रारा वरिपरि स्याउ खेती
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
मुगु — पर्यटकीय गन्तव्य रारा निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रका स्थानीयले स्याउ खेतीमा जोड दिएका छन् । छायाँनाथ रारा नगरपालिका–३ तलितुम, माथितुम, सायाँखोला र हेर्नीकाँध गाउँमा स्थायी रुपमा बसोबास गर्दै आएका स्थानीयले बाँझो तथा भोक चलन गर्दै आएको जग्गामा धमाधम स्याउ खेती थालिएको छ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![रारा वरिपरि स्याउ खेती](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/mugu-apple-photo-1-1-1032024110120-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
समुद्री सतहदेखि २९ सय २९ मिटर उचाइमा पर्ने रारा तालदेखि तलका गाउँ बस्तीका सर्वसाधारणले अन्य बाली छोडेर स्याउ खेतीमा रमाउन थालेका छन् । रारा घुमफिर गर्न आउन स्वदेशी तथा बिदेशी मुलुका पर्यटकलाई झन् आकर्षित बनाउने उदेश्यले स्थानीयले स्याउ खेतीलाई प्राथमिता दिएका छन् ।
छायाँनाथ रारा नगरपालिका–१ का जयबहादुर मल्लले लामाचौरमा ६ हेक्टर बाँझो जमिन खनेर १८ सय बोट स्याउका बोट रोपेका छन् । 'गाउँबाट रारा ताल पुग्न एक घण्टा समय लाग्छ । स्याउ खेतीले यहाँ आउने पर्यटकलाई थप आकर्षित गर्नेछ,' उनले भने ।
तलितुम गाउँका केही व्यक्ति र माथितुम गाउँका सबैजसो किसानले स्याउ खेती थालेको उनले बताए । मल्लका अनुसार स्याउ खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले सहयोग गरेको छ । बोट रोपेको करिव ३ वर्षभित्र दाना लाग्ने गरेका छन् ।
कार्कीबाडा, झापागार्ड, सायाँखोला र हेर्नीकाँध, घिमखोला गाउँका स्थानीयले पनि रारा ताल मुनिका जग्गामा स्याउ रोपेर फलाउन सुरु गरेका छन् । रारा वरिपरि मध्यवर्ती क्षेत्रका जग्गा जमिनमा रारा तालको पानीले बाहैमास सिंचित हुने र उक्त क्षेत्रमा बढी स्याउ फल्ने भएकोले स्थानीय आक्रर्षित भएका छन् ।
रारा घुम्न आउने पर्यटकले कोसेलीको रुपमा स्याउ किनेर लैजान सुविधा होस् भनेर मध्यवर्ती क्षेत्रको जग्गामा स्याउ खेती गरिएको नगरपालिका–३ माथितुम गाउँका कम्मरसिह खडकाले सुनाए । 'मोटर बाटो पुगेर रारा पर्यटक वृद्धि हुन थालेपछि स्याउ खेतीमा बढी जोड दिइएका छौँ,' उनले भने ।
रारा ताल नजिक रहेका गाउँ ताल्च, झयारी, पिना लगायत एक दर्जन गाउँका स्थानीयले पनि आफ्नो जग्गामा स्याउ रोपेर आम्दानी गर्न थालेका छन् । ताल्च गाउँका करिव २ सय भन्दा बढी स्थानीयले बारीमा स्याउ फलाउन थालिसकेका छन् । गाउँ नजिकै रहेको रारा बिमानस्थलले गर्दा स्याउ बेच्न सुविधा भएपछि स्थानीयले स्याउ खेतीमा जोड दिएका छन् । रारा घुम्न आउने पर्यटकले स्याउ किनेर लैजाने गरेपछि स्थानीयले स्याउ उत्पादनमा ध्यान दिन थालेका छन् ।
पर्यटकहरु गाउँमै पुगेर स्याउ किनेर लैजान थालेपछि स्थानीय आफ्नो पाखोबारी स्याउका बिरुवा रोप्नतर्फ उन्मुख भएका छन् । माथि रारा तल स्याउ खेती कति राम्रो नगरपालिका–३ का वडाअध्यक्ष नन्दबहादुर रावलले भने, 'रारा निकुञ्ज मध्यवर्ती क्षेत्रमा स्थानीयले स्याउ फलाउन जोड दिएका छन् ।'
रारा क्षेत्र वरिपरिका कार्कीबाडा, ताल्च, माथितुम, पिना, झयारी, झापागार्ड, मैतु, घिमखोला लगायत बस्तीका स्थानीयले मात्र बर्षेनl १२ मेट्रिक टन स्याउ उत्पादन गर्ने गरेका छन् । बारीमा उत्पादन भएको ५० प्रतिशत स्याउ जिल्लामै बिक्री हुने र ५० प्रतिशत स्याउ गाडीमा शहर लिएर बेच्ने गरेका छन् । जिल्लामा प्रति केजी ३५ रुपैयाँ र शहरमा प्रति केजी ६५रुपैयाँमा स्याउ बेच्न गरिएको किसानको भनाइ छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)