कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमा अझै पुगेन चामल

रुकुम पश्चिम/मुगु — डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङमा गत वर्ष मंसिरमा ठेक्का लागेको चामल अझै पुगेको छैन । ठेक्का सम्झौता भएको ६ महिना पूरा भइसक्दा पनि चामल नपुगेपछि स्थानीयवासी खाद्यान्न अभावको समस्या भोग्न बाध्य छन् ।

गाउँमा अझै पुगेन चामल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत वर्ष साल्दाङका लागि १ हजार ५ सय क्विन्टल चामलको कोटा तोकेको थियो । खाद्यान्न ढुवानीको ठेक्का लिएको बाँकेको दिनेश ढुवानी सेवाको लापरबाहीले साल्दाङमा ६ सय क्विन्टल चामल मात्र पुगेको छ । उक्त कम्पनीले उपल्लो छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीको ठेक्का लिएको थियो । अरू दुई स्थानीय तहको चामल भने कम्पनीले पुर्‍याएको छ ।

गत वर्षकै ठेक्काबाट छार्काताङसोङको ढारगाउँमा ७ सय र डोल्पोबुद्धको धोमा ८ सय ७५ क्विन्टल चामल पुगेर वितरण भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । ‘केही समय चिसो र हिउँले ढुवानीमा समस्या बनायो,’ कम्पनीका डोल्पा शाखा प्रमुख कमलराज पाण्डेले भने, ‘छिटो चामल ढुवानी गर्न कम्पनीलाई ताकेता गरिरहेका छौं ।’ उनका अनुसार माथिल्लो डोल्पा पुर्‍याउनुपर्ने केही चामल दुनै आइपुगेको छ । केही चामल सुर्खेतबाट डोल्पा पुग्ने बाटोमा छ ।

माथिल्लो डोल्पामा अनुदानको चामल पुगेपछि स्थानीयले सस्तो मूल्यमा चामल पाएका छन् । स्थानीयले यसअघि स्थानीयलाई प्रतिक्विन्टल २० हजार रुपैयाँ तिरेर बजारको चामल किन्नुपर्ने बाध्यता थियो । कम्पनीले जिरा मसिनो चामल ७ हजार र सोना चामल ५ हजार ६ सय रुपैयाँमा उपलब्ध गराइरहेको शाखा प्रमुख पाण्डेले बताए ।

कोटाअनुसार चामल नपुग्दा गाउँमा खाद्यान्न समस्या भएको शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष टसितुन्डुप गुरुङले बताए । समयमै चामल नपुगेको बताए । ‘पुगेको चामल सबै वितरण भयो,’ उनले भने, ‘थप चामल आएन ।’ उनका अनुसार कोरोना महामारीका कारण चीनले नाका बन्द गरेपछि माथिल्लो डोल्पामा दुई वर्षदेखि चामल पुग्न सकेको थिएन । विगत वर्षहरूमा चीन हुँदै चामल माथिल्लो डोल्पा पठाइन्थ्यो । यो वर्ष सदरमुकाम दुनै हुँदै चामल ढुवानी गरिएको हो ।

खाद्यान्न जुटाउने चटारो

मुगुको छायानाथ रारा नगरपालिका–१३ की जनसरा विक बुधबार घरबाट डेढ घण्टा हिँडेर खाद्यान्न लिन गमगढी पुगिन् । कोरोनाको त्रासका कारण गमगढी बजार बन्द हुने हल्ला भएपछि उनलाई खाद्यान्न जुटाउने हतार भएको हो । ‘बजार बन्द भए के खाने ?’ उनले भनिन्, ‘रोगभन्दा भोकले मरिन्छ कि भन्ने चिन्ता छ ।’

उनी मात्र होइन, जिल्लाका ग्रामीण क्षेत्रबाट खाद्यान्न खरिद गर्न गमगढी आउनेको घुइँचो छ । खडेरीका कारण जौं–गहुँको उत्पादन राम्रो नभएपछि सदरमुकाम आएर खाद्यान्न किन्नेको भीड लागेको हो । ‘एकातिर कोरोनाको डर, अर्कोतिर पेट पाल्ने चिन्ता,’ २५ किलो चामल लिन सदरमुकाम आएका सोभागाउँका सुरबहादुर सावतले भने, ‘रोगसँगै भोकको त्रास हुन थाल्यो ।’

खाद्य व्यापार कम्पनी लिमिटेडका अनुसार अहिले गमगढी गोदामबाट दैनिक ९० जनासम्मले चामल खरिद गरिरहेका छन् । ‘भीड निकै बढ्यो, दैनिक ८० क्विन्टलसम्म चामल बिक्री भइरहेको छ,’ कम्पनीका सूचना अधिकारी पुष्कर भामले भने, ‘कोरोना संक्रमण फैलन नदिन भौतिक दूरी कायम गरी खाद्यान्न वितरण गरिरहेका छौं ।’ उनका अनुसार गोदाममा अहिले २ हजार ४ सय क्विन्टल खाद्यान्न मौज्दात छ । यो साता नेपालगन्ज र बर्दियाको राजापुरबाट तीन ट्रक चामल गमगढी ल्याइएको कम्पनीले जनाएको छ ।

हतारमा गहुँ–जौ टिप्दै किसान

कोरोना महामारी बढ्न थालेपछि मुगुका किसानले हतारमा गहुँ–जौ भित्र्याउन थालेका छन् । कोरोना संक्रमण बढे अन्नबाली भित्र्याउन समस्या हुने भन्दै किसानले गहुँ–जौ टिप्न थालेका हुन् । बाली राम्ररी नपाके पनि टिप्ने हतार भएको कार्कीबाडाका राजबहादुर रावलले बताए । उनका अनुसार विगत वर्षमा मुगुमा जेठ पहिलो साता अन्नबाली भित्र्याइन्थ्यो । ‘असिना र हावाहुरीले पाक्न लागेको बाली नष्ट गर्ने त्रास भयो,’ उनले भने, ‘गाउँमा कोरोना फैलिए बाली भित्र्याउन समस्या हुने देखियो ।’ उनका अनुसार छायानाथ नगरपालिकाको श्रीनगर, कार्कीबाडा, चैतलगायत गाउँमा किसानलाई अन्नबाली भित्र्याउने चटारो छ ।

प्रकाशित : वैशाख २४, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?