१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

चुरे फेदीका बस्तीमा उच्च जोखिम

नदीजन्य वस्तु नै आम्दानीको प्रमुख स्रोत बनाउँदा चुरे दोहन बढ्यो
अनियन्त्रित दोहनले खोला र नदीको आकार बर्सेनि बढ्दो

कञ्चनपुर/धनगढी — मनसुनी वर्षाले मुलुकका अधिकांश भागमा बाढीपहिरो र कटान–डुबानले धनजनको क्षति भइरहेको छ । अविरल झरीसँगै कैलाली र कञ्चनपुरको चुरे पहाड र फेदका बस्तीमा त्रास फैलिएको छ । कञ्चनपुरमा चुरे क्षेत्रबाट बग्ने खन्या खोलाको बाढी बर्सेनि बस्तीमा पसेर घरखेत बगाउने गरेको छ । 

चुरे फेदीका बस्तीमा उच्च जोखिम

महाकाली सिँचाइ आयोजना तेस्रो चरणले ५ वर्षअघि तटबन्ध निर्माण गरेपछि बाढी वस्तीमा पस्न रोकिएको थियो । यसपटक असार सुरुमै चुरे फेदमै तटबन्ध भत्काएर खोला सामुदायिक वन हुँदै बस्तीतर्फ मोडियो । बाढी थोरै समय रहेकाले ठूलो क्षति हुनबाट जोगियो । ‘केहीबेर मात्रै बाढी रह्यो, नत्र बस्ती सबै बगाउँथ्यो,’ भीमदत्त नगरपालिका– ३ तिलकपुरका उत्तम चन्दले भने, ‘तटबन्धका कारण केही वर्ष बाढी रोकिएको थियो, फेरि दुःख दिन थाल्यो ।’ उनका अनुसार ५ वर्षअघिसम्म उक्त खोला बर्सेनि बस्ती पसेर चुरे फेदीका बस्तीहरू जहिल्यै डुबानमा पर्थे ।

तटबन्ध निर्माणपछि खोला नियन्त्रण भएको थियो । ‘यो पाला त सुरुमै तटबन्ध भत्काएर खोलाले धार परिवर्तन गरेको छ,’ सोही क्षेत्रका स्थानीय केशव साउदले भने, ‘बर्खा त भर्खर सुरु भएको छ, अझै कति क्षति गर्ने हो ।’ चुरे फेदी हुँदै महेन्द्रनगर बजार छेउ भएर बग्ने उक्त खोलाको समयमै नियन्त्रण हुन नसके भीमदत्त नगरपालिकाका आधा दर्जन वडा प्रभावित हुने देखिन्छ । खन्याखोला बग्ने चुरे क्षेत्रमा पनि पहिरोको आकार बर्सेनि बढ्दो छ । यतिबेला खन्याखोलाले भत्काएको बाँध मर्मतको काम चलिरहेको छ ।

तटबन्ध पुनर्निर्माण भएपछि बाढी रोकिने स्थानीयका आशा छ । तर, चुरे क्षेत्रमा बढ्दै गएको पहिरो नियन्त्रणको प्रयास नभएर तटबन्धले मात्रै काम नगर्ने स्थानीय बताउँछन् । उनीहरूका अनुसार केही वर्षअघिसम्म निकै सानो आकारमा रहेको पहिरोले अहिले ठूलो रूप लिएको छ । जसका कारण खोलाले समेत बढी क्षति गर्दै आएको छ । भीमदत्त–९ ब्रह्मदेवनजिकैको भिमिरगाड खोला पनि बर्सेनि विकराल बन्दै गएको छ । उक्त क्षेत्रमा बस्ती नभए पनि वन क्षेत्र ठूलो मात्रामा सखाप पारेको छ । चुरे क्षेत्रमा पनि बर्सेनि पहिरो बढ्दै गएको छ ।

चुरे फोड्दै स्थानीय तह

पश्चिम नेपालको चुरे क्षेत्रमा वन फँडानी, ढुंगागिट्टी उत्खनन र डोजरले सडक खन्दा तराईको शिर चुरे कमजोर बन्नुका साथै उर्वर जग्गा मरुभूमि बन्ने क्रम बढ्दो छ । सुक्खायाममा लाग्ने डढेलोले वन क्षेत्र नांगो हुने र खोलानालाबाट अनियन्त्रित ढंगले उत्खननका कारण चुरेसँगै आसपासका बस्तीसमेत जोखिममा परेको स्थानीय बताउँछन् ।

चुरे फेदमै एक्स्काभेटर प्रयोग गरेर हुने उत्खननले खोलाको स्वरूप नै परिवर्तन गरेको उनीहरू बताउँछन् । ‘डढेलोले वन पूरै नांगो भएको छ, त्यसैमा तल्लो क्षेत्रबाट अनियन्त्रित उत्खननले अहिलेको समस्या निम्तिएको हो,’ चुरे संरक्षण सञ्जालका अध्यक्ष रवीन्द्र कुँवरले भने, ‘ब्रह्मदेवदेखि अत्तरियासम्म अधिकांश खोलानालामा यस्तै समस्या छ ।’

कञ्चनपुरमा खन्या खोला, बगुन, मुसेपानी, बण्ड र मछेलीलगायत चुरेबाट बग्ने आधा दर्जन खोलानालाबाट ढुंगा, गिट्टी उत्खनन हुने गरेको छ । स्थानीय तहहरूले राजस्व संकलन गर्न उत्खननका लागि ठेक्का दिने भए पनि त्यसको अनुगमन नहुँदा खोलानाला अनियन्त्रित हुन थालेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयविक्रम मानन्धर बताउँछन् । ‘स्थानीय तहहरूले निर्माण सामग्री उत्खनन गर्दा मापदण्ड पालना गरेका देखिँदैन,’ उनले भने, ‘संकलन भएको राजस्वको केही अंश पनि संरक्षणमा लगाउँदैनन् ।’

आफैंमा कमलो पहाड चुरेमाथि मेसिनहरू प्रयोग गरेर अनियन्त्रित उत्खननले तल्लो तटीय क्षेत्रका बस्तीसंँगै चुरेको भविष्यसमेत जोखिममा रहेको मानन्धर बताउँछन् । ‘हरेक खोलाको सिरानमा पहिरो बढ्दै गएको छ,’ उनले भने, ‘नियन्त्रण गर्न सकिने अवस्था पनि छैन ।’ उनले बायोइन्जिनियरिङबाट मात्रै पहिरो नियन्त्रण हुन सक्ने भएकाले त्यसतर्फ ध्यान जानुपर्ने बताए ।

‘यस्तै अवस्था रहे तराई मरुभूमि परिणत हुन्छ,’ लामो समयदेखि चुरे संरक्षणमा रहेका स्थानीय वनविज्ञ विजय श्रेष्ठले भने, ‘चुरे फोडेर ढुंगा, गिट्टी निकासी गर्ने कुरो गम्भीर चिन्ताको विषय हो, सरकारको यस्तो नीतिले समृद्धि हैन, डरलाग्दो भविष्यलाई संकेत गरेको छ ।’ कैलालीको चुरे फेदमा रहेका गोदावरी, खुटिया, गौरीगंगा नदीबाट ढुंगा, गिट्टी उत्खनन भइरहेको छ । श्रेष्ठका अनुसार दुई दशकअघि १०/१५ मिटर चौडाइका नदीनाला अहिले ५ सय मिटर फराकिलो भइसकेका छन् । पूर्वपश्चिम राजमार्गका सडक–पुलहरूको उचाइ नदीको सतह पुरिएर घट्दै गएको छ । स्थानीय तहहरूले नदीजन्य वस्तु नै आम्दानीको प्रमुख स्रोत बनाएकाले चुरे दोहन बढेको डिभिजन वन कार्यालय धनगढीका वन अधिकृत रामचन्द्र कँडेलले बताउँछन् । ‘दुई/चार करोड राजस्व उठाउने लोभमा स्थानीय तहले दूरदृष्टि राख्न सकेका छैनन्,’ उनले भने, ‘वातावरणीय प्रभावको अध्ययन गरेको क्षेत्रभन्दा बाहिरबाट उत्खनन भएको छ कि छैन भनेर अनुगमन पनि छैन ।’ उनले विकास निर्माणको रूपमा जथाभावी भइरहेको सडक बाटो, खानेपानी, सिँचाइका योजनाले पनि चुरे विनाश भइरहेको बताए ।

चुरेसँग जोडिएका कैलालीका लम्कीचुहा, बर्दिगोरिया, घोडाघोडी, गौरीगंगा र गोदावरी नगरपालिकाको कुल आम्दानीको ४० प्रतिशत खोलानालाका ढुंगा, गिट्टी र बालुवाको ठेक्कापट्टाबाट उठ्ने गरेको छ । चुरेबाट बग्ने नदीमा लगाउने ठेक्काको विषयमा स्थानीय तहबीच सीमा विवादसमेत बढेको छ । चुरेमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाको तल्लो क्षेत्रका गोदावरी बर्दगोरिया, गौरीगंगा, घोडाघोडीसँग सीमा विवाद छ ।

स्थानीय तहले एकातिर चुरेका नदीखोलाबाट जथाभावी उत्खननको ठेक्का दिएर तराईको पानीको रिचार्ज गर्ने प्रभाव तहसनहस गरिरहेका छन् भने अर्कातिर चुरेमा सडक सञ्जाल बिस्तार गर्ने नाममा डोजर लगाएर पहाड फोड्ने काम भएको चुरे संरक्षण क्षेत्रका विज्ञहरूको भनाइ छ । कैलालीका चुरे क्षेत्रका मोहन्याल र चुरे गाउँपालिकाले कुल विकास बजेटको ४० प्रतिशतका दरले सडक खन्न रकम विनियोजित गरेका छन् । चुरेको सहजपुर, अलाड, देउराली, मौरी, चौमला, फल्टुडे र धनेरी–गजारको ट्र्याक खोल्ने काम सुरु भएको छ ।

मोहन्यालमा खमडी–सिमली, फल्ले–बिसौना र चिसापानी–सोल्टा र राजकाँडा–कुशेगडा मुख्य पाँच सडक योजना छन् । बस्ती–बस्ती जोड्ने सहायक सडक योजनामात्रै चुरे क्षेत्रमा दुई दर्जनभन्दा बढी छन् । उपभोक्ता समिति वा ठेक्कापट्टाबाट चुरेमा निर्माण भइरहेका सडक योजनामा डोजरकै प्रयोग हुने गरेको छ । चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरले पालिकामा सडक निर्माणको कामको गतिलाई तीव्रता दिन डोजर प्रयोग हुने बताए । मोहन्याल गाउँपालिकाले त आफैं दुइटा डोजर किनेको छ । चुरे फेदसंँगै जोडिएका गोदावरी, गौरीगंगा, बर्दगोरिया, लम्कीचुहा नगरपालिकाले पनि जताततैबाट चुरेमा उक्लिने सडकका योजनामा रकम विनियोजन गरेका छन् । ‘चुरे माथिका गाउँपालिका जोड्न तराईबाट एक ठाउँ भएर सडक बनाउनु आवश्यकता नै हो,’ चुरे क्षेत्रका सामाजिक अगुवा वीरेन्द्र बमले भने, ‘तर जथाभावीभन्दा पनि एउटा सडक छनोट गरी तीनै सरकारको संयुक्त बजेटबाट पूरा गर्दा राम्रो हुन्थ्यो ।’ चुरे क्षेत्रमा दर्जनौं सडक बनाएर कनिकाजस्तै बाँडिएको बजेटले एक ठाउँको सडक पनि पूरा हुन नसकेको बमले बताए । मोहन्याल ४ को वडा कार्यालय स्थापनाका लागि चुरेको एउटा डाँंडा नै भत्काइएको छ । खेलमैदान, स्थानीय बजार, सार्वजनिक भवनका लागि ठाउँ फराकिलो पार्न चुरेलाई फोड्ने काम भएका छन् ।

मुहानै सुक्यो

चुरेमा खुलेका सडक ट्र्याकले मोटर पुगे पनि बस्तीमा पानीका मूल मासिएका छन् । डोजरले खनेको सडकले पहिरो जान थालेपछि केही बस्ती जोखिममा छन् । ‘मोहन्याल–७ धनाडी गाउँमा सडक पुग्नुअघि कुलो लाग्थ्यो,’ स्थानीय दिनेश घर्तीमगरले भने, ‘कुलोको मुहानै भएको माथिबाट सडक गयो । डोजरले खन्दा पहिरो गएर कुलोको मूल नै पुरियो । खेत बाँझो र पाखोमा परिणत भयो ।’ खोलानालामा भएको उत्खनन र वन विनाशले पानीको रिचार्ज हुने कैलालीको भावर क्षेत्रका बस्ती काकाकुल बन्दै गएका छन् ।

चुरेका बस्ती पहिरो, भूक्षयको जोखिममा छन् । चुरे फेदका बस्तीमा पानीको संकट भएको खानेपानी डिभिजन कार्यालय प्रमुख इन्जिनियर मोहन कुँवरले बताए । ‘विभिन्न प्रकारले चुरेमा भइरहेको दोहनका कारण पानीको रिचार्जमा असर परेको छ,’ उनले भने । चुरेबाटै निस्केका खुटिया, गौरीगंगा, पथरिया, कान्ध्रा काडा नदीमा पनि बर्खामा आउने बाढीले जिल्लाको दक्षिण भेगमा ठूलो उर्वरक्षेत्र बगरमा परिणत भइसकेको छ ।

वन तथा वातावरण विज्ञ पूर्वडीएफओ रमेश चन्दले चुरेमा भएको वन विनाश र जथाभावी भइरहेको उत्खननले कैलालीमा बाढीको समस्या विकराल रूपमा देखा पर्न थालेको बताए । उनका अनुसार चुरेबाट उत्पन्न खोलानालाले गेग्रान बगाएर ल्याउँदा तल्लो तटीय क्षेत्रमा थुपारेर नदीको सतहमाथि आउने भएकाले बाढी र डुबान समस्या देखिएको हो ।

जिल्लाको दक्षिण पूर्व भएर १ सय २ किलोमिटर लम्बाइमा बग्ने मोहना नदीले एक दशकयता गोदावरीदेखि भजनीसम्मका दुई दर्जन बस्ती बगरमा परिणत गरिसकेको छ । ‘चुरेमा भूक्षय, बस्ती जोखिम, पानीका मुहान सुक्दै जानु र तराईमा बाढीको प्रकोप चुरे दोहोनले निम्ताएको संकट हो,’ वनविज्ञ चन्दले भने, ‘चुरेको दोहन नियन्त्रण गर्न नसकिए तराईको भविष्यसमेत संकटमा निश्चित पर्छ ।’

प्रकाशित : असार ७, २०७८ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?