा सडक निर्माणको कामको गतिलाई तीव्रता दिन डोजर प्रयोग हुने बताए । मोहन्याल गाउँपालिकाले त आफैं दुइटा डोजर किनेको छ । चुरे फेदसंँगै जोडिएका गोदावरी, गौरीगंगा, बर्दगोरिया, लम्कीचुहा नगरपालिकाले पनि जताततैबाट चुरेमा उक्लिने सडकका योजनामा रकम विनियोजन गरेका छन् । ‘चुरे माथिका गाउँपालिका जोड्न तराईबाट एक ठाउँ भएर सडक बनाउनु आवश्यकता नै हो,’ चुरे क्षेत्रका सामाजिक अगुवा वीरेन्द्र बमले भने, ‘तर जथाभावीभन्दा पनि एउटा सडक छनोट गरी तीनै सरकारको संयुक्त बजेटबाट पूरा गर्दा राम्रो हुन्थ्यो ।’ चुरे क्षेत्रमा दर्जनौं सडक बनाएर कनिकाजस्तै बाँडिएको बजेटले एक ठाउँको सडक पनि पूरा हुन नसकेको बमले बताए । मोहन्याल ४ को वडा कार्यालय स्थापनाका लागि चुरेको एउटा डाँंडा नै भत्काइएको छ । खेलमैदान, स्थानीय बजार, सार्वजनिक भवनका लागि ठाउँ फराकिलो पार्न चुरेलाई फोड्ने काम भएका छन् ।

मुहानै सुक्यो

चुरेमा खुलेका सडक ट्र्याकले मोटर पुगे पनि बस्तीमा पानीका मूल मासिएका छन् । डोजरले खनेको सडकले पहिरो जान थालेपछि केही बस्ती जोखिममा छन् । ‘मोहन्याल–७ धनाडी गाउँमा सडक पुग्नुअघि कुलो लाग्थ्यो,’ स्थानीय दिनेश घर्तीमगरले भने, ‘कुलोको मुहानै भएको माथिबाट सडक गयो । डोजरले खन्दा पहिरो गएर कुलोको मूल नै पुरियो । खेत बाँझो र पाखोमा परिणत भयो ।’ खोलानालामा भएको उत्खनन र वन विनाशले पानीको रिचार्ज हुने कैलालीको भावर क्षेत्रका बस्ती काकाकुल बन्दै गएका छन् ।

चुरेका बस्ती पहिरो, भूक्षयको जोखिममा छन् । चुरे फेदका बस्तीमा पानीको संकट भएको खानेपानी डिभिजन कार्यालय प्रमुख इन्जिनियर मोहन कुँवरले बताए । ‘विभिन्न प्रकारले चुरेमा भइरहेको दोहनका कारण पानीको रिचार्जमा असर परेको छ,’ उनले भने । चुरेबाटै निस्केका खुटिया, गौरीगंगा, पथरिया, कान्ध्रा काडा नदीमा पनि बर्खामा आउने बाढीले जिल्लाको दक्षिण भेगमा ठूलो उर्वरक्षेत्र बगरमा परिणत भइसकेको छ ।

वन तथा वातावरण विज्ञ पूर्वडीएफओ रमेश चन्दले चुरेमा भएको वन विनाश र जथाभावी भइरहेको उत्खननले कैलालीमा बाढीको समस्या विकराल रूपमा देखा पर्न थालेको बताए । उनका अनुसार चुरेबाट उत्पन्न खोलानालाले गेग्रान बगाएर ल्याउँदा तल्लो तटीय क्षेत्रमा थुपारेर नदीको सतहमाथि आउने भएकाले बाढी र डुबान समस्या देखिएको हो ।

जिल्लाको दक्षिण पूर्व भएर १ सय २ किलोमिटर लम्बाइमा बग्ने मोहना नदीले एक दशकयता गोदावरीदेखि भजनीसम्मका दुई दर्जन बस्ती बगरमा परिणत गरिसकेको छ । ‘चुरेमा भूक्षय, बस्ती जोखिम, पानीका मुहान सुक्दै जानु र तराईमा बाढीको प्रकोप चुरे दोहोनले निम्ताएको संकट हो,’ वनविज्ञ चन्दले भने, ‘चुरेको दोहन नियन्त्रण गर्न नसकिए तराईको भविष्यसमेत संकटमा निश्चित पर्छ ।’

प्रकाशित : असार ७, २०७८ ०८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×