बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार

बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

कमल पन्थी

बर्दिया — गेरुवा गाउँपालिका—४ ढुकनियामा बाघले आक्रमण गर्दा सोमबार राति एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट सोही ठाउँका ३७ वर्षीय जनकबहादुर थारुको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

भैंसी चराउन गएका उनलाई सोमबार साँझ करिब ५ बजे आक्रमण गरेको थियो । उनको शव गेरुवा नदीको तटिय क्षेत्रको कासघारी जंगलमा राति करिब साढे ११ बजे फेला परेको छ । बाघले जंगलमा लगेपछि उनको खोजीका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट ४ वटा हात्ती परिचालन गरिएको थियो ।

उनीसँगै भैंसी चराउन गएका गोठाला ज्यान जोगाएर भागेका थिए । थारुको खोजीका लागि निकुञ्जका कर्मचारी, नेपाली सेना परिचालन गरिएको थियो । निकुञ्ज लगायत सशस्त्र प्रहरी बल, नेपाल प्रहरी पनि त्यसतर्फ खोजीका लागि परिचालन भएका थिए । विगत तीन वर्षयता बाघको आक्रमणमा बर्दियामा २० जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : आश्विन २६, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

भद्रकालीको दर्शन गर्न श्रद्धालुको भीड

तस्बिर : केशव थापा

काठमाडौँ — मंगलबार काठमाडौंको सहिदगेट नजिकै रहेको भद्रकालीको दर्शन गर्न श्रद्धालुहरूको भीड लागेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस वर्षको फूलपाती हनुमान ढोकास्थित दसैं घरमा साढे ४ बजे भित्र्याइँदैछ ।

नवरात्रिको सातौं दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । कालरात्रिको भक्तजनहरुले ९ दिनसम्म विभिन्न देवी र शक्तिपीठमा गएर दर्शन गर्ने चलन छ । भद्रकाली पनि एक शक्तिपिठ हो ।


प्रकाशित : आश्विन २६, २०७८ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×