कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भूकम्प आउने हल्लाले रातभर जाग्राम

हल्ला फैलाउनेको खोजी जारी

जुम्ला, मुगु — भूकम्प आउन सक्ने भन्दै गलत हल्ला फैलिएपछि कर्णालीको मुगु, कालिकोट र जुम्लाबासी खुलामैदानमा रातभर जाग्राम बसेका छन् । उनीहरुले आफूलाई आवश्यक पर्ने सामान लिएर कठ्यांग्रिँदो चिसोमा खुला आकाशमुनि रात बिताएका हुन् ।

भूकम्प आउने हल्लाले रातभर जाग्राम

जुम्ला सदरमुकाम खलंगाको चोकचोकमा आगो बालेर सर्वसाधारण बसेका थिए । उनीहरुले कम्बल, महत्त्वपूर्ण सरसामान समेत आफैसँग लगेका थिए । गाउँगाउँमा पनि मानिसहरु बाहिर आगोबालेर बसेका थिए ।

मध्यरातपछि बुढाबुढी,केटाकेटीलाई समेत घर बाहिर निकालेर राखिएको देख्न पाइन्थ्यो । मस्त निद्रामा रहेकाहरु पनि आफन्तले फोन गरेर सुरक्षित स्थानतिर बस्न आग्रह गरेपछि खुलामैदानमै आएका थिए ।

पहिलो पटक राति १ बजे भूकम्प आउने हल्ला फैलियो । त्यसपछि ३ देखि ४ बजे सम्म भूकम्प आउने हल्ला थियो । अन्तिममा ५ बजेर १२ मिनेटमा ठूलो रेक्टर स्केलको भूकम्प आउने हल्ला फैलिएपछि कर्णालीका नागरिक त्रासित बनेका थिए । राति १२ बजे देखि नै खुला आकाशमा बसेका मानिस बिहान ६ बजेतिर मात्रै घरभित्र प्रवेश गरेका थिए ।

मानिसहरु भूकम्प आउने त्रासले घरबाहिर खुला मैदानमा बसेको देखेपछि स्थानीय प्रशासनले भूकम्पको भ्रम फैलाउने व्यक्तिको अनुसन्धान सुरु गरेको जनाएको छ । तर को व्यक्ति,कहाँबाट, कसरी हल्ला फैलाउन थालियो भन्ने पत्ता लागिसकेको छैन ।

जुम्लाको माइनस डिग्रीको चिसोमा मानिसिहरु एकाएक घरबाहिर निस्कनुले उनीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने देखिएको छ । केहीले भूकम्प आउने कुरा हल्ला भएको भन्दै भ्रममा नपर्न आग्रह गरिरहेका थिए । तर धेरैजसो नागरिक इन्टरनेटको पहुँचमा नभएकोले जानकारी पाउन सकेनन् । उनीहरुलाई भ्रमपूर्ण सूचनाबाट मुक्त रहने अवसर नै प्राप्त भएन । सबै नागरिक घरबाहिर निस्केपछि भूकम्प सम्बन्धि जानकार भएका व्यक्तिहरु पनि बाहिर निस्कन बाध्य भएका थिए ।

भूकम्प आउने हल्ला फैलाउनेलाई कारबाही हुनुपर्ने माग जुम्लाबासीको छ । स्थानीय खड्कबहादुर खत्रीले अनावश्यक आधारहीन भ्रम छरेर नागरिकलाई दुःख दिने जो सुकैलाई कारबाही गर्नुपर्ने माग गरे ।

उनले भने, ‘भूकम्प कसैलाई सोधेर, टेलिफोन गरेर आउने भइदिएको भए संसारमा किन यति धेरै क्षति हुन्थ्यो । यो भूकम्पको भ्रम छरेर कर्णालीबासीलाई दुःख दिनेलाई प्रहरी प्रशासनले खोजेर हदैसम्मको कारबाही गर्नुपर्छ भन्ने माग कर्णालीबासीको छ ।’

भूकम्प आउने भन्दै नागरिक घरबाहिर निस्कन थालेपछि प्रहरी प्रशासनलाई टेलिफोन गरेर जानकारी लिने बढेका थिए । स्थानीय प्रशासनले यो हल्ला निराधार भएको भन्दै ढुक्कसँग बस्न आग्रह गरेको थियो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले रातभर फोन आएर हैरानी खेप्नु परेको बताए । उनले भने, ‘जताततैबाट टेलिफोन आइरहेका छन् । कसलाई सम्झाइ सक्नु !’ उनका अनुसार नागरिकलाई गलत अफवाह फैलाएर दुःख दिनेलाई खोजी कार्य सुरु भएको छ । भेटिनेवित्तिकै कारवाही गरिने प्रमुख जिल्ला अधिकारी केसरीले बताए ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपत व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले भूकम्प आउने पूर्व अनुमान पहिलेनै गर्न नसकिने भएकोले हल्लाको पछाडि दौडनु पर्ने अवस्था नरहेको बताए । उनले यो हल्ला फैलाउने व्यक्तिलाई खोजेर कारवाही गर्न माग गरे ।

जुम्लाका प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले वाहियात हल्ला फिँजाएर दुःख दिने व्यक्तिको खोजी भइरहेको बताए । उनका अनुसार मुगु प्रहरीसँग समन्वय हरेर खोजीकार्य सुरु भएको हो । कहाँबाट आएको हो कुरा, कसले भनेको हो, सुक्ष्म अध्ययन हुने उनले बताए । उनले भने, ‘हामी खोज्दैछौं । अनुसन्धान हुन्छ ।’

यस्तै मुगुमा पनि मध्यरातमा भूकम्प आउने गलत हल्लाले गर्दा स्थानीय घर छोडेर रातभर चौर तथा सडकहरुमा जाग्राम बसेका छन् ।


गमगढी, बजार क्षेत्रका स्थानीय तल महाकाली चौरमा गएर आगो बालेर रात कटाएका छन् भने श्रीनगर, चैन, भामबाडा, ढुम, छत्यालबाडा, तलितुम लगायत बस्तीका स्थानीय घर छोडेर बाहिर खेतबारीमा आएर जाग्राम बसेको नेपाली कांग्रेस पार्टी सचिव लोकेन्द्र मल्लले बताए ।

प्रकाशित : माघ १६, २०७९ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?