कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पैँचो कार्यक्रमले किसान लाभान्वित

हरि गौतम

रुकुम पूर्व — जिल्लाका कतिपय ठाउँमा अहिले पनि एउटा चलन कायम छ– सट्टापट्टामा काम गर्ने । अर्थात्, जोसँग जे छ, त्यसैले आफूलाई चाहिएको अर्को सामग्री ल्याउने । विशेष गरी कृषि उत्पादन र खाद्य सामग्रीमा अहिले पनि पैंचो र सट्टापट्टामा काम गरिँदै आएको छ ।

तीन गाउँपालिकामध्ये भूमे गाउँपालिकामा यस्तो चलन बढी रहेको पाइन्छ । परापूर्वकालदेखि चल्दै आएको यो चलन अहिले पनि कायमै छ । यसैमा सर्वसाधारण रमाएका छन् । दैनिकी चलाउन सजिलो पनि भएको छ । महँगो सामग्री हुनेले सस्तो सामग्री बढी लिएर हिसाब मिलान गर्छन् । पछिल्लो समय सहकारीहरू पनि यसमा समावेश भएका छन् । मारिङ बहुद्देश्यीय सहकारी संस्थाले पनि यो चलनलाई आत्मसाथ गरेको छ । ‘सहकारीले यहाँको चलनभन्दा फरक तरिकाले कारोबार गर्नु भएन,’ सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले भने, ‘हामीले पनि वस्तु विनिमय अर्थात् सट्टापट्टामै कारोबार गरिरहेका छौं ।’

सर्वसाधारणलाई चाहिएको सामग्री सहकारीले उपलब्ध गराउँछ भने किसानको उत्पादन सहकारीले किनिदिन्छ । सहकारी बजारमार्फत यो कारोबार भइरहेको छ । सहकारीले नगदमा खरिद–बिक्री गर्न चाहनेलाई सोहीअनुसार सामान दिन्छ । सहकारीले पनि सट्टापट्टामा काम गर्न थालेपछि किसानलाई पनि सजिलो भएको छ । ‘विशेष गरी चामल, नुन र तेल खरिदमा हामीलाई सजिलो भएको छ,’ भूमे–३ का शशीराम रोका मगरले भने, ‘हाम्रो उत्पादन दिएर नगद पनि ल्याउन सक्छौं । सामान लिएर पनि आउन सक्छौं ।’

यस वर्ष गाउँमा सट्टापट्टाको दरभाउसमेत तोकिएको छ । एक जना किसानले एक पाथी मकैको ७० रुपैयाँ पाउने गरी मूल्य निर्धारण गरिएको छ । यदि चामलसित साटे दुई पाथी मकैबराबर एक पाथी चामल पाइनेछ । एक किलो सिमीको मूल्य १ सय ७० रुपैयाँ तोकिएको छ । एक किलो भटमास दिए दुई किलोसम्म चामल पाइन्छ । एक किलो मसुरो दिए उपभोक्ताले दुई किलो चामल पाउँछन् । एक किलो भाङो दिएर तीन किलो चामल ल्याउन सक्छन् । चामल नल्याए १ सय ८० रुपैयाँ नगद पाउँछन् । यसैगरी कोदो, फापर, केराउलगायत कृषि उपजको पनि यसरी नै मूल्य र साटफेर भाउ निर्धारण गरिएको छ ।

सहकारीमा कोदो, फापर बिक्री गर्ने किसानलाई गाउँपालिकाले अलग्गै मूल्यको ५० प्रतिशतसम्म प्रोत्साहन रकम दिने गरेको छ । भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले परम्परादेखि चल्दै आएको चलन गाउँमा कायमै राख्न प्रोत्साहन रकम दिने गरिएको बताए ।

प्रकाशित : मंसिर १७, २०७८ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?