कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा बाघको गणना मंसिर अन्तिम साताबाट

कमल पन्थी

बर्दिया — यस वर्ष मंसिर अन्तिम साताबाट बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको गणना गरिने भएको छ । निकुन्जमा हरेक चार वर्षमा बाघको गणना हुने गर्छ । राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभाग, विश्व वन्यजन्तु संरक्षण कोष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संयुक्त प्राविधिक टोलीले क्यामेरा ट्यापिङको सहयोगमा गणना गरिने भएको छ ।

बर्दियामा बाघको गणना मंसिर अन्तिम साताबाट

निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठका अनुसार निकुन्ज बाहेक खाता जैवीक मार्ग र आसपासका क्षेत्रमा बाघको गणना हुने भएको छ । क्यामेरा लगायत अन्य सामग्री राष्ट्रिय प्रकृति संरक्षण कोषले उपलब्ध गराउने भएको छ । बाघ गणनाका लागि खटिने प्राविधिक टोलीलाई मंसिर तेस्रो साता प्रशीक्षण दिने भएको छ । बाघ गणना २१ दिनसम्म हुने भएको छ ।

बाघ गणनाका लागि सयजना निकुञ्ज, विश्ववन्तु कोष, प्रकृति संरक्षण कोष लगायत दक्ष प्राविधिक टोली र कर्मचारी खटिने भएका छन् । बॉके र बर्दियामा एकै साता ब्लक बनाई गणना गरिने भएको छ । निकुञ्जभित्र र आसपासका घना जंगल क्षेत्रमा करिब ३ सय ट्यापिङ क्यामेरा राखिने प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए । बाघ गणनाका समय करिब एक दर्जन पालुवा हात्ती सुरक्षाका लागि खटिने निकुञ्जले जनाएको छ । पछिल्लोपटक बाघ गणना २०१८ मा भएको थियो । त्यसबेला बर्दियामा बाघको संख्या ८७ पुगेको थियो । सन् २०१३ मा गणना हुँदा बर्दिया निकुञ्जमा ५० वटा बाघको संख्या थियो ।

चोरी शिकार नियंत्रण, उचित प्राकृतिक आहार, सुरक्षा र प्राकृतिक वासस्थानका लागि उत्तम मानिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो पटक बाघको संख्या बढ्दै गएको पूर्वप्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले बताए । उनले प्राकृतिक बासस्थान बढ्दै गएपछि बाघको संख्या पनि बढ्दैगएको जनाए । गत वर्ष प्राविधिक टोलीले अनुगमन गर्दा बाघको संख्या बढेको बर्दिया निकुञ्जले जनाएको छ ।

निकुञ्जमा करिब सय बढी वयस्क बाघ अनुगमन गर्दा पाइएको थियो । दुई वर्षभित्र संख्या बढ्नुको प्रमुख कारण सुरक्षा,उचित बासस्थान र बाघको आहारा चित्तल, बदेल, जरायो, लंगुवा लगायत जनावर निकुञ्जमा बढेको हो ।

निकुञ्ज लगायत मध्यवर्ती क्षेत्रको ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका लगायत खाता जैवीक मार्गमासमेत दैनिक बाघ फेला पर्न थालेको स्थानीयले बताएका छन् । केही समययता निकुञ्जसँग जोडिएको अन्तर्राष्ट्रिय जैवीक मार्ग र शिव सामुदायिक वनमा बाघ फेला पर्दैआएको निकुञ्जका कर्मचारीले बताए ।

बाघसँगै चितुवाको संख्या उल्लेखनीय रुपमा सामुदायिक वनमा बढेको छ । चार वर्षयता दुईवटा पाठे बाघ मध्यवर्ती क्षेत्रमा आपसमा जुधेर मरेका थिए भने एउटा वयस्क बाघ मृत अवस्थामा फेला परेको जिल्ला वन कार्यालयले जनाएको छ । ९ सय ६८ वर्ग किमी क्षेत्रफल ओगटेको निकुञ्जका बबई उपत्याका र कर्णाली नदी तटीय क्षेत्र बाघको उचित बासस्थान मानिन्छ ।

बाघको संख्या बढ्दै गएपछि मानिसलाई आक्रमण गर्ने क्रम पनि बढेको स्थानीयहरूको गुनासो छ । विगत दुई वर्षयता बाघको आक्रमणबाट निकुञ्जको माहुतेसहित २० जनाको ज्यान गएको छ ।

प्रकाशित : मंसिर १२, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?