कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एसईई : चार विद्यालयको नतिजा शून्य

पाल्पामा ३० प्रतिशत विद्यार्थी उत्तीर्ण
माधव अर्याल

पाल्पा — २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पाल्पाका चार विद्यालयको नतिजा शून्य भएको छ । रिब्दीकोट गाउँपालिकास्थ्ति देउरालीको आदर्श मावि लघुवा र खस्यौलीको सरस्वती माविको नतिजा शून्य आएको हो । यसैगरी रामपुर नगरपालिका ४ स्थित कालिका माविको नतिजा पनि शून्य छ ।

एसईई : चार विद्यालयको नतिजा शून्य

त्यस्तै तिनाउ गाउँपालिकाको थानीडाँडा मावि दोभानको नतिजा पनि शून्य भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले बताए । आदर्शबाट ६ जना, सरस्वती माविबाट १४ जना, कालिका माविबाट ४ र थानीडाँडा माविबाट २३ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षामा सहभागी थिए ।

एसईई परीक्षामा पाल्पाका दुई विद्यार्थीले जिपिए४ प्राप्त गर्न सफल भएका छन् । तानसेन नगरपालिकास्थित जनता नमुना मावि र रामपुर नगरपालिकास्थित दरैठाँटी माविका एक/एक विद्यार्थीले ४ जिपिए ल्याएका हुन् । जनता माविका उत्सव ढुङ्गाना र दरैठाँटी मावि रामपुरकी पूर्णिमा कुँवरले चार जिपिए ल्याएर उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख सुवेदीले बताए । दुबै जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी हुन् ।

२०८० चैत महिनामा भएको परीक्षामा चार हजार १ सय ८२ जना सहभागी भएका थिए । तीमध्ये एक हजार १ सय १७ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण भएकामध्ये १ सय ५ जना विद्यार्थी ३.६ देखि चार जिपिए ल्याएका छन् । २ सय ८२ जना विद्यार्थीले ३.२ देखि ३.६ जिपिए, ४ सय ३७ जनाले २.८ देखि ३.२ जिपिए, २ सय ८१ जना विद्यार्थीले २.४ देखि २.८ जिपिए ल्याएका छन् । यस्तै २ देखि २.४ जिपिए ल्याउने १२ जना विद्यार्थी रहेको इकाईले जनाएको छ ।

जिल्लाका कुल चार हजार १ सय ८२ जना मध्इे दुई हजार ६ सय १० जना ननग्रेड (एनजी) भएका छन् । सामुदायिक विद्यालयको प्राविधिक धारबाहेक २७ प्रतिशत र प्राविधिक धारसमेत ३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

तानसेनका दुई विद्यालयले एसईई नतिजा राम्रो ल्याएपछि शुक्रबार खुसीयाली मनाए । जनता माध्यमिक विद्यालय (जेभिटी) र देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयले एसईईमा उतीर्ण विद्यार्थी, अभिावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, विद्यालयका अन्य विद्यार्थीसहित पञ्चे बाजागाजाको साथमा नाच्दै नगर परिक्रमा गरेका हुन् ।

जनता माध्यमिक विद्यालयले ४ जिपिएसहित ६७ जना विद्यार्थीहरु एसईई नतिजामा पास भएको जनाएको छ । ४ि जिपिएसहित ६७ जना विद्यार्थी उतीर्ण गराएर लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा हासिल गरेको दावी विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरेले गरेका छन् । देववाणी माविले ५० जना भन्दा माथि विद्यार्थी एसईईमा सहभागी गराएर ४४ जना उतीर्ण गराएको छ ।

उसले जिल्लामै सामुदायिक विद्यालयमा पहिलो भएको दावी प्रधानाध्यापक कृष्ण बहादुर थापाको छ । विद्यालयमा पढ्ने र पढाउने वातावरण भएकाले नै उत्कृष्ट नतिजा हासिल गरेको जनता माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी पोखरेलले बताए । पछिल्लो तीन वर्ष जनता माविले एसईई तथा कक्षा १२ को नतिजा राम्रो ल्याएको छ ।

प्रकाशित : असार १५, २०८१ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×