कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसले नाम दिन नसकेपछि रोकियो लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

पदाधिकारी बैठकमा सहमति नजुटेपछि एक मन्त्रीको नाम टुंगो लगाउन संसदीय दल नेता काठमाडौं प्रस्थान
घनश्याम गौतम

बुटवल — गठबन्धनको मुख्य दल कांग्रेसले मन्त्रीको नाम दिन नसकेपछि लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार रोकिएको छ ।  बिहीबार माओवादी केन्द्रको संसदीय दलको बैठकले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेर दिउँसो तीन बजे शपथ गराउने गरी तयारी गरेको थियो ।

कांग्रेसले नाम दिन नसकेपछि रोकियो लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

माओवादी तर्फका मन्त्रीको टुंगो लागे पनि कांग्रेसले पाएको चारमध्ये तीन जनाको नाम टुंगो लगाउन सकेको छैन । बर्दियाका सुरेन्द्र हमाल र रूपन्देहीका बसिउद्धिन खाँ मन्त्री बन्ने पक्का जस्तै छ । तर, पाल्पाका वीरबहादुर राना र रूपन्देहीकै अष्टभुजा पाठकमध्येबाट एक जनाका नाम छनोट हुन नसकेपछि त्यसको टुंगो लगाउन कांग्रेसले केन्द्रमा अनुरोध गरेको छ ।

कांग्रेसकी प्रदेशसभा सचेतक निर्मला क्षेत्रीका अनुसार शुक्रबार विस्तारका तयारी भए पनि केन्द्रबाट शुक्रबार दिउँसोसम्म पनि नाम टुंगो नलागेपछि मन्त्रिमण्डल विस्तार र शपथ आइतबारसम्मका लागि रोकिएको हो । कांग्रेसले यसअघि दाङका डिल्लीबहादुर चौधरीलाई पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री बनाएको छ । त्यस्तै वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय भएपनि ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्रीमा कसलाई पठाउने भन्ने टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको हो ।

कांग्रेसले दुई राज्यमन्त्री पाउने सहमति भएको छ । त्यसमा पनि कांग्रेसका सचेतक निर्मला क्षेत्री र कपिलवस्तुकी रिना नेपाल र दाङका अर्जुन श्रेष्ठको दाबी छ । एक मन्त्री र दुई राज्यमन्त्रीको नामको विषयमा प्रदेशको पदाधिकारी बैठकबाट सहमति जुटाउन नसकेपछि मन्त्रिपरिषद् विस्तार र शपथको कार्यक्रम आइतबारका लागि सारिएको नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए ।

‘हामीले सबैको परामर्श र सहमतिमै सरकार विस्तार गर्न खोजेका छौं,’ उनले भने, ‘सबै सक्षम भएकाले आकांक्षी हुन स्वभाविकै भए पनि संख्या कम भएकाले केन्द्रबाटै टुंगो लगाउने प्रयासमा छौं ।’ केन्द्रीय नेतासँग परामर्श गरेर तीन मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनोडिया शुक्रबार नै काठमाडौं गएका छन् । काठमाडौंमा सकेसम्म शनिबार विहानसम्म सहमति जुटाएर सरकार विस्तार गर्ने प्रयासमा कांग्रेस माओवादी दुवै दल रहेको उनले बताए ।

माओवादीले भने आफ्नो कोटामा परेका दुई मन्त्रालयका लागि दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्माको टुंगो लगाएको छ । माओवादी कोटामा परेको एक मन्त्रालय भने नेकपा (एकीकृत समाजवादी)लाई परेको छ । नेकपा (एस)बाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछिन् । त्यस्तै माओवादीले दाङकी विमला खत्री वलीलाई राज्य मन्त्री बनाउने तयारी गरेको छ । तर, माओवादीभित्रैबाट उनको नाममा विरोध भएपछि परिवर्तन गर्ने चर्चा पनि चलेको छ । माओवादीका एक नेताका अनुसार विमलाको नाम हटेमा कपिलवस्तुकी सुष्मा यादव मन्त्री बन्ने सम्भावना छ ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि नै मुख्यमन्त्रीसहित माओवादीका दुई, कांग्रेसका एक, जसपाका तीन र स्वतन्त्र एक गरी ७ सदस्यीय मन्त्रालय गठन भएको थियो । जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाध्य प्रविधि तथा भूमि व्यवस्था पाएको छ । त्यस्तै स्वतन्त्रका अजय शाही उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् ।

प्रकाशित : आश्विन २२, २०७८ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?