कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

प्रदेशमा कांग्रेसको प्यानलगत भिडन्त

सभापतिमा रुपन्देहीका शाह र रोल्पाका पुन: भिड्दै
घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशको भैरहवामा नेपाली कांग्रेसको प्रदेशस्तरीय पहिलो अधिवेशन बिहीबारबाट सुरु भएको छ । शनिबारसम्ममा कांग्रेसले प्रतिनिधिमार्फत निर्वाचित हुने प्रदेशस्तरीय पहिलो संगठन संरचना बनाउनेछ ।

प्रदेशमा कांग्रेसको प्यानलगत भिडन्त

प्रदेशको नेतृत्व र समिति छनोटका लागि लुम्बिनीका १२ जिल्लाबाट १ हजार ५ सय ८५ प्रतिनिधि भैरहवामा जुटेका छन् । बिहीबार उद्घाटन, शुक्रबार मनोनयन र शनिबार निर्वाचन गर्ने कार्यक्रम निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ ।

प्रदेशस्तरको संगठनका लागि कांग्रेसका संस्थापन र संस्थापनइतर (रामचन्द्र पौडेल समूह) पक्ष खुलेरै समूहगत प्रतिस्पर्धामा उत्रिएका हुन् । बिहीबार उद्घाटनसँगै दुवै समूहले उम्मेदवार टुंगो लगाए । संस्थापन पक्षबाट संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका रूपन्देहीका भरतकुमार शाहले रोल्पाका पूर्वपार्टी सभापति एवं पूर्वसिँचाइ राज्यमन्त्री अमरसिंह पुनसँग चुनावी प्रतिस्पर्धा गर्दैर् छन् । शाह कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन् । पुन कोइराला परिवारका विश्वासपात्र हुन् ।

लुम्बिनी प्रदेश अधिवेशनका लागि कांग्रेसले केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणलाई संयोजक तोकेको छ । संस्थापन पक्षले उनकै नेतृत्वमा छलफल गरिरहेको छ । पौडेल समूहले भने केन्द्रीय नेता चन्द्र भण्डारी र दीपक गिरीलाई तोकेको थियो । कांग्रेसले प्रदेशका १२ मध्ये ११ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । तीमध्ये ९ जिल्लाका सभापतिमा पौडेल समूह निर्वाचित भएको छ । देउवा पक्षले दुई जिल्ला सभापति मात्र जितेको छ । बाँकेको जिल्ला अधिवेशन हुन बाँकी छ । अंक गणितका हिसाबले प्रदेशमा पौडेल समूह बलियो देखिएको छ । तर देउवा पक्षले पनि आफ्ना समूहमा ६५ प्रतिशत प्रतिनिधि चयन भएको दाबी गर्दै आएको छ । कांग्रेसका पुराना नेताहरूले भने पौडेल समूह (कोइराला र थापासमेत) गर्दा ५५ प्रतिशत र देउवामा–सिटौला पक्षसहित ४५ प्रतिशत रहेको दाबी गरिरहेका छन् ।

नेतृत्व आफ्नो पक्षमा ल्याउन संस्थापन पक्षले सत्ताको प्रयोग गर्न सक्ने भन्दै पौडेल समूहले सामूहिक रणनीति र सहमतिका साथ अघि बढ्ने तयारी गरेको छ । त्यहीअनुसार नेतृत्व छनोटमा खटिएका नेता भण्डारीले संस्थापनइतर समूहका तर्फबाट सभापतिदेखि सहमहामन्त्रीसम्मका पदका उम्मेदवारको सूची सर्वसम्मत रूपले तयार गरेर सार्वजनिक गरेका छन् । अंक गणितमा बलियो रहेको पौडेल पक्षको मत तान्ने गरी केन्द्रमा राम्रो प्रभाव भएका नेतालाई संस्थापन पक्षले अघि सारेको छ । त्यस्तै, संस्थापन पक्षले धेरै प्रतिनिधि चुनिएका ठूला जिल्लाबाट पदाधिकारीका उम्मेदवार बनाउने रणनीति लिएको छ ।

संस्थापन समूहका नेता एवं लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक फकरुद्दिन खानले सहमतिमै नेता छनोट गरेको बताए । ‘जिल्लाअनुसार क्लस्टर मिलाएर पदाधिकारी निर्वाचित गर्ने गरी छलफल भएको हो,’ उनले भने, ‘तर आकांक्षी धेरै भएपछि मिलाउन समस्या भएको थियो ।’ संस्थापन पक्षबाट खाँणसहित केन्द्रीय नेता एवं लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरी, रूपन्देहीका निवर्तमान सभापति अब्दुल रज्जाक उम्मेदवार व्यवस्थापनमा लागेका थिए ।

पूर्वराज्यमन्त्री रहेका प्रदेश सभापतिका उम्मेदवार पुनले सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीको किल्ला मानिने रोल्पामा कांग्रेसको साख बचाएको र इमानदार छवि रहेको प्रभाव कार्यकर्तामा छ । उनले सिंगो प्रदेशमा कांग्रेसलाई बलियो संगठनका रूपमा उभ्याउन आफ्नो उम्मेदवारी रहेको बताए । संस्थापन पक्षबाट सभापतिका उम्मेदवार शाहले भने कांग्रेसभित्र विभाजनभन्दा पनि एकता आवश्यक रहेकाले दुवै पक्ष समेटेर लैजाने गरी आफूले उम्मेदवारी दिएको बताए । शाह पार्टी र संगठन निर्माणमा पनि चतुर मानिन्छन् । शाहले रूपन्देहीबाट २०५६, २०७० र २०७४ को संसदीय निर्वाचन जितेका थिए ।

प्रदेश निर्वाचन समितिका अधिकृत डा. बुद्धबहादुर थापाले कांग्रेस विधानअनुसार लुम्बिनीमा सभापति, २ उपसभापति, २ महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र ६७ जना प्रदेश समितिमा निर्वाचित हुने बताए । बिहीबार मतदाता नामावली प्रकाशन भएको, शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ । १ हजार ५ सय ८५ निर्वाचित प्रतिनिधिले मतदान गर्नेछन् । महाधिवेशनको बिहीबार भैरहवामा उद्घाटन भएको छ । अधिवेशनको कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका हुन् ।

प्रकाशित : मंसिर १७, २०७८ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?