गाउँमा व्यावसायिक खेतीको लहर- लुम्बिनी - कान्तिपुर समाचार

गाउँमा व्यावसायिक खेतीको लहर

गगनशिला खड्का

गुल्मी — उमेरले भर्खर २३ वर्ष पुग्दै गरेका कपिल ज्ञवालीको दैनिकी बारीमा फल्दै गरेका कृषिजन्य उपजको रेखदेखबाट सुरु हुन्छ । उनलाई सघाउन २८ वर्षीय दाजु कमल पनि बिहानै बारीमा पुग्छन् । गोलभेडा र भेडेखुर्सानी खेतीको गोडमेल गर्न पुग्छन् । भर्खरका यी दुई दाजुभाइ मिलेर गुल्मीको रुरु गाउँपालिका–४, जोर्तेपोखरामा लोभलाग्दो कृषि खेती गरिरहेका छन् ।

काठमाडौंको जनमैत्री कलेजबाट व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण कपिल दाजुभाइले गाउँ फर्केर व्यावसायिक कृषिमा रमाएको देखेर गाउँले छक्क परेका छन् । ज्ञवाली दाजुभाइले दाजुभाइ कृषि फर्ममार्फत ५२ रोपनी जग्गामा तरकारी खेती लगाइरहेका छन् ।

विगत चार वर्षदेखि व्यावसायिक खेती सुरु गरेका दाजुभाइले अहिले राम्रै आम्दानी गर्ने गरेको बताए । ‘चार वर्षअघि ३० लाख रुपैयाँ लगानी गरेका हौं,’ कपिलले भने, ‘अहिले सबै खर्च कटाए वार्षिक ४० लाख रुपैयाँजति नाफा हुन्छ ।’ होटल व्यवस्थापनमा प्रवीणता पत्र तह पूरा गरेका कमल केही समय वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेर फर्किएका हुन् ।

दुई सिजनमा तरकारी उत्पादन गर्ने ज्ञवाली दाजुभाइले एक सिजनमा सिमी–गोभी उत्पादन गर्छन्, अर्को सिजनमा टमाटर र क्याप्सीकमको उत्पादन गर्ने बताए । प्रविधिको उच्चतम् प्रयोग गरेर व्यावसायिक कृषि खेती गर्दा आफूले मिहिनेत गरे अनुसारकै प्रतिफल लिन सकिने कपिलले बताए । ‘पहिला प्रविधिका बारेमा खासै थाहा भएन,’ उनले भने, ‘अहिले पछिल्लो दुई वर्षमा भने प्रविधिको प्रयोग पनि गर्दै छौं ।’ आफूहरूजस्तो युवाले गाउँ फर्केर व्यावसायिक कृषि खेती गर्दा पनि राज्यका तर्फबाट भने कुनै सहयोग नपाएको उनीहरूको गुनासो छ । पहुँचका भरमा कृषिको अनुदान पाउने प्रवृत्तिका कारण पनि आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ ।

रुरु गाउँपालिका–६ रिमुवाका प्रेमबहादुर थापाले पनि तरकारी खेतीबाट वार्षिक रूपमा पाँच लाख आम्दानी गर्छन् । उनले तीन रोपनी जग्गामा तरकारी लगाएका छन् । ‘मैले तीन रोपनी जग्गामा सिमी, गोभी, आलु र मुला लगाएको छु,’ उनले भने, ‘तरकारी बेचेर वर्षमा पाँच लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।’ ६३ वर्षीय थापाले १० वर्षदेखि तरकारी खेती गरिरहेको बताए । आफैं बजार व्यवस्थापन गरेर रिडी, बलेटक्सार र बुटवललगायतका सहरमा तरकारी बिक्री गरिरहेका थापाले गाउँपालिकाले प्लास्टिक टनेल सहयोग गरेको बताए ।

रुरु गाउँपालिका–३ जिम्मालटोलका ५३ वर्षीय चोलानाथ ज्ञवालीले पनि वार्षिक ६ हजार लिटर खुदो बिक्री गर्छन् । उनी पनि १० वर्षदेखि खुदो उत्पादनमा छन् । ‘मेरा पुर्खादेखिकै पेसा हो,’ उनले भने, ‘मैले त्यसलाई व्यावसायिक बनाएको मात्र हुँ ।’ व्यावसायिक रूपमा खुदो र गुँढको बिक्री गरेरै ज्ञवालीले आफ्ना चार सन्तानलाई उच्च शिक्षा दिलाएका छन् ।

ज्ञवालीका तीन छोरीले बीबीए र छोराले व्यवस्थापनमा स्नातकोत्तर पूरा गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाका अनुसार वार्षिक रूपमा ६ करोड ४० लाख रुपैयाँ बराबरको कृषि उपज यहाँबाट निर्यात हुन्छ । गाउँपालिकाबाट वार्षिक रूपमा १ करोड ७५ लाख बराबरको दुध, २ करोडभन्दा बढीको गुँढ र खुदो, तरकारीबाट १ करोड, बाख्रापालनबाट १ करोड र अण्डा उत्पादनबाट ६२ लाख रुपैयाँ बराबरको कृषि उपज निर्यात हुने गरेको रुरु गाउँपालिकाका लेखा अधिकृत मनीष पाण्डेयले बताए ।

गाउँपालिकाले रुरुक्षेत्रभरिका तरकारी, फलफूल तथा खाद्यान्नबालीका २ सय ४१ जना व्यावसायिक कृषकलाई भिटामिन तथा विषादी वितरण गरेको रुरुक्षेत्र गाउँपालिकाका कृषिशाखा प्रमुख पवित्रा गौतमले बताइन् । उनका अनुसार गाउँपालिकाले अहिलेसम्म ४१ जना कृषकलाई १ सय १२ वटा प्लास्टिक टनेल, आठ जना कृषकलाई एक/एक थान स्प्रेयर, ३२ जना कृषकलाई मिनिटिलर, च्यापकटर र ह्याचारी मेसिन दुई जनालाई, कुटानीपिसानी मेसिन १६ जनालाई, पिसानी मिल ५ जनालाई वितरण गरेको बताइन् ।

प्रकाशित : पुस ६, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

विदेशमा नेपालीको गुमनाम मरण

अवैध रुपमा युरोप वा अमेरिका छिर्ने क्रममा विश्वका विभिन्न देशका कुनाकाप्चामा पुगेर दुर्घटनामा मर्ने वा घाइते हुने नेपालीबारे सरकार बेखबर 
अकाल मृत्युवरण गरेका नेपालीका परिवारले न्याय पाउनु त परैको कुरा अधिकांशको शवसमेत ल्याउन सकिएको छैन
जनकराज सापकोटा

काठमाडौँ — मंसिरको अन्तिम साता अवैध रूपमा अमेरिका छिर्न हिँडेका दाङका २१ वर्षीय एक युवाको पेरुमा मृत्यु भएको खबर आयो । ज्वरो आउने र रुघा लाग्ने जस्ता लक्षण देखिए पनि ढिला गरी अस्पतालमा भर्ना भएका उनको त्यहीं मृत्यु भएको खबर पेरुका केही अखबारहरूले पनि प्रकाशित गरे ।

तर पेरुमा मृत्यु भएका नेपालीलाई अवैध रूपमा कसले त्यहाँसम्म पठाएको थियो ? यो अवैध यात्रामा उनले कति रकम खर्चेका थिए भन्नेजस्ता सूचनाहरू सरकारी संयन्त्रसम्म पुगेन । किनकि न मृतकको परिवार प्रहरी सम्पर्कमा आयो न त कुनै सरकारी संयन्त्रले नै मृत्यु हुने युवाबारे थप खोजीनितीको पहल गर्‍यो । ती युवकको पूर्ण विवरण नै सार्वजनिक भएन ।

मंसिर ४ मा रुकुम मुसीकोटका २८ वर्षीय रूपक बोहराको दक्षिण अफ्रिकी देश घानाको राजधानी अक्रास्थित रिज अस्पतालमा मृत्यु भयो । संगठित मानव तस्करका गिरोहको भर परेर अमेरिका पस्न हिँडेका उनले विभिन्न चरणमा दलाललाई ४० लाखभन्दा धेरै बुझाएका थिए । उनका बाबु देवबहादुर रुकुमको बाँकेकोट गाउँपालिका–३ का वडासदस्य हुन् । तर यो प्रकरणमा समेत रूपकलाई लैजानेमाथि कारबाहीको प्रक्रिया अघि बढेको छैन ।

मनग्य कमाउने लोभमा संगठित मानव तस्करको पासोमा परेर अफ्रिकादेखि ल्याटिन अमेरिकी देशका विभिन्न कुनाकाप्चामा दुर्घटनामा वा बिरामी परेपछि उपचार नपाएर मृत्यु हुनेमा दाङ र रुकुमका यी दुई युवक मात्रै छैनन्, थुप्रै जना छन् । नेपालको सामान्य कूटनीतिक सम्बन्ध पनि स्थापित नभएका देशमा मानव तस्करको भर परेर हिँड्दा–हिँड्दै अकालमा मृत्युवरण गरेका नेपालीका परिवारले न्याय पाउनु त परैको कुरा मृतक अधिकांशको शवसमेत नेपाल ल्याउन सकिएको छैन । जस्तो कि पेरु र घानामा मृत्यु भएका दुवैको शव घटना भएको हप्तौं बितिसक्दा पनि नेपाल ल्याउन सकिएको छैन ।

गत असार ५ मा कोलम्बियाबाट अमेरिका छिर्न भन्दै हिँडेका ७ नेपालीसहित १५ जना सवार डुंगा दुर्घटनामा पर्‍यो । घटनामा परेका १ नेपाली र ५ बंगलादेशीको तत्कालै उद्धार भए पनि अरू सात नेपालीको अवस्था ६ महिनायता पनि अज्ञात नै छ । घटनामा परेका दाङ घोराहीका एन्जल बुढामगरको परिवारले भने उनको मृत्यु भइसकेको ठहर गर्दै अन्तिम संस्कार सकिसकेको छ । अन्य ६ का परिवारले भने अझै पनि उनीहरूकै आशा राखेर बाटो हेरिबसेका छन् । तर घटनाको ६ महिना भइसक्दा पनि उनीहरू न सम्पर्कमा छन् न त परिवारका सदस्यले उनीहरूलाई अवैध बाटोबाट अमेरिका लैजाने हिँडाएका मानव तस्करहरू विरुद्ध प्रहरीमा जाहेरी दर्खास्त नै दिएका छन् ।

उक्त डुंगा दुर्घटनामा परेका दिनेश गौतमका बाबु तिलप्रसादले केही समयअघि कान्तिपुरसँग कुराकानी गर्दै आफूहरू छोराको बाटो कुरिरहेको बताएका थिए । दिनेशका परिवारका एक सदस्यले घटनाको महिनौं बिते पनि आफूहरूले पत्यारिलो खबर पाउन नसकेको बताए ।

अदालतले सजाय तोकेका दलाललाई प्रहरीले छाड्दा

अमेरिका वा अन्य युरोपेली मुलुक छिर्ने आशा मानव तस्करलाई लाखौं रुपैयाँ बुझाएर अवैध रूपमा हिँडेकामध्ये कैयन्को मृत्युको आधिकारिक खबरसम्म परिवारका सदस्यले नपाइरहेको अवस्था छ । जस्तो कि, टर्कीबाट ग्रिस छिर्न खोज्दा सम्पर्कविहीन भएका नवलपरासी रजहरका नवीन तिवारी झन्डै तीन वर्षयता बेपत्ता छन् । उनलाई पनि संगठित मानव तस्करको गिरोहले अवैध रूपमा ग्रिस छिराउन हिमपातले भरिएको जंगलको बाटो हिँडाएका थिए । उनीसँगै ग्रिस छिर्न खोजेका इलामका मोती गुरुङले घटनालगत्तै हिँडदाहिँड्दै नवीन बिरामी परेको र एजेन्टले छोडिदिएको बताएका थिए ।

२०७५ जेठमा भक्तपुरकी सुमित्रा कुँवरसहित तीन महिला संगठित मानव तस्करको भर परेर कलाकारको नक्कली कागजात बनाएर हैटी पुगेका थिए । उनीहरूलाई पनि मानव तस्करहरूले डुंगामा अवैध रूपमा अमेरिका छिराउन हिँडाएको थियो । सोही क्रममा जहाजले बाटो बिराएर समुद्रमा हराएपछि भोक र प्यासका कारण सुमित्राको मृत्यु भएको थियो । शव गन्हाउन सक्ने भन्दै जहाजमा सवार अन्य यात्रुले उनको शव क्यारेबियन समुद्रमा फ्याँकिदिएका थिए ।

उनीसँगै यात्रारत अन्य दुई नेपाली त्यहाँबाट उम्केर नेपाल फर्केपछि सुमित्राको मृत्युको घटना सार्वजनिक भएको थियो । यो घटनाका दुई पीडितले घटनाको महिनौंपछि महानगरीय प्रहरी अपराध महाशाखामा जाहेरी दरखास्त दिए पनि उक्त घटनामा मुख्य अभियुक्त पक्राउ पर्न सकेका छैनन् । मृतकको पीडित परिवारले पनि मृत्युको घटनाबारे सरकारी संयन्त्रबाट न कुनै आधिकारिक सूचना पाए न त मृतकको शव नै खोजेर नेपाल ल्याउन सकियो ।

कसले पुर्‍यायो नेपाली युवालाई कोलम्बिया ?

मनग्य कमाउने आसमा अवैध रूपमा दलालको फेर समातेर हिँडेकाहरूको मृत्युको घटनाबारे मात्रै होइन यस्ता यात्रामा दुर्घटनामा पर्नेहरूको घटना पनि नेपालको सरकारी संयन्त्रमा बिरलै आइपुग्छ । मंसिरको पहिलो साता ग्रिसबाट अवैध रूपमा टर्की छिर्न खोजेको एउटा गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो ।

उक्त दुर्घटनामा २ जना नेपाली पनि घाइते भएको समाचार बेलायती पत्रिका गार्डियनले प्रकाशित गरेको थियो । बुझ्दै जाँदा घटनामा ४ नेपाली घाइते भएको पुष्टि भयो । घटनाको धेरै दिनपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मा पत्राचार गर्‍यो । ग्रिस प्रहरीको इन्टरपोल युनिटले ७ मंसिरमा तीव्र गतिमा टर्कीबाट ग्रिस छिर्न खोजेको गाडी दुर्घटनामा परेको र त्यसमा नेपाली पनि रहेको भन्दै सूचना पठायो । उक्त सूचना आउने बेलासम्म घाइते चारै नेपाली उपचार गराएर अस्पतालबाट निस्किसकेका थिए ।

यो घटनामा पनि न कुनै घाइते सदस्यहरूले उद्धार वा कानुनी उपचारको खोजी गर्दै सरकारी संयन्त्रमा सूचना दिए । तर उनीहरू को थिए र कसले कसरी अवैध रूपमा त्यहाँसम्म पठाएको थियो भन्ने खुलेन, सरकारी छानबिनको प्रक्रिया पनि अगाडि बढेन । मंसिर अन्तिम साता पनि मेक्सिकोबाट अमेरिकातर्फ जाँदै गरेको अवैध आप्रवासीहरू बोकेको ट्रक दुर्घटना हुँदा त्यसमा सवार ५३ जनाको मृत्यु भएको सूचना बाहिर आयो । जसमा केही भारतीय परेको भनिए पनि दुर्घटनामा नेपाली थिए कि थिएनन् भन्ने पुष्टि कतैबाट हुन सकेन । किनकि अवैध रूपमा अमेरिका छिर्न हिँडेका सयौं नेपाली भारतीय, बंगलादेशी, पाकिस्तानीहरूसँगै मेक्सिकोकै बाटो हुँदै जान्छन् ।

कैयन् पीडितलाई उनीहरूकै आफन्त वा चिनेजानेका मानिसहरूले अवैध रूपमा विदेश पठाउने हुँदा पनि दुर्घटना वा मृत्युका घटनापछि परिवार हतपती प्रहरीमा नआउने प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहले बताइन् ।

क्यारेबियन सागरमा हराए ७ नेपाली

नेपालीमा व्याप्त विदेश मोहकै कारण युवाहरू जस्तोसुकै जोखिम मोलेर पनि हिँडेका घटनाहरू भइरहेको उनको भनाइ छ । केही पीडितहरू भने दुर्घटना वा मृत्युको घटनामा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअन्तर्गत कारबाही नचालेर वैदेशिक रोजगार ऐनअन्तर्गत कारबाही गर्न भन्दै सम्बद्ध विभाग पुग्ने गरेको पनि पाइएको एसएसपी सिंहले बताइन् ।

श्रम तथा आप्रवासनका विज्ञ गणेश गुरुङ संगठित मानव तस्करका गिरोहले नेपालीहरूलाई संसारका अनेक कुनाकाप्चामा अवैध रूपमा पुर्‍याउने क्रम नरोकिएसम्म यस्ता खबरहरू आइरहने बताउँछन् । ‘नेपालीहरूको कुकुर मराइको अवस्था भइरहेको छ तर देशले उनीहरूलाई खोज्छ न तिनका परिवारले नै,’ उनले भने ।

देशभित्र व्याप्त बेरोजगारी र जसरी भए पनि युरोप वा अमेरिका छिर्ने लालच दुवैको फाइदा संगठित मानव तस्करहरूले उठाइरहेको भन्दै उनले बताए । ‘न हाम्रो कूटनीतिक संयन्त्र बलियो छ न अनुसन्धान गर्ने र मानव तस्करलाई दण्ड दिने प्रणाली बलियो छ । यस्तै घटना हुँदासम्म अन्तर्राष्ट्रियस्तरमै नेपालीको बेइज्जत भइराख्छ,’ उनले भने ।

प्रकाशित : पुस ६, २०७८ १०:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×