कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस अधिवेशन : वडा सभापतिमा दलित र महिला शून्य

मुगु/हुम्ला — कर्णालीका हिमाली जिल्लाहरू मुगु र हुम्लामा कांग्रेसको वडा सभापतिमा दलित र महिला शून्य भएका छन् । दलित र महिलाहरू आरक्षण कोटामा मात्र सीमित भएका हुन् । 

कांग्रेस अधिवेशन : वडा सभापतिमा दलित र महिला शून्य

मुगुका ४ स्थानीय तहमध्ये ४५ वडामा कांग्रेसले वडा अधिवेशन सम्पन्न गरेको छ । वडा सभापति पदमा दलितले प्राथमिकता नपाएको दलित अधिकारकर्मी भीम तिरुवाले बताए । ‘दलितलाई आरक्षणमै सीमित राख्न खोजियो,’ उनले भने, ‘क्षमता भएका दलित र महिलाहरू पनि पछि परे ।’ उनले राजनीतिक दलहरूले लक्षित वर्गलाई नेतृत्वमा ल्याउन पहल नगरेको आरोप लगाए ।

यस पटकको कांग्रेस अधिवेशनमा युवाहरूको भने आकर्षण देखिएको छ । अधिवेशन सम्पन्न भएका ४५ वटै वडामा युवाको संख्या उल्लेख्य देखिएको स्थानीय अगुवा कमल शाहीले बताए । ‘धेरै वर्षपछि स्थानीय तहको निर्वाचन हुँदा पनि युवाहरूले राजनीतिमा आफ्नो उपस्थिति जनाउन खोजेका छन्,’ उनले भने, ‘राजनीतिमा पुस्तान्तरण हुनु नमुना काम हो ।’

सोरु गाउँपालिका–४ मा २२ वर्षीया रिता देवकोटा कांग्रेसको वडा उपसभापति बनेकी छन् । यसै वर्ष क्रियाशील सदस्यता लिएकी उनी वडा अधिवेशनमा निर्विरोध निर्वाचित भएकी हुन् । ‘सबै विषय राजनीतिसँग जोडिने भएकाले पार्टी राजनीतिमा आएकी हुँ,’ उनले भनिन्, ‘अब समाज सेवासँगै राजनीतिलाई निरन्तरता दिन्छु ।’ सोरु गाउँपालिका–२ मा पनि ३० वर्षीय पदम शाही वडा सभापति निर्वाचित भएका छन् । राजनीतिमा पुस्तान्तरण जरुरी रहेकाले अधिकांश युवाले राजनीति रोजेको उनको भनाइ छ ।

क्षेत्रीय प्रतिनिधिमा छनोट भएका युवाले गाउँ/नगरपालिकाको सभापति र अन्य पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन् । आइतबार हुने गाउँपालिका र नगर अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने युवाहरूको संख्या बढ्दै गएको जिल्ला उपसभापति खगेन्द्र मल्लले बताए । ‘लामो समयपछि नेतृत्व चयनको प्रक्रिया भएकाले पनि युवाको आकर्षण देखिएको छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा पनि युवाले आफ्नो सहभागिता खोजे ।’

यसैबीच, बिहीबार सम्पन्न भएको कांग्रेस अधिवेशनमा वडा सभापतिको संख्या शून्य देखिएको छ । यस पटकको अधिवेशनमा युवाको संख्या उल्लेख्य भए पनि महिलाहरू वडा सभापति बन्ने अवसर पाएनन् । वडा अधिवेशनमा कुनै पनि महिलाले वडा सभापतिमा दाबी नगरेको जिल्ला सभापति जयपति रोकायले बताए । उनका अनुसार अधिकांश वडामा झन्डै ५० प्रतिशत युवा निर्वाचित भएका छन् । ‘युवाहरूको आकर्षण एकाएक बढेको पाइयो,’ उनले भने, ‘निर्वाचित भएका अधिकांश युवाहरू १८ देखि ४० वर्षका छन् ।’

प्रकाशित : भाद्र २७, २०७८ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?