कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतपत्रमा संकेत भेटिएपछि गुल्मीको मतदान स्थगित

गुल्मी — कांग्रेस गुल्मीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतपत्रमा संकेत भेटिएपछि मतदान प्रक्रिया स्थगित भएको छ । शनिबार सदरमुकाम तम्घासमा भइरहेको मतदान प्रक्रियामा मतपत्रमा क्रम संख्या लेखेको फेला परेपछि मतदान प्रक्रिया स्थगित भएको हो ।

मतपत्रमा संकेत भेटिएपछि गुल्मीको मतदान स्थगित

मतदान प्रक्रिया चलिरहेका सात वटा बुथमध्ये मुसिकोट नगरपालिकाको एउटा बुथमा मतपत्रमा क्रम संख्या लेखिएको फेला पारेपछि सभापतिका प्रत्यासी वेद थापा मगरले उजुरी गरेको बताए । ‘निर्वाचनको अर्धकट्टीमा जसको नाम र क्रम संख्या लेखिएको छ, सोही अनुसारको क्रम संंख्या मतपत्रमा पनि लेखिएको भेटियो,’ उनले भने, ‘मतपत्रमै क्रम संख्या लेखेपछि कसले कसलाई भोट हालेको भन्ने प्रस्ट खुल्ने भएकाले मतदान प्रक्रिया स्थगित गरी पुन:मतदान गराउन माग गरिएको हो ।’

मतपत्रमा क्रम संख्या लेखेको फेला परेकाले मतदान स्थगित गरिएको निर्वाचन अधिकृत सतिश झाले बताए । ‘मतपत्रमा क्रम संख्या नलेख्ने विश्वव्यापी मान्यता भएपनि मुसिकोट नगरपालिकाको मतदान गराउने साथीहरूले भूलवश मतपत्रमै क्रम संख्या लेख्नु भएको रहेछ,’ उनले भने, ‘मैले यो गल्ती भेटेपछि मुसिकोट नगरपालिकाको मात्रै मतदान प्रक्रिया स्थगित गरेको हो, १२ मध्ये बाँकी११ स्थानीयतहको मतदान सम्पन्न भइसकेको छ ।’

निर्वाचन अधिकृत झाले मुसिकोटको मत्रपत्रमा मात्रै त्रुटि रहेकाले पार्टीको केन्द्रीय कार्यालयसँगको समन्वयमा स्थगित भएको मतदान प्रक्रिया आइतबार बिहान ९ बजेदेखि ११ बजेभित्र पुन:सुरु गर्ने सूचनाजारी गरेको बताए । ‘९ देखि ११ बजेसम्म मतदान सुरु भएन भने ३ बजेसम्म समय थपहुन सक्छ,’ उनले भने । तर, अध्यक्षका प्रत्यासी मगरले भने मुसिकोटको मात्रै नभई सबै स्थानीय तहकै पुन:मतदान गराउनुपर्ने माग गरेका छन् । उनले पुन:निर्वाचनको विषयमा भने आफूहरूसँग छलफल नै नभएको बताए । ‘मुसिकोटको मात्रै होइन, सबै मतपत्रमा त्रुटि भएकाले पुन:मतदान गराउनुपर्छ भन्ने हाम्रो माग हो,’उनले भने, ‘तर पुन: निर्वाचनको विषयमा हामीसँग छलफल नै नगरी एकतर्फी तोकिएको पुन: मतदान प्रक्रियामा हाम्रो सहमति छैन ।’

कांग्रेस गुल्मीको सभापति पदका लागि निवर्तमान जिल्ला सचिव खिलध्वज पन्थी र कालिगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष (जनप्रतिनिधि) वेद मगर प्रतिस्पर्धामा रहेका छन् । पन्थी पौडेल पक्ष र मगर देउवा पक्षधर हुन् ।

नेतृत्व छनोटका लागि जिल्लाका१ हजार ७ सय ६६ जना क्षेत्रीय प्रतिनिधि रहेको निर्वाचन अधिकृत झाले जानकारी दिए । जसमध्ये गुल्मीका संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट९ सय ३९ जना र क्षेत्र नम्बर २ बाट ८ सय २७जना क्षेत्रीय प्रतिनिधि मतदाता छन् । जिल्ला कार्यसमितिमा ७ पदाधिकारीसहित ४५ सदस्य रहने व्यवस्था छ ।

प्रकाशित : मंसिर १२, २०७८ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?