१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२
कांग्रेस महाधिवेशन

रुपन्देहीमा देउवा र पौडेल पक्षको मिश्रित परिणाम

लुम्बिनी — नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देहीमा सम्पन्न निर्वाचनमा संस्थापन र इतर पक्षको मिश्रित नतिजा आएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट रुपन्देहीमा सम्पन्न निर्वाचनमध्ये दुईवटा क्षेत्रमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीको क्षेत्र नं. ४ र ५ मा सर्वसम्मत भएको हो । 

रुपन्देहीमा देउवा र पौडेल पक्षको मिश्रित परिणाम

रुपन्देही क्षेत्र नं. १ मा हिरा केसी निर्वाचित भएका छन् । पार्टीको १४औं महाधिवेशनअन्तर्गत सोमबार भएको क्षेत्रीय अधिवेशनबाट केसी पुन: क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । विश्वनाथ यादवसँग भएको प्रतिस्पर्धामा सभापतिमा विजयी केसीले ३ सय ९६ मत प्राप्त गरे भने यादवले २ सय १५ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिवमा बैजनाथ शाहनी र विजय गुरुङ् तथा सहसचिवमा नरबहादुर थापा (सुरज) र मोहम्मद रजा पठान चयन भएका छन् । उक्त क्षेत्रमा ७ महिला चुनिएका छन् । सचिव र सहसचिवमा विजयी उम्मेदवार पनि केसी समूहकै हुन् । केसी शेरबहादुर देउवा निकट उम्मेदवार हुन् । महाधिवेशन प्रतिनिधिमा भने मिश्रित परिणाम आएको छ ।

त्यस्तै, रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन् । मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट पौडेल समूहका लम्साल निर्वाचित भए । सभापतिमा विजयी लम्सालले प्रतिस्पर्धी काजिमान श्रेष्ठलाई हराए । सो क्षेत्रमा ८ जना संस्थापन पक्षका उम्मेदवार विजयी भए भने अन्य सबै पौडेल पक्षका हुन् ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा समूहका सुशील गुरुङको प्यानल विजयी भएको छ । क्षेत्रीय सभापतिमा निर्वाचित गुरुङ १ सय ३५ मतान्तरले विजयी भएका हुन् । पौडेल समूहका उम्मेदवार मात्रिका यादव र अर्का उम्मेदवार महेन्द्रप्रसाद यादवले हार व्यवहोरे । सचिव पदमा भवानीप्रसाद शर्मा र लेखनाथ भट्टराई निर्वाचित भए । महाधिवेशन प्रतिनिधिमा पनि सबै देउवा समूहका उम्मेदवार विजयी भएका छन् ।

अधिवेशनबाट क्षेत्र नं. ४ को सभापतिमा मुकेश यादव निर्विरोध निर्वाचित भएका हुन् । क्षेत्रीय अधिवेशनबाट सचिवमा राजमन हरिजन र गणेश चौधरी तथा सहसचिवमा राजेन्द्र यादव र गणेश गौतम चयन भए । विजयी समूहका २० जना रामचन्द्र पौडेल पक्षधर र ५ जना संस्थापन तर्फका रहेका छन् ।

त्यस्तै क्षेत्र नं. ५ को सभापतिमा वसिउल्लाह मुसलमान सर्वसम्मत भएका हुन् । दुवै क्षेत्रमा पदाधिकारी र महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए । उक्त समूह भरत शाह पक्षधरको रहेको छ । जिल्लामा भरत शाह रामचन्द्र पौडेल पक्षमा देखिए पनि केन्द्रमा नखुलेको बुझिएको छ ।

प्रकाशित : मंसिर ९, २०७८ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?