कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सकिनुपर्ने बेला काम सुरु

दुर्गालाल केसी

दाङ — घोराही–तुलसीपुर चार लेन सडक निर्माण सम्पन्न हुने बेला बल्ल काम सुरु भएको छ । निर्माणको ठेक्का पाएको भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर प्रालिका प्रतिनिधि म्याद सकिएपछि मात्रै कार्यस्थलमा आइपुगेका हुन् ।

तथ्य इन्जिनियरिङले स्थानीय प्रतिनिधिका रूपमा सडक निर्माणको जिम्मेवारी तुलसीपुरका अनुप पाण्डेलाई दिएको थियो । पाण्डेले काम गर्न नसकेपछि इलामका दोर्ण दुलालले जिम्मेवारी लिए । उनले पनि काम गर्न नसकेपछि मात्रै प्रहरी प्रशासनले कम्पनीका प्रतिनिधिलाई नै झिकाएको हो । कम्पनीका प्रबन्ध निर्देशक प्रवीण ब्रह्मदेव पाण्डेले शुक्रबार जिल्लाका सरकोकारवालासामु एक कार्यक्रम आयोजना गरी काम सुरु गरेको जानकारी गराए । सडक छेउमा टेन्ट टाँगेर तडकभडकपूर्ण तरिकाले कार्य शुभारम्भ भएको घोषणा गरिएको छ ।

उनले आजसम्म काम हुन नसकेकामा लज्जित महसुस भएको बताए । ‘हामीले स्थानीय निर्माण व्यवसायीलाई विश्वास गरेर जिम्मेवारी दियौं । उनीहरूले काम भइरहेको छ भन्ने जानकारी दिए,’ उनले भने, ‘हामीलाई यहाँ आउनै दिएनन् । अन्त्यमा कामै नभएको जानकारी पाएपछि आफैं आएका छौं ।’ उनले अब कम्पनीको प्रत्यक्ष निगरानीमा निर्माण हुने बताए । हालसम्म काम हुने ठाउँसम्म पुग्न नपाएको उनको भनाइ छ । ‘आजसम्म दाङ कता छ भन्ने नै थाहा थिएन । पहिलोपटक यहाँ आएको छु,’ उनले भने, ‘आजसम्म भएको कमजोरीप्रति म दुःखी छु ।’

घोराहीको कुइरेपानीदेखि कटुवाखोलासम्म, डिके पेट्रोलपम्पदेखि गुर्जेखोला पुलसम्म, नारायणपुरदेखि खैरासम्म, दुधरासदेखि हात्तीखौवासम्म फोरलेन सडक स्तरोन्नतिका लागि १ करोड २१ लाख ८२ हजार अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । ३६ दशमलव ३५ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने समयमा ६ दशमलव ७ प्रतिशत मात्रै काम भएको सडकको गुणस्तर हेर्ने जिम्मेवारी पाएका परियोजनाका कन्सल्टेन्ट इन्जिनियर ईश्वरीप्रसाद अम्गाईले बताए । निर्माण कम्पनीको लापरबाहीका कारण काममा ढिलाइ भएको उनले बताए ।

२८ जनवरी २०१९ मा सम्झौता गरी ३० महिनामा काम सम्पन्न गर्ने गरी काम सुरु गर्ने जनाइएको थियो । घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको २८ दशमलव १९ किलोमिटर सडक चौडा गर्न लागिएको हो । सडक निर्माणको म्याद सकिई नौ महिना थप भइसकेको छ । थप भएको समय पनि सकिन लागिसकेको छ । कम्पनीले अहिलेको बाँकी ६ महिनामा काम नसकिने र फेरि म्याद थपका लागि अनुरोध गर्ने जनाएको छ ।

‘म्याद सकिएको र काम नभएको भनेर हामीले पटक–पटक कम्पनीलाई पत्राचार गर्‍यौं तर पनि यसमा समयमै ध्यानाकर्षण भएन,’ अम्गाईंले भने, ‘आजसम्म कम्पनीबाट लापरबाही भयो । अब यस्तो हुनुहुँदैन । हतारमा काम सक्ने होइन, गुणस्तरीय काममा पनि ध्यान दिनुपर्छ ।’

सडक निर्माण प्रक्रिया अलपत्र पर्दा नागरिकलाई धेरै नै सास्ती भएको छ । सडक बनाउने क्रममा खनिएका खाल्डा, कल्भर्ट र सडक किनारको कटानले घोराही–तुलसीपुर सडकमा दुर्घटना भइरहेका छन् । यस सडकमा चार महिनामा मात्रै १२ जनाको ज्यान गइसकेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । ‘सडक निर्माण गर्नुको सट्टा उल्टै छेउमा कटान गरेर जोखिमपूर्ण बनाइएको छ । गाडीहरू पल्टिरहेका छन्,’ उनले भने, ‘मानिसहरूको ज्यान गइरहेको छ । अब राम्रोसँग काम हुन सकेन भने हामी कानुनी कारबाहीका कदम चाल्छौं । सडक जसरी पनि समयमै निर्माण हुनैपर्छ ।’

अब सडक निर्माणमा लापरबाही हुन नदिने प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए । ‘फोरलेन सडक निर्माण हाम्रो मुख्य समस्या भएको छ । हरेक दिन हामीले जवाफ दिनु परिरहेको छ,’ उनले भने, ‘अब कुनै पनि हालतमा ढिला हुनुहुँदैन । यदि काम हुन सकेन भने हामी जुन कानुन अनुसार कारबाही गर्न मिल्छ, त्यही अनुसार गर्छौं तर लापरबाही हुन दिँदैनौं ।’

प्रकाशित : मंसिर १३, २०७८ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?