कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

कमल पन्थी

बर्दिया — गेरुवा गाउँपालिका—४ ढुकनियामा बाघले आक्रमण गर्दा सोमबार राति एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट सोही ठाउँका ३७ वर्षीय जनकबहादुर थारुको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

भैंसी चराउन गएका उनलाई सोमबार साँझ करिब ५ बजे आक्रमण गरेको थियो । उनको शव गेरुवा नदीको तटिय क्षेत्रको कासघारी जंगलमा राति करिब साढे ११ बजे फेला परेको छ । बाघले जंगलमा लगेपछि उनको खोजीका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट ४ वटा हात्ती परिचालन गरिएको थियो ।

उनीसँगै भैंसी चराउन गएका गोठाला ज्यान जोगाएर भागेका थिए । थारुको खोजीका लागि निकुञ्जका कर्मचारी, नेपाली सेना परिचालन गरिएको थियो । निकुञ्ज लगायत सशस्त्र प्रहरी बल, नेपाल प्रहरी पनि त्यसतर्फ खोजीका लागि परिचालन भएका थिए । विगत तीन वर्षयता बाघको आक्रमणमा बर्दियामा २० जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : आश्विन २६, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?