कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुस्त काम, घण्टौं जाम

निर्माण व्यवसायीले सिद्धार्थ राजमार्ग र तानसेन–रिडी सडक ११ घन्टासम्म बन्द गर्दा यात्रुलाई सास्ती  
माधव अर्याल

पाल्पा — बागलुङको बुर्तिबाङकी ४९ वर्षीया कल्लीसरा थापा झन्डै आठ घण्टा तानसेन–रिडी सडक खण्डको हार्थोक नजिकै सवारीसाधनभित्रै बसिन् । शनिबार बुटवलबाट बाग्लुङ हिँडेकी उनी सडक डिभिजनले बन्द गरेको सडकका कारण रातभर चिसोमा बस्नु परेको हो ।

सुस्त काम, घण्टौं जाम

सडक चौडा गर्न निर्माण व्यवसायीले बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म जोर्ते आसपास बन्द गरेको छ । सोही समयमा उनी सवारीसाधनमै बस्नु परेको गुनासो गरिन् । ‘यति लामो समयसम्म गाडीभित्रै बस्नुपर्‍यो, त्यति समयमा घर पुगिसक्थें,’ उनले भनिन्, ‘यस्तो बन्द हुने जानकारी सही ढंगले नदिएकाले रातभर बस्नु पर्‍यो ।’

अर्घाखाँचीको बल्कोट हिँडेको सवारी साधनका यात्रुले पनि तानसेन–रिडी सडकको मालमुलमा यस्तै दुःख पाए । रातभर चिसोमा बाटोमा बस्नु परेको थियो । ‘यात्रु र सवारीधनीलाई सही जानकारी हुनुपर्ने हो,’ अर्घाखाँची बल्कोटका यात्रु शालिक पन्थीले भने, ‘सही जानकारी नभएकाले बाटोमै बस्नु पर्ने बाध्यता भयो ।’ सिद्धार्थ राजमार्गको झुम्सामा पनि पोखरा हिँडेको सवारी साधन ८ घण्टा रोकिएको छ । यात्रु र चालकले उस्तै सास्ती खेपेका छन् ।

वामीटक्सारबाट आएको सवारी साधनका यात्रुले पनि जोर्तेमा बास बस्नु परेको गुनासो गरे । चालक सहदेव घर्तीका अनुसार ७ घण्टादेखि जाममा पर्दा समस्या हुने गरेको छ । कम्तीमा ७ देखि ९ घण्टा सडकमै रोकिने सवारी साधन सयौं हुन्छन् । ‘कहिले कुन राजमार्गमा दुःख पाइन्छ कहिले कहाँ,’ उनले भने, ‘जता गयो उतै जामले हैरानी खेप्नु पर्छ । कहिले बन्ने हो सडक भन्ने पनि थाहै नहुने भयो ।’

यी केही उदाहरण हुन् । पछिल्लो पाँच महिनायता सिद्धार्थ राजमार्ग र तानसेन–रिडी सडक खण्डमा यस्तै सास्ती बेहोर्नु परेको छ । वर्षायाममा पहिरो र सडक भासिएर हैरानी खेप्नु परेको थियो । अहिले पुनः सडक डिभिजनले सडक चौडा गर्ने नाममा दैनिक ११ घण्टासम्म राजमार्ग बन्द गरेको छ ।

दैनिक १० हजारभन्दा बढी सवारी साधन गुड्ने सिद्धार्थ राजमार्ग ८ घण्टा बन्द गरिएको छ । त्यस्तै अर्घाखाँची, गुल्मी, बाग्लुङको पश्चिम भेग जाने सवारी साधन चल्ने तानसेन–रिडी सडक पनि दैनिक ११ घण्टा बन्द छ । सडक डिभिजन कार्यालयले तानसेन–रिडी सडक खण्ड १५ दिन दैनिक ११ घण्टा बन्द हुने सूचना सार्वजनिक गरेको थियो ।

सडक डिभिजन कार्यालयले मंसिर ८ देखि २२ गतेसम्मका लागि दैनिक ११ घण्टा सडक बन्द हुने जनाएको हो । दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गर्न लगाइएको सडक डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए । उनका अनुसार तानसेन–रिडी सडक खण्डको रिब्दीकोट गाउँपालिका–२, जोर्ते क्षेत्रमा बाटो चौडा गर्न सडक डिभिजनले सवारी साधन बन्द गर्ने निर्णय गरेको हो । लघुवादेखि जोर्तेसम्म

सडक चौडा गर्न २ करोड ४१ लाख ८३ हजार रुपैयाँमा ठेक्का लिएको हो । गुल्मीको प्रदीप–साइन कन्सन्ट्रक्सन जेभीले ठेक्का लिएको हो । आर्थिक वर्ष २०७७/७८ को वैशाखमा ठेक्का लिएर असार मसान्तमा सक्नुपर्ने थियो । लामो समय काम नगरेको निर्माण व्यवसायीले अहिले सडक नै बन्द गराएर सुस्त गतिमा काम गरेको हो । कोभिडको असर भन्दै २०७८ चैत मसान्तसम्म म्याद थप भएको छ ।

बन्दको समयमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारी साधनलाई सञ्चालन गर्न दिइएको छैन । सडक डिभिजनले यसअघि तीन सातादेखि सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३, झुम्सा क्षेत्रमा सडक चौडा गर्न रातीको समयमा ८ घण्टा सडक बन्द गरिरहेको छ । त्यसअघि पनि कात्तिकको पहिलो सातादेखि नै सडक बन्द गरेर काम गराएको छ ।

‘सडक बन्द गरेर काम गराए पनि खासै उपलब्धि भइरहेको छैन,’ सडक डिभिजन प्रमुख लम्सालले भने, ‘निर्माण व्यवसायीको अटेरीपनका कारण काम गराउन राम्रोसँग सकिएको छैन ।’ सडक डिभिजनले अघिल्लो आर्थिक वर्षमै काम सक्ने गरी लगाएका ठेक्काका काम सबै अलपत्र छन् । ती काममध्येका सडक चौडा गर्ने, कालोपत्र गर्ने, नाली बनाउने, टेवा पर्खाल, ग्याभिएन वाल छन् ।

सर्वसाधारण यात्रु र चालक भने सडक डिभिजन कार्यालयको व्यवहारप्रति रुष्ट भएका छन् । ‘सडक चौडा गर्ने भन्दै सवारी गुड्न दिइएको छैन,’ तिनाउ गाउँपालिका–३, झुम्साका कृष्ण पाण्डेयले भने, ‘तर सडक नै बन्द गरेपछि त तीव्र गतिमा काम हुनुपर्ने हो, त्यो भएको छैन ।’

निर्माण व्यवसायीलाई तीव्र गतिमा (हेभी इक्विपमेन्ट प्रयोग गरेर) काम गराउनेतर्फ ध्यान नदिएको गुनासो यात्रुको छ । ‘राजमार्गमा घुम्ती सुधार र चौडा गर्न डोजर लगाउने तर काम अलपत्र छाड्ने प्रवृत्ति बढी भयो,’ तिनाउ गाउँपालिका–६, मस्यामका देवबहादुर पुन मगरले भने, ‘वर्षायाममा हिलो र हिउँद लागेपछि धूलोबाहेक केही भएन । यात्रु, साना सवारी साधन र चालकलाई जहिले पनि सास्तीको सास्ती छ ।’ तीन वर्षअघि घुम्ती सुधार गरेको स्थानमा अहिलेसम्म कालोपत्र गरेको छैन ।

सडक मर्मत तथा सुधार गर्ने नाममा सर्वसाधारणलाई सास्ती दिने काम बढी भएको उनले बताए । सिद्धार्थ राजमार्गको झुम्सादेखि सिद्धबाबासम्म पनि अवस्था उस्तै छ । झुम्सा पानीमिल खण्डमा सडकमा दैनिक डोजर लगाएर चौडा पारे पनि माथिल्लो भाग बगेर झन् समस्या भएको छ । ‘समयमा काम नगर्ने र काम अलपत्र पारेर छोड्दा सवारी साधन फसेर हैरान खेप्नुपर्छ,’ जिप चालक केशव सूर्यवंशी मगरले भने, ‘केही समय ढिला गरी आयो भने थर्काउने, धम्काउने गर्छन् । निर्माण व्यवसायीको लापरबाहीले हामीले सास्ती खेप्नु परेको छ ।’

झुम्सामा माथिल्लो भागमा सडक चौडा गर्न सडक डिभिजनले अघिल्लो आर्थिक वर्षमा ठेक्का लगाएको हो । सडकमा सवारी साधन फस्ने मात्र होइन तल्लो भागमा भासिएको छ । सोही क्षेत्रमा स्थानीय तहको लापरबाहीले सडक क्षेत्रमै ढुंगा थुपार्दा झन् बढी सास्ती खेप्नु परेको चालक र यात्रुको गुनासो छ । राजमार्गको बाँसटारदेखि चिडियाखोलाको अधिकांश स्थानमा सडक डिभिजनले मर्मतका लागि ठेक्का लगाए पनि निर्माण व्यवसायीलाई काम गराउन सकेको छैन । जसले गर्दा खाल्डाखुल्डी, धूलोधुँवाले हैरानी खेप्नु परेको स्याङ्जा मालुङ्गाका यात्रु जीवन बस्यालले बताए ।

ग्याभिएन वाल लगाउने, नाली निर्माण, सडक चौडा गर्न सडक डिभिजनले लगाएको ठेक्काको काम अलपत्र छ । यहाँ निर्माण व्यवसायीले सडक डिभिजनसँगको मिलेमतोमा जथाभावी काम गर्दा समस्या भोग्नु परेको यात्रुको गुनासो छ । सडक चौडा गर्दा यात्रुलाई सास्ती मात्र होइन, सवारी साधन जाममा पर्ने गरेका छन् । एम्बुलेन्ससमेत घण्टौं जाममा पर्ने समस्या छ । झुम्सामा बन्दना भगवती/ महेश/सत्यवती जेभी निर्माण कम्पनीले चौडा गर्ने, ग्याभिएन लगाउने, नाली निर्माणको काम लिएको हो ।

प्रकाशित : मंसिर १३, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?