२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

नेपालगन्जमा पाठेघरको क्यान्सर परीक्षण सम्बन्धी शिविर

रुपा गहतराज

बाँके — नेपालगन्ज उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर सञ्चालन गरेको छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले वडाहरूमा शिविर सञ्चालन गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

नेपालगन्जमा पाठेघरको क्यान्सर परीक्षण सम्बन्धी शिविर

चालू आर्थिक वर्षमा ९ वटा वडामा शिविर सञ्चालन गर्ने तय गरेको उपमहानगरपालिकाले हालसम्म ५ वटा वडामा शिविर सम्पन्न गरेको छ । २, ९, १२, १५, १७, १९, २०, २१ र २२ नम्बर वडामा शिविर सञ्चालन गर्ने कार्य योजना बनेकोमा हालसम्म वडा नम्बर ९, १२, १७, १९ र २० मा शिविर सम्पन्न गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । चन्दका अनुसार विभिन्न संघसंस्थासँग सहकार्य गरेर शिविर सञ्चालन भइरहेका छन् । परीक्षण गराएकामध्ये वडा नम्बर १९ मा ६ जना, वडा नम्बर १७ मा ६ जना, वडा नम्बर २० मा ५ जना र वडा नम्बर ९ मा ३ जनाको क्यान्सर ‘पोजिटिभ’ देखिएको छ ।

यस्तै वडा नम्बर १७ स्थित परसपुर स्वास्थ्य चौकीमा निःशुल्क शिविर सम्पन्न गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा कान्ति हेल्थ लाइनको आयोजना एवम् नेपालगन्ज मेडिकल कलेजको समन्वयमा निःशुल्क शिविर गरिएको हो । शिविर शुभारम्भ गर्दै नगर प्रमुख प्रशान्त विष्टले पाठेघरको क्यान्सर महिलाहरुको ठूलो स्वास्थ्य समस्याका रुपमा देखिएकाले समस्या लुकाए गम्भीरता बढ्दै जाने बताउँदै नियमित जाँच गराउन आग्रह गरे ।

क्यान्सर हुनुअघि नै क्यान्सरको जोखिम पहिचान गर्न सके उपचारमा सहजता हुने भन्दै नगर प्रमुख विष्टले नगरवासीको सहजताका लागि ठाउँ ठाउँमा निःशुल्क शिविर सञ्चालन गरिरहेको बताए ।

स्वास्थ्य महाशाखा प्रमुख चन्दले समुदायमा पाठेघरको मुखको क्यान्सरको अवस्था पहिचान गर्न निःशुल्क शिविर आयोजना भइरहेकाले मौकाको लाभ लिन आग्रह गरे । चन्दले क्यान्सर ‘पोजिटिभ’ देखिएमा क्यान्सर अस्पतालमा रिफर गरी नेपाल सरकारले उपलब्ध गराएको उपचार खर्च प्रदान गरिने बताए ।

कान्ति आरोग्य अस्पतालकी निर्देशक डा. रोमा बोराले महिलाहरुले आफ्नो पाठेघरको अवस्थाका बारेमा बेला बेलामा जान्न जरुरी रहेको बताउँदै बढ्दो पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न नियमित परीक्षणमा जोड दिइन् ।

शिविरमा १८० जनाको पाठेघर परीक्षण गरिएको डा. बोराले बताइन् । तीमध्ये ६ जनामा क्यान्सर ‘पोजिटिभ’ र १३ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । सुशील कोइराला क्यान्सर अस्पतालका स्त्री क्यान्सर रोग विशेषज्ञ डा. इन्द्रनील घोष नेतृत्वको कान्ति आरोग्य अस्पतालको मेडिकल टोलीले शिविरमा पाठेघर परीक्षण गरेको हो ।

प्रकाशित : जेष्ठ २०, २०८० १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?