कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक जीर्ण, सवारी बढेको बढ्यै

२ अर्ब ३५ करोड लागत अनुमान गरिएको सडक विस्तार अलपत्र
सडक निर्माण पूरा भए प्यूठान, दाङ, रोल्पा, गुल्मी, अर्घाखाँचीका स्थानीयलाई राजधानी काठमाडौं जान वैकल्पिक मार्ग हुने
शमशेरविक्रम जीसी

प्यूठान — जिल्लाको व्यस्त सडक बाग्दुला–मच्छी–ठूलाबेंसीमा दैनिक दर्जनौं गाडी ओहोरदोहोर गर्छन् । सवारी साधनको चाप बढेको बढ्यै छ । त्यस अनुसार यात्रा भने सहज छैन । ठूलाबेंसीदेखि बाग्दुलासम्म सडकको अवस्था बिजोग छ । ठाउँठाउँमा भासिएको र ठूलठूला खाल्डा परेकाले धरापजस्तै बनेको छ ।

खाल्डाखुल्डीले दुर्घटनाको जोखिमसमेत बढाएको सवारी साधन चालकहरू बताउँछन् । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्नै सकस हुने गरेको प्यूठान–गुल्मी गाडी गुडाउँदै आएका चालक वसन्त थापाले बताए । ‘मच्छीदेखि बाग्दुला १२ किलोमिटर सडक पार गर्न एक घण्टाभन्दा बढी समय लाग्छ । ठाउँठाउँमा सडक जाम परिरहन्छ । धूलो खाँदै हिँड्नुपर्छ,’ चालक थापाले भने, ‘बाटो देख्दा फर्किएर फेरि आऊँजस्तै लाग्दैन ।’ बाग्दुला–भीमगिठे सडक बनाउने भन्न थालेको धेरै वर्ष भयो तर काम अझै भएको छैन ।

‘नयाँ गाडी निकालेर यो रुटमा चलाएको ६ महिनामै गाडी पुरानो हुन्छ,’ गाडीधनी नवराज पोख्रेलले भने, ‘भगवान् भरोसा अहिलेसम्म त्यस्तो क्षति भएको छैन ।’ सडक सुधार विकास आयोजनामार्फत काम हुने भएपछि उक्त सडकको नियमित मर्मतसमेत हुन छाडेको छ । बाग्दुलादेखि बाग्लुङको भीमगिठेसम्म ७३ दशमलव ६ किमि दूरीको नयाँ र पुरानो सडकको कालोपत्र हुँदैछ । बाग्दुलादेखि गौमुखी–१ अर्खासम्म ४४ किलोमिटर कच्ची सडक निर्माण भइसकेको छ । अर्खाबाट बाग्लुङको भीमगिठेसम्म मात्रै नयाँ ट्र्याक खुल्न बाँकी छ । २ अर्ब ३५ करोड लागत अनुमान गरिएको उक्त सडक खण्ड विस्तारको काम अहिले अपलत्र छ ।

यो सडकसँगै ठेक्का भएको लमही–घोराही–तुल्सीपुर र चन्द्रौटा–कृष्णनगर सडकको ठेक्का सम्झौता भएर काम अन्तिम चरणमा पुगिसकेको छ । तर, बाग्दुला–भीमगिठे सडकको हालसम्म पनि ठेक्का सम्झौता भएको छैन । डिजाइन इस्टिमेट सकेर निर्माणको प्रक्रियाका लागि एकपटक टेन्डर भए पनि ठेकेदार कम्पनी बैंकको कालोसूचीमा पर्दा काम प्रभावित भएको आयोजना प्रमुख पारसमणि हमालले बताए । ‘अहिले नयाँ ठेक्का खोलेर काम सुरु हुने प्रक्रियामा छ,’ उनले भने, ‘अब लामो समय पर्खनु पर्दैन ।’ ट्र्याक खोलिएको ४४ किमि सडकलाई ९ मिटर चौडा बनाएर ७ मिटर कालोपत्र गर्ने उनले बताए । यस सडकले प्यूठानतर्फ प्यूठान नगरपालिका, झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रलाई समेटेको छ भने गुल्मीको मदाने गाउँपालिकाको अग्लुङ र बाग्लुङको बडीगाड गाउँपालिका समेटेको छ ।

यो सडक खुले प्यूठानको दोस्रो पवित्र धार्मिक तीर्थस्थल गौमुखीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए । ‘गौमुखीको पर्यटन प्रवर्द्धनमा यो सडक कोसेढुंगा साबित हुने आशा गरेका छौं,’ उनले भने, ‘सम्भावना हुँदाहुँदै पनि चुप लागेर बस्नुको विकल्प अहिले छैन ।’ सडकको सन् २०१६ मा विस्तृत सर्वे गरिएको थियो । यो सडक निर्माण पूरा भए प्यूठान, दाङ, रोल्पा, गुल्मी, अर्घाखाँचीका स्थानीयलाई राजधानी काठमाडौं जाने वैकल्पिक मार्गसमेत हुनेछ । म्याग्दी, बाग्लुङ, गुल्मी, अर्घाखाँचीका स्थानीयलाई पूर्व–पश्चिम राजमार्ग भएर पश्चिम यात्रा गर्न पनि यो बाटो सहज हुनेछ । यो सडकले लुम्बिनी प्रदेशका विभिन्न धार्मिक तीर्थस्थलहरू लुम्बिनी, स्वर्गद्वारी आउने पर्यटकलाई मुक्तिनाथ र पूर्वको यात्रामा पनि सहज हुनेछ ।

यो सडकले दाङको कोइलावास, प्यूठान, बाग्लुङ, म्याग्दीको बेनी र मुस्ताङ हुँदै चीन जोड्ने लक्ष्य राखेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको भालुबाङदेखि भीमगिठेसम्म १ सय ३२ किमि दूरीमा मध्यपहाडी राजमार्ग जोडिन्छ । भालुबाङ–बाग्दुला ५९ किमि दूरी यसअघि नै कालोपत्र भइसकेको छ । ‘यो सडक निर्माणले पछाडि परेको गौमुखीको आर्थिक विकासमा टेवा पुग्ने आशा गरिएको छ,’ गौमुखी गाउँपालिका उपाध्यक्ष तुल्सी सुनारले भनिन्, ‘स्वर्गद्वारी, गौमुखी हुँदै मुक्तिनाथ जान यस सडकले जिल्लाको पर्यटकीय ढोका खोल्नेछ ।’ जिल्लाको विकट गौमुखी राजमार्गसँग जोडिएपछि यहाँको स्थानीय उत्पादनले बजारसमेत पाउनेछ । गौमुखीमा कोदो, फापर, जौलगायत मौसमी एवं बेमौसमी तरकारी पनि उत्पादन हुँदै आएको छ ।

प्रकाशित : मंसिर २, २०७८ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?