कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राति बिरामी बोक्न मान्दैनन् एम्बुलेन्स

प्यूठान — झिमरुक गाउँपालिका–६ मर्कावाङ लेखका दानबहादुर पुनमगर मंसिर २७ गते जिल्ला अस्पताल प्यूठान आए । टाउकोमा गम्भीर चोट लागेर उपचार गर्न आएका उनलाई अस्पतालले तत्काल बुटवल जान रिफर गर्‍यो । चिकित्सकको सल्लाहअनुसार उनलाई लैजान खोज्दा जिल्लामा सञ्चालित कुनै पनि एम्बुलेन्स बुटवल जान तयार भएनन् ।

राति बिरामी बोक्न मान्दैनन् एम्बुलेन्स

प्यूठानमा अहिले १२ वटा एम्बुलेन्स सञ्चालनमा छन् । तर, बिरामीका आफन्तदेखि अस्पतालका डाक्टर र कर्मचारीले प्रयास गर्दा पनि बुटवल जाने एम्बुलेन्स नभएपछि दुई घण्टापछि पिकअप गाडीमा बिरामीलाई लगिएको आफन्तले बताए । त्यतिबेला तीनवटा एम्बुलेन्स चालकले जिल्लाबाहिर रहेको बताए ।

अन्यले राति जान नसक्नेलगायत बहाना बनाएर पन्छिएको बिरामीका आफन्त धनबहादुर पुनमगरले बताए । ‘आफूले फोन गर्दा नभएपछि स्वास्थ्यकर्मीलाई भन्न लगायौं,’ उनले भने, ‘कसैले फोन उठाएनन्, कसैले के बहाना बनाए कसैले के !’ जिल्लामा सञ्चालित एम्बुलेन्स बिरामीको सेवाका लागि नभएको उनको गुनासो छ । ‘दिनभर आम्दानी कता हुन्छ भन्दै कुद्छन्,’ उनले भने, ‘रात परेपछि कसैलाई कसैको वास्ता छैन ।’ उनका अनुसार एम्बुलेन्स सञ्चालक संस्था र चालक यसप्रति जिम्मेवार नहुँदा बिरामीले सास्ती खेप्नुपरेको छ ।

जिल्ला अस्पताल प्यूठानका सूचना अधिकारी खिमप्रसाद पार्धेले मंसिर २८ गते राति एक जना बिरामीका लागि एम्बुलेन्स खोज्दा कसैले पनि जान नमानेको उल्लेख गर्दै सामाजिक सञ्जालमै असन्तुष्टि पोखेका छन् । ‘रातभरमा १२ वटालाई फोन गरें,’ उनले भने, ‘तर, कसैले जान मानेनन् ।’ नौवटा एम्बुलेन्स जिल्लामै रहँदा पनि कोही जान नमानेको उनले बताए ।

प्यूठानमा सञ्चालित एम्बुलेन्सले बिरामी बोक्न छोडेर अन्य यात्रु बोक्ने, चर्को शुल्क असुल्ने गरेको पनि आरोप लाग्दै आएको छ । एम्बुलेन्सलाई अनुगमन गर्ने संयन्त्र पनि एक वर्षदेखि गुमनाम छ । कुनै छलफल र गुनासो सुन्दैन । कोरोना महामारीको समयमा संक्रमित बिरामी बोक्न नमान्नेदेखि अहिले ठेक्का दिएर चलाउनेसम्मको काम जिल्लामा भइरहेको रेडक्रस सभापति गुमानराज पुलामीले बताए । ‘न एम्बुलेन्स चालक जिम्मेवार छन्,’ उनले भने, ‘न अनुगमन गर्ने संयन्त्र नै ।’ चालक नाफामुखी र सरोकारवाला निकाय गुमनाम हुँदा बिरामीले सधैं दुःख पाउनु परेको उनले बताए । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले एम्बुलेन्सको लापरबाही र गैरजिम्मेवारीबारे छलफल गर्ने बताए ।

प्रकाशित : पुस ९, २०७८ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?