कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलिलैमा सीप सिकेका दलराज

चोयाबाट घरायसी प्रयोजनका लागि चाहिने सम्पूर्ण वस्तु निर्माण गर्छन् । यही सीपलाई निखार्दै निरन्तरता दिने योजना उनको छ ।
हरि गौतम

रुकुम पूर्व — दलराज रसाइलीको योजना अब पढ्ने/लेख्ने भन्ने छैन । २०७७ सालको एसईईमा सहभागी हुनुपर्ने बेला उनी कोरोना संक्रमित भए । शिक्षकको मूल्यांकनका आधारमा एसईई उत्तीर्ण भइसकेका छन् । आर्थिक अवस्था कमजोर छ । प्राविधिक विषय पढ्न मन लागे पनि सम्भव नरहेको उनले बताए । ‘अब पढाइ बिट मार्ने निधो गरिसकेको छु,’ १९ वर्षीय रसाइलीले भने, ‘आर्थिक अवस्थाका कारण पढाइ छोड्नुपर्ने निष्कर्षमा पुगेको हुँ ।’ 

कलिलैमा सीप सिकेका दलराज

उनको सीपको भने जिल्लाभर चर्चा छ । निगालोका चोयाबाट उनले विभिन्न बस्तु निर्माण गर्छन् । हातमा चोया खेलाएर घरायसी प्रयोजनका लागि चाहिने सम्पूर्ण वस्तु निर्माण गर्ने सीप छ । अब पढाइ छाडेर त्यही सीपलाई थप निखार्दै निरन्तरता दिने योजनामा रहेको उनले बताए ।

आठ वर्षको उमेरदेखि उनी चोयामा खेल्न थालेका हुन् । सिस्ने गाउँपालिका–२, लैपाका रसाइलीले ११ वर्षसम्म पूर्ण सीप सिकेका छन् । आफैंले खोजेर, अरु बस्तु हेरेर उनले दुरुस्तै वस्तु निर्माण गर्छन् । चोयाको डोको, सुपो (नाङ्लो), मान्द्रो, झर्ना अर्थात् थुन, अन्नपानी भण्डारणका लागि चाहिने स्थानीय डाला पनि उनले सजिलै बुन्छन् । यी बाहेक चोयाबाट बन्ने हरेक वस्तु बुन्न उनलाई कुनै असजिलो छैन । सुरुमा घरमा रहेका यी बस्तु हेरेर बुन्न सिकेका थिए । बाबु, बाजे र अरु छिमेकीले बुनेको देखेका उनी पछि आफैं यी बस्तु बनाउनमा ध्यान लाए । कक्षा ३ देखि नै यो सीप सिक्न लागेका उनी दैनिक विद्यालय जाँदा पनि यो सीप सिकिरहेका हुन्थे । घरभन्दा २ घण्टा टाढा विद्यालय थियो । दिउँसो विद्यालय जाने उनी बिहान र बेलुका काम गर्थे ।

‘यस क्षेत्रमा पाइने र चोयाबाट बन्ने हरेक चिज सजिलै बुन्न सक्छु,’ उनले भने, ‘निरन्तर प्रयास गर्दा सकिने रहेछ । अब त बिनाकुनै झन्झट एकैछिनमा ती सामग्री तयार गर्न सक्ने भइसकें ।’ सुरु–सुरुमा काम गर्न ढिला हुने भए पनि पूरै सीप सिकेपछि बुन्न पनि समय नलाग्ने उनले बताए । उनले तयार पारेका ती वस्तु घरमै प्रयोग हुन्छन् । बाहिर बिक्री गर्ने वातावरण छैन । ‘त्यसैले कति वस्तु घरमै प्रयोग हुन्छन्, कति वस्तु आफन्तलाई बाँडेरै सकिन्छ,’ उनले भने, ‘यो बिक्रीको वातावरण बनेपछि धेरै सजिलो हुने थियो ।’ उनले यो सीप अरुलाई पनि सिकाएका छन् । १४ वर्षे सृजन र १५ वर्षका प्रदीपलाई पनि उनले यसमा पारङ्गत बनाएका छन् । उनीहरूले पनि रहर गरेपछि आफूले सिकेको सीप सिकाइदिएको रसाइलीले बताए ।

यसपटक भने उनले केही सामग्री बेच्न सकेका छन् । सिस्ने गाउँपालिकाको केन्द्र रुकुमकोटमा सञ्चालित कोसेली घरबाट उनका केही सामग्री बिक्री भएका हुन् । दुईवटा डोको, आठवटा सुपो र दुईवटा मान्द्रो बिक्री भएको उनले सुनाए । उनी आफैंले बनाएका यी सामग्री देखेपछि जिल्लामा उनको सीपको चर्चा भएको हो । स्वाभिमान दलित उत्थान सहकारीले सञ्चालन गरेको कोसेली घरमा दलराजले बुनेका सामग्री आइपुगेपछि सबैको नजर परेको थियो । सहकारीका अध्यक्ष हर्कवीर कामीले सानै उमेरमा राम्रो सीप विकास गरेको पाइएको बताए । ‘पहिलो कुरा, अहिले यस्ता बस्तु अभाव हुन लागिसके,’ उनले भने, ‘दोस्रो कुरा यो उमेरका किशोरले यस्तो खाले सामग्री उत्पादन गर्ने रहेछन् भन्ने पनि देखियो ।’

प्रकाशित : आश्विन २१, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?