कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुका तीन पालिकामा फैलियो हैजा

संक्रमणबाट एक बालिकाको मृत्यु, सरसफाइप्रति ध्यान दिन चिकित्सकको सुझाव
मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुमा हैजाविरुद्धको खोप अभियान चलिरहेकै बेला थप तीन पालिकामा संक्रमण फैलिएको छ । यशोधरा गाउँपालिका, कपिलवस्तु र बुद्धभूमि नगरपालिकामा संक्रमण फैलिएको हो । संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–६ महुवाकी १३ वर्षीया बालिका सिर्जना यादव (खुस्बु)को सदरमुकामस्थित तौलिहवा अस्पतालमा आइतबार उपचारको क्रममा मृत्यु भएको हो ।

कपिलवस्तुका तीन पालिकामा फैलियो हैजा

चिकित्सकका अनुसार बुद्धभूमिमा पहिलोपटक संक्रमण देखिएको हो । यसअघि ५ स्थानीय तहमा देखिएको संक्रमण बढेर ८ स्थानीय तहमा पुगेको हो । मृतकको दिसाको आरडीटी एन्टिजेन परीक्षण गर्दा हैजा संक्रामक जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका महामारी नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । सरसफाइप्रति ध्यान नदिंदा संक्रमण अन्य पालिकामा फैलिएको छ । ‘अवस्था राम्रो छैन,’ उनले भने, ‘संवेदनशील हुन जरुरी छ ।’

असोज १८ गतेदेखि कृष्णनगर नगरपालिकाबाट सुरु भएको हैजा शिवराज र महाराजगन्ज नगरपालिका, विजयनगर र यशोधरा गाउँपालिकामा फैलिएको थियो । यी पाँच पालिकामा अहिले हैजा नियन्त्रणमा छ । मंसिर दोस्रो साताबाट संक्रमण फैलिएर थप तीन पालिकामा पुगेको छ । पछिल्लोपटक बुद्धभूमि र मायादेवी गाउँपालिकामा संक्रमण फैलिएको हो । बुद्धभूमिका वडा नं. ५, ६, ७, ८ र १० र मायादेवी गाउँपालिकाको वडा नं. ७ मा आरडीटी एन्टिजेन परीक्षण गर्दा १४ जनामा हैजा संक्रमणको जीवाणु भेटिएको छ ।

त्यस्तै कपिलवस्तु नगरपालिका–१ का एक जनामा पनि हैजा संक्रमण देखिएको छ । ‘आरडीटी एन्टिजेन परीक्षण गर्दा दिसामा जीवाणु भेटिनु हैजा नै हो,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले भने, ‘तर पनि त्यसलाई थप पुष्टिका लागि प्रादेशिक प्रयोगशाला बुटवलमा गएर कल्चर गरेर परीक्षण गर्दा त्यहाँ पनि हैंजा पुष्टि भयो ।’ कल्चर गर्दा बुद्धभूमिका एक, कपिलवस्तु नगरपालिकाका एक र मायादेवीका दुई जनाको दिसामा हैजाका जीवाणु भेटिएको उनले बताए ।

हैजा गम्भीर खालको झाडापखाला भएको र समयमा उपचार गरिएन भने पीडितको केही घण्टामै मृत्यु हुन सक्ने हुँदा यो संवेदनशील मानिने तौलिहवा अस्पतालका मेडिकल अधिकृत डा. गणेश क्षत्रीले बताए । भिब्रिओ कोलरी ब्याक्टेरियाका कारण यो रोग लाग्छ । अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुने उनले थपे । खोप दिइए पनि त्यसको प्रभावकारिता सरसफाइमा भर पर्छ ।

‘त्यसैले सरसफाइमा ध्यान दिए हैजा लाग्दैन,’ जिल्ला अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. जाबेद खानले बताए । खोपको प्रभावकारिता पाँच वर्षसम्म मात्र छ । हैजाविरुद्धको खोपको प्रभावकारिता शतप्रतिशत नभएकाले खोपसँगै सरसफाइमा ध्यान दिनु आवश्यक रहेको स्वास्थ्य अधिकारीको भनाइ छ । खोप दिइने भए पनि प्रभावित क्षेत्रको सरसफाइको अवस्था दयनीय छ । खुला ठाउँमा दिसापिसाब गर्न जाने र शौचालय गएपछि हात धुने गरिँदैन । त्यस्तै फोहोर वस्तु चलाएपछि हात नधुने, असुरक्षित पानी सेवन गर्दा सरसफाइको कमीका कारण समस्या बल्झने चुनौती उत्तिकै छ ।

पानी जम्मा गर्ने भाडाको सरसफाइ नगर्दा र होटलमा जस्तोपायो उस्तै पानी सेवनले समस्या थपेको अधिकारीहरू बताउँछन् । संक्रमण सुरु भएको दुई महिना हुन लाग्दा पनि बहादुरगन्जस्थित शिवराज अस्पतालमा अहिले पनि दैनिक एक–दुई जना बिरामी आइरहेको मेसु डा. मुकेश चौधरीले बताए । त्यसैले अझ पनि जोखिम रहेको देखाउँछ । ‘सतर्कता र सरसफाइ झनै आवश्यक रहेको देखाउँछ,’ उनले भने । अवस्था सामान्य हुँदै गए पनि सरुवा रोग भएकाले कतिखेर के हुन्छ भन्न नसकिने भएकाले खोप दिइरहेको उनले बताए । जिल्लाको कृष्णनगर नगरपालिकामा गत असोज १८ गतेदेखि सुरु भएको झाडापखाला हैजा संक्रमणका कारण मृत्यु हुनेको संख्या बढेर सात पुगेको छ ।

यसअघि कृष्णनगर नगरपालिकामा चार, शिवराज नगरपालिकामा एक र यशोधरा गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो । अहिले हैजा संक्रमण फैलिएका कृष्णनगर, शिवराज र महाराजगन्ज नगरपालिका एवं विजयनगर र यशोधरा गाउँपालिकामा मंसिर ७ गतेबाट ओरल कोलेरा भ्याक्सिन मुखबाट खुवाइने खोप दिइएको हो । आइतबारसम्म २ लाख ५२ हजार ३ सय ६३ नागरिकलाई खोप दिइएको छ । जिल्लामा हैजा झाडापखाला संक्रमित २ हजार ३ सय ८१ जनाको उपचार भइसकेको छ ।

प्रकाशित : मंसिर १४, २०७८ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?