२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

बबई सिँचाइको काम सुस्त

बर्दिया — बबई सिँचाइ आयोजनाको मूल नहर र तटबन्धको सबै काम सकिन पाँच वर्ष लाग्ने भएको छ । जग्गा अधिग्रहण र मुआब्जा विवादले पूर्वी मूल नहरले गति लिन ढिला भएको हो । विवाद समाधान भएपछि कामले तीव्रता पाएको आयोजनाले दाबी गरेको छ ।

बबई सिँचाइको काम सुस्त

पूर्वतर्फको २१ हजार हेक्टर र पश्चिमतर्फ १५ हजार हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यका साथ २०५१ सालदेखि काम सुरु भएको हो । बबई सिंचाइ आयोजनाअन्तर्गत पूर्वी मूल नहर ३४ किमि सम्पन्न भएको छ । पश्चिमी नहर ४३ किमि निर्माण गर्ने लक्ष्य रहेको छ । कोभिडको कारण देखाउँदै ठेकेदार कम्पनीको ढिलासुस्तीले निर्माण सुस्त भएको हो । अहिले कामले गति लिएकाले समयभित्र पूर्वी नहर सम्पन्न हुने दाबी आयोजनाका डीई रामकृष्ण घोरासैनीले गरे । पश्चिम मूल नहर गुलरिया रत्नापुरसम्मको लम्बाइ ४३ किमि छ । आव २०८२/०८३ सम्म उक्त मूल नहरलगायत शाखा, प्रशाखालगायत संरचना बनाई सक्ने लक्ष्य रहेको उनले जनाए ।

आयोजनाको काम सम्पन्न गर्न सरकारले कुल १८ अर्ब ९६ करोड ३० लाख रुपैयाँ स्वीकृत गरिसकेको छ । त्यसमध्ये हालसम्म आधा रकम खर्च भइसके पनि भौतिक प्रगति ५६ दशमलव ५९ प्रतिशत भएको छ । यस चालु आवमा १ अर्व ३४ करोडको बजेट रहेको छ । ०५१ सालमा राष्ट्रिय अभियानका रूपमा पूर्वी क्षेत्रमा मूल नहर निर्माण सुरु भएको थियो । २०४५ सालमा बबई सिंचाइको बाँधसहितको पुल पूर्व–पश्चिम राजमार्गको परेवा ओडारमा ६३ करोड ८५ लाख लागतमा निर्माण सम्पन्न भएको थियो । आयोजनाले भौतिक प्रगतितर्फ ९ अर्ब बढी रकम खर्चिएको जनाएको छ । गहुँ र तोरी खेतीमा सिँचाइका लागि पानी आवश्यक भएको भन्दै निर्माणाधीन बबई सिँचाइ आयोजनाले पानी छाडेको छ । एक महिनासम्म पूर्वी र पश्चिम नहरबाट सिँचाइका लागि पानी छाडिएको बबई सिँचाइ आयोजनाले जनाएको छ ।

हरेक वर्ष हिउँद र धानबाली लगाउने मौसममा बबई मूल नहर हुँदै शाखा र उपशाखाबाट पानी छाड्दा निर्माणाधीन काम तीन महिनाका लागि प्रभावित हुने गर्छ । हालसम्म १४ हजार ५ सय हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । कुल ३६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहे पनि आधाभन्दा बढी खेतीयोग्य जमिन आकाशे पानीको भरमा रहेको बारबर्दिया नगरपालिका–१० का किसान भागीराम थारूले बताए । सिंचाइ सुविधा नभएका कारण मोटर चलाई खेती गर्न बाध्य रहेको उनको गुनासो छ ।

बबई सिंचाइ आयोजनाको नहर निर्माण भएका बढैयातालको कालिका र जमुनी गाउँमा नहरको पानी पर्याप्त नपुगेको स्थानीय किसानले बताए । मूलसँगै शाखा निर्माण भए पनि बबईमा पर्याप्त पानी नहुँदा किसानले वर्षभरि उचित प्रतिफल पाउन सकेका छैनन् । पर्याप्त सिँचाइका लागि ६० घनमिटर पानीको आवश्यकता रहेको आयोजनाले जनाएको छ । भेरी बबई डाइभर्सन निर्माण सम्पन्न भएपछि बाह्रै महिना सिँचाइ हुने आयोजनाका प्राविधिक बताउँछन् ।

प्रकाशित : पुस ४, २०७८ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?