२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

कपिलवस्तु : खुला संग्रहालय

एक दशकभन्दा बढी समयदेखि स्वदेशी र विदेशी विज्ञद्वारा भइरहेको अध्ययन–अन्वेषणले पुरातात्त्विक स्थल तिलौराकोटको ऐतिहासिकता पुष्टि भएको छ
मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र प्राकृतिक स्थलको खुला संग्रहालयका रूपमा रहेको छ । जिल्लामा १ सय ३६ वटा ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक स्थल छन् । धेरै बुद्धस्थल गर्भमै छन् । पत्ता लागेका मध्ये केही अतिक्रमणमा परेका छन् । वि.सं. २०१९ मा कपिलवस्तु संग्रहालयको स्थापना भयो । त्यतिले जिल्ला समेट्दैन । 

कपिलवस्तु : खुला संग्रहालय

राजकुमार सिद्धार्थले कपिलवस्तुमा जीवनका २९ वर्ष बिताए । तिलौराकोट महाराज शुद्धोदनको राजप्रासाद हो । राजकुमार सिद्धार्थलाई बुद्धत्व प्राप्तिका लागि गतिलो ऊर्जा कपिलवस्तुले प्रदान गरेको बताइन्छ । जन्मस्थल लुम्बिनी आएर मात्र बुद्धबारे जानकारी पर्याप्त हुँदैन । उनी हुर्केबढेको र खेलेको ठाउँ पुग्नु पर्छ । कपिलवस्तुमा बुद्ध हुर्केबढेदेखि ज्ञान प्राप्त गरेपछि पहिलो पटक आमाबुबालाई भेटघाट गरेको ठाउँसम्म रहेको छ ।

शाक्यवंशीय राजधानी तिलौराकोट यहीं छ । यहाँ राजा शुद्धोदनको राजप्रासाद छ । हरियाली र सुन्दर बगैंचा छन् । यहाँ विभिन्न समयमा गरिएका उत्खननबाट चार भग्नावशेष स्पष्ट रूपमा देखिन्छन् । पश्चिमी, पूर्वी द्वार र राजप्रासादका भग्नावशेष यहाँ रहेका छन् । त्यस्तै चार वर्षअघिदेखि सय मिटर वाई सय मिटरको प्रशासनिक भवनका भग्नावशेष पनि अस्तित्वमा छन् । तिलौराकोटमा ऐतिहासिक रूपाकृतिको सहर भेटिँदै गएको छ । एक दशकभन्दा बढी समयदेखि स्वदेशी र विदेशी विज्ञद्वारा भइरहेको अध्ययन–अन्वेषणले पुरातात्त्विक स्थल तिलौराकोटको ऐतिहासिकता पनि पुष्टि भएको छ ।

तिलौराकोटभित्र बुद्धकाल आसपासका बाटो, नाली, सुरक्षा किल्ला पर्खाल र मानव बस्ती फेला परेका छन् । ठाउँठाउँमा ठूलठूला भवनका संरचना, इनार र पोखरी पनि पाइएका छन् । चिनियाँ यात्रीले यात्रा विवरणमा उल्लेख गरेका धेरै कुरा उत्खननबाट पुष्टि भएको तिलौराकोट अध्ययन उत्खनन परियोजना सहनिर्देशक वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यले बताए ।

तिलौराकोटदेखि पूर्वमा कन्थक स्तूप छ । त्यहाँ राजकुमार सिद्धार्थ ज्ञान प्राप्तिका लागि राजदरबारबाट निस्केर जाँदा लिएर गएका घोडा कन्थक र सारथि छन्नलाई अनुमा नदीबाट फर्काइदिएपछि आउँदा उनको सम्झनामा घोडा मरेको मानिन्छ । त्यस्तै तिलौराकोट नजिक धमनिहवा स्तूप छ । त्यहाँ दुई स्तूप छन् । ठूलो राजा शुद्धोधन र सानो मायादेवीको सम्झनामा बनाइएको मानिन्छ । कनकमुनि र क्रकुच्छन्द बुद्धको जन्मस्थल निग्लिहवा र गोटिहवा पनि यहीं छ । ती स्थलमा भारतीय सम्राट् अशोक तीर्थाटन गर्न आउँदा स्तम्भ निर्माण गरेका थिए । जुन अहिले पनि देख्न सकिन्छ । कनकमुनि बुद्धको सहर अरौराकोट पनि यहीं छ । वर्गाकार ढिस्कोले चारैतिर घेरिएको सहर देख्दा विशाल देखिन्छ । तौलिहवा मर्यादपुर सडक खण्डअन्तर्गत कुदानस्थित निग्रोधाराम पनि बुद्धसँग सम्बन्धित स्थल हो । यहाँ राजकुमार सिद्धार्थले ज्ञान प्राप्त गरेपछि पहिलो पटक राजधानी कपिलवस्तु आउँदा आमाबाबुलाई भेटघाट गरेका थिए । छोरा राहुल भिक्षु बनेका थिए ।

सगरहवा शाक्यहरूको वधस्थल हो । सदरमुकाम तौलिहवाबाट ९ किमि उत्तर र पूर्व–पश्चिम राजमार्ग बनगाईबाट ७ किमि दक्षिणमा पर्छ । सगरहवामा कौशल नरेश बिढुरकले भीषण आक्रमण गरेका थिए । उनका बाबुलाई शाक्यहरूले झुक्याएर दासीपुत्रीसँग विवाह गरिदिएको थाहा पाएपछि उनी आक्रोशित बनेका थिए ।

कौशल नरेश बिढुरकको आक्रमणमा ९ हजार ९ सय ९० जना मरेको कुरा चिनियाँ यात्री ह्वेङ साङले आफ्नो यात्रा वर्णनमा उल्लेख गरेको वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले बताए । चिनियाँ यात्री ह्वेङले तिलौराकोटदेखि उत्तरमा रहेको सगरहवामा हजारौं स्तूप बनाइएको उल्लेख गरेका छन् । उक्त स्तूप शाक्य योद्धाको सम्झनामा बनाइएको यात्रा विवरणमा लेखेका छन् । सगरहवालाई सबैभन्दा पहिला पहिचान गर्ने काम जर्मन सर्भेयर डा. एए फहुररले गरेका थिए । सन् १८९५ मा निग्लिहवाको खोजीमा फुहरर आउँदा उनले सगरहवा पनि पुरातात्त्विक स्थल हो भनेर नोटिस गरिसकेका थिए । १८९७ मा सगरहवामा पहिलो पटक उत्खनन गरिएको थियो । ‘कपिलवस्तु खुला संग्रहालय हो,’ वरिष्ठ पुरातत्त्वविद् बिडारीले भने, ‘यहाँ शान्ति, सद्भाव, करुणा र मैंत्रीदेखि प्राकृतिक मनोरम आकर्षणको खानी छ । जति सोधखोज गरे पनि कम हुन्छ ।’

तौलिहवा–लुम्बिनी सडक खण्डको दोहनीमा पुरातात्त्विक महत्त्वको कोट छ । साढे ३ बिघामा रहेको दोहनी पनि महत्त्वपूर्ण पुरातात्त्विक स्थल हो । ‘चिनियाँ तीर्थयात्री ह्वेङ साङले तिलौराकोट वरिपरि १० वटा भग्नावशेषमा परिणत सहर देखेको कुरा गरेका छन्, त्यसमध्येको दोहनी पनि एउटा भएको अनुमान गरिएको छ,’ वरिष्ठ पुरातत्वविद् वसन्त बिडारी सम्झन्छन् ।

प्रकाशित : चैत्र १८, २०८० ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?