२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

यादव फकाउन लुम्बिनीका मुख्यमन्त्री महरा काठमाडौंमा

३ सांसद रहेको जसपालाई २ मन्त्रालय दिनु अव्यावहारिक : प्रवक्ता पुन

देउखुरी (दाङ) — जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्थामन्त्री भएका भण्डारीलाल अहिरले राजीनामा दिएपछि लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट्न काठमाडौं गएका छन् । मुख्यमन्त्रीले ७ बुँदे लिखित सहमति पालना नगरेको भन्दै आइतबार मन्त्री पदबाट राजीनामा दिएका थिए । 

यादव फकाउन लुम्बिनीका मुख्यमन्त्री महरा काठमाडौंमा

सरकारका प्रवक्ता एवं स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन मगरले लुम्बिनीमा ४ सांसद रहेको नाउपालाई १ र ३ सांसद रहेको जसपालाई २ मन्त्रालय दिनु अलि अव्यावहारिक हुने बताए । उनले अहिरले हतारोमा राजीनामा दिएपछि मुख्यमन्त्री महराले जसपा केन्द्रीय अध्यक्ष यादवसहित प्रधानमन्त्री र सत्ता गठबन्धन दलका शीर्ष नेतालाई भेटघाट गरेर लुम्बिनीको समस्या हल गर्न काठमाडौं गएको बताए । उनले राजीनामा दिनु राम्रो सन्देश नभएको बताए ।

'एउटा भएपनि हुन्छ भनेर मुख्यमन्त्रीले मन्त्रालयको जिम्मेवारी तोक्नुभएको र मुख्यमन्त्री फर्केर नआउँदै राजीनामा दिनु राम्रो भएन,’ उनले भने, ‘डिल्ली चौधरीको पालामा एउटा मन्त्रालय लिएर सरकारमा सहभागी थिए । जोखबहादुर महरा आउँदा दुई/दुई जना मन्त्रालय कसरी हुने भो र ? यो पनि छलफलको विषय हो, राजीनामा दिएर कमजोरी गरे ।’

त्यतिबेला सरकार ढाल्न ४४ पुर्‍याउन ७ बुँदे सहमति गरेर जसपालाई दुई मन्त्रालय दिएर प्रदेश प्रमुखकहाँ ४४ सांसदको हस्ताक्षर बुझाएको एकघण्टापछि नाउपाले हामी पनि तपाइहरुसँगै छौं भनेर प्रदेश प्रमुखकहाँ समर्थनपत्र बुझाएर आएपछि ४ सांसद रहेको नाउपालाई १ र ३ सांसद रहेको पाटीलाई २ मन्त्रालय दिन अलि अव्यावहारिक जस्तो हुने प्रवक्ता पुनले बताए ।

अहिले जसपा र उन्मुक्तिलाई एक/एक मन्त्रालय दिएर अगाडि जाने र बाँकी कुरा छलफल चलाएर मन्त्रालय विस्तार गर्ने भन्ने सल्लाह भएकोमा हतारिएर राजीनामा आएको उनको टिप्पणी छ ।

‘२९ जना सांसद रहेको एमालेले ५ मन्त्रीमा चित्त बुझाएको छ,’ पुनले भने, ‘एमालेको ५ बाट ४ मा माओवादीको ३ बाट दुई मा झार्ने र हाम्रो बढाउनुपर्छ भन्ने उनीहरुको तर्क मिल्दो तर्क भएन । मुख्यमन्त्री काठमाडौं हुनुहुन्छ, केन्द्रबाट केही निर्देशन (उहाँहरुलाई) आउँछ होला ।’

आइतबार सत्तापक्ष दल जसपाबाट कृषि तथा भूमि व्यवस्थामन्त्री अहिरले मुख्यमन्त्रीले सहमति पालना नगरेको भन्दै राजीनामा दिएका थिए । लुम्बिनीमा आफ्नो नेतृत्वमा सरकार बनाउन ३ सांसद रहेको जसपालाई नाम तोकेरै २ वटा मन्त्रालय दिने ७ बुँदे सहमति गरेर ४४ सांसदको बहुमत पुर्‍याएर चैत २३ गते मुख्यमन्त्रीमा महरा नियुक्त भएका थिए । चैत २५ गते जसपाका अहिर सहित एमालेबाट दल उपनेता चेतनारायण आचार्य र माओवादीबाट दीपेन्द्र पुन मगरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नुअघि अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, आचार्यलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय र पुनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकेका थिए । ७ बुँदे सहमतिमा अर्को पर्यटन तथा सहरी विकास मन्त्रालय दिने उल्लेख छ ।

महराले एमालेबाट गुल्मी निर्वाचन क्षेत्र २ (२) का सांसद दिनेश पन्थी, कपिलवस्तु निर्वाचन ३ (१) का सांसद अर्जुन कुमार केसी, रुपन्देही निर्वाचन क्षेत्र ५ (१) का सांसद भूमीश्वर ढकाल र बाँके निर्वाचन क्षेत्र ३ (१) का सांसद रत्नबहादुर खत्री विनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट दल नेता बर्दिया निर्वाचन क्षेत्र २ (२) सांसद धर्मबहादुर चौधरी र नेकपा एसकी रुपन्देहीकी भगवती अधिकारी र नवलपरासीका निर्वाचन क्षेत्र २ (१) का स्वतन्त्र सांसद खड्क बस्नेत पनि विनाविभागीय मन्त्री बनेका छन् ।

लुम्बिनी प्रदेश सभामा ८७ सांसद मध्ये एक निलम्बनमा परेपछि ८६ सांसद संख्या छ । आवश्यक बहुमतको लागि ४४ चाहिन्छ । १० सांसद रहेको माओवादी दल नेता महरालाई एमालेका २९, नाउपा ४, जसपा ३, नेकपा एस १ र स्वतन्त्र १ गरी ४८ सांसदको समर्थन छ । जसपा सरकारबाट बाहिरिए पनि तत्काल समर्थन फिर्ता नलिने बताएको छ । जसपाले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री महराको पक्षमा ४५ सांसदको समर्थन रहन्छ । नाउपाले पनि २ मन्त्री मागेको छ ।

प्रकाशित : वैशाख १०, २०८१ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?