कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

आधा मूल्यमा धान बिक्री

कान्तिपुर संवाददाता

नेपालगन्ज — हिउँदे बाली लगाउने किसानलाई अहिले मल किन्न धान बिक्री गर्ने हतारो भएको छ । यता व्यवसायीहरूले यसैको फाइदा उठाउँदै मनपर्दी मूल्यमा धान खरिद गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयले तोकेको धानको समर्थन मूल्यभन्दा करिब आधा मूल्यमा व्यवसायीले धान किनिरहेको किसानको गुनासो छ ।

आधा मूल्यमा धान बिक्री

भिजेको धान भन्दै व्यवसायीले १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म प्रतिक्विन्टल धान किनेका हुन् । नभिजेको धान मोटा २ हजार रुपैयाँ क्विन्टलमा बिक्री गर्नुपर्ने बाध्यता किसानलाई आइपरेको छ । ‘डीएपी मल नछरे हिउँदे बाली राम्रो हुँदैन । किसानसँग नगद पैसा हुँदैन । हामीसँग अहिले हुने भनेको धान हो,’ जानकी गाउँपालिका मानपुरका राममनोहर मिश्रले भने, ‘यस वर्ष धान किन्ने व्यापारीको मानोमानी छ । भिजेको धानबाट चामल नआउने भन्दै निकै कम मूल्यमा धान खरिद गरिरहेका छन् ।’

उनले किसानहरूको बाध्यताको फाइदा व्यवसायीले उठाइरहेको गुनासो पनि गरे । एक बोरा डीएपी मल किन्न किसानलाई दुई क्विन्टल धान बिक्री गर्नु परेको उनले सुनाए ।

यस वर्षका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगन्जलाई धान खरिदका लागि स्थानीय प्रशासनले मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ५२ रुपैयाँ समर्थन मूल्य तोकेको छ । त्यस्तै मध्यम धान प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको छ ।

प्रकाशित : कार्तिक २७, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×