कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चैते धान भित्र्याउने चटारो

भजनी/कैलाली — कैलालीको भजनी नगरपालिका–३ का कृष्ण चौधरीको गत वर्ष बाढीले वर्षे धान भित्र्याउन नपाएपछि यो वर्ष चैते धान लगाएका छन् । गत साउनको बाढीले उनको तीन बिघामा लगाएको धानबाली पूरै बगाएपछि उनले यो वर्ष चैते धान लगाएका हुन् ।

चैते धान भित्र्याउने चटारो

‘बाढीले गर्दा हरेक वर्ष धानबालीलाई क्षति हुन थाल्यो,’ उनले भने, ‘त्यसैले यो वर्ष बर्खा लाग्न पहिल्यै धानको भकारी भर्ने गरी चैते धान लगाएको हुँ ।’ उनले दुई बिघामा चैते धान लगाएका छन् ।

भजनी थापापुरका गंगा चौधरीले पनि डेढ बिघा जग्गामा चैते धान रोपेका छन् । ‘पहिलो वर्ष भएकाले डेड बिघामा लगाएको छु,’ उनले भने, ‘बर्खे धानबालीजत्तिकै उत्पादन भए अर्को वर्ष पूरै १० बिघामा लगाउने योजना छ ।’ गत वर्ष बाढीले धानबाली बगाएर खाद्य संकट भोग्नुपरेका भजनी नगरपालिका अधिकांश परिवारले यो वर्ष चैते धान रोपेका छन् । जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत जनक बोहराका अनुसार जिल्लाका बाढी प्रभावित क्षेत्रका एक हजारभन्दा बढी किसानले यस वर्ष चैते धान लगाएका छन् ।

ज्ञान केन्द्रका अनुसार जिल्लाभरमा चैते धान १ हजार ५० हेक्टरमा क्षेत्रफलमा लगाइएको छ । जसमध्ये भजनी र जोशीपुरका अधिकांश किसान छन् । जिल्लाको स्थानीय काडा, मोहना, पथरियालगायतका नदीबाट उक्त क्षेत्र जहिले नै डुबान र कटान हुँदै आएको छ । स्थानीय किसान गंगाराम पनि चैते धान भित्र्याउने तयारीमा छन् । चैते धान भित्र्याएर साउन पहिलो साता बर्खे धान पनि रोप्न भ्याउने बताए । ‘उसै पनि बाढीको समस्याले ढिलै रोपाइँ हुन्थ्यो,’ उनले भने, ‘साउन पहिलो सातामा बर्खे धान रोप्न सकेमा असोजमा अर्को बाली भित्र्याउन सकिन्छ ।’ उनले असोजमा तोरी लगाएर मंसिरमा गहुँ र आलु लगाउन सकियो भने चार वटा बाली भित्र्याउन सकिने बताए । भजनी–८ सोनाहाफाँटाकी कृष्णा चौधरीको परिवारलाई चैते धान नलगाउँदा वर्षभरि खान धान अभाव हुन्थ्यो ।

चैते धानखेती सुरु गरेपछि भने वर्षभरि परिवारलाई खानलाई पुगेको छ । वर्षे धान सालसालै बाढीले बगाइदिने तथा बाढी खेतमा पसेर पुरिदिनाले वर्षभरिलाई खान समस्या हुने गरेकोमा चैते धान लाउन थालेपछि अब त्यस्तो समस्या नरहेको कृष्णाले सुनाइन् । ‘करिब ७ वर्षदेखि चैते धान लगाउन थालेका हौं । चैत धानले नै हामीले पेट भर्न पाएका छौं,’ उनले भनिन्, ‘वर्षे धान त पानीले लगाउनै सकिन्न । अलि उच्चो ठाउँमा मात्र लाउछौं । गत वर्ष त उच्चो ठाउँकै पनि एक दाना भित्र्याउन पाएनौं ।’ वर्षे धानको भर पर्दा बाली भित्र्याउने बेलासम्म बाढीले बगाइदिने स्थानीय बताउँछन् ।

कैलालीको पूर्वी तथा दक्षिणी भेगमा पर्ने भजनीलगायतका क्षेत्रमा बर्सेनि बाढीले धानखेती प्रभावित हुने गरेको छ । स्थानीय जयप्रसाद ढुंगानाले पनि विगत ३ वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । करिब साढे २ बिघामा यो वर्ष चैते धान लगाएको उनले सुनाए । ६ जनाको परिवारलाई वर्षभरि खानलाई राखेर पनि गत वर्ष सवा एक लाखको चैते धान बिक्री गरेको उनले सुनाए । उनले भने, ‘वर्षे धान हुन्न । लगानीमात्र खेर जान्छ ।’

बाढी प्रभावित क्षेत्रका किसान विकल्पमा चैते धान लाउन थालेका हुन् । थारू समुदायमा रोटी खाने चलन नरहेको र बिहान, दिउँसो र साँझ भातकै जोहो गर्नुपर्ने भएकाले धान नभई नहुने हुन्छ । बाढी प्रभावित गाउँका बासिन्दा चैते धानले वर्षभरि भात खान पाइनेमा ढुक्क छन् ।

‘वर्षामा खेत त पूरै समुद्र जस्तो हुन्छ धान हुने कुरै भएन । चैते धान खेती सुरु गरेपछि अहिले भात खानलाई कुनै समस्या हुन्न,’ कृष्णाले भनिन् । बाढी प्रभावित क्षेत्रका किसानलाई चैते धानमा स्थानीय तथा प्रदेश सरकारले पनि अनुदान दिँदै आएको छ । भजनी नगरपालिकाले मेयर नमुना कृषि कार्यक्रम सञ्चालन गरेको र मुख्यमन्त्री चैते धान ब्लक कार्यक्रम पनि सञ्चालन गरिएको जनाएको छ । किसानलाई धानको बीउ तथा पानी मोटर, पावर टिलरलगायतका कृषि यन्त्र अनुदानमा दिने गरेको छ ।

भजनी नगरपालिकामा करिब ४ सय बिघा क्षेत्रफलमा यो वर्ष चैते धानखेती गरिएको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कमान्ड एरियामा पनि चैते धान खेती सुरु भएको छ । सिँचाइको सुविधा भएपछि किसान चैते धान खेतीमा लागेका हुन् । चैते धान खेती गरेका किसानलाई यतिबेला धान भित्र्याउन चटारो छ । वर्षाभन्दा पहिला भित्र्याउनुपर्ने भएकाले अहिले धान भित्र्याउन निकै चटारो परेको हो । चैते धान खेती गरेका किसान इन्द्र धमालाले भने, ‘धान भित्र्याउने समय हो । पानी पर्न सुरु भइसकेकाले गाह्रो भइरहेको छ ।’

प्रकाशित : असार ३, २०७८ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?