कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले घर बगाएपछि भाडाको बास

आर्थिक सहयोग उपलब्ध गराउने उपमहानगरको प्रतिबद्धता घोषणामै सीमित
सन्जु पौडेल

लुम्बिनी — बुटवल–३, ज्योतिनगरका ५९ वर्षीय प्रेमप्रसाद आचार्यका आँखा असोज ४ यता ओभाएका छैनन् । ६ कोठे पक्की घर पहिरोले पुरिएपछि परिवारको बिचल्ली भएको छ । उनीहरू बुटवल–११ बेसक्याम्पस्थित टिनले छाएको एउटा घर भाडामा लिएर अहिले गुजारा गरिरहेका छन् ।

पहिरोले घर बगाएपछि भाडाको बास

आफ्नो घर पुरिएपछि मासिक १५ हजार रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता थपिएको उनले बताए । ‘जीवनभरि मिहिनेत गरेर कमाएको पैसाले बनाएको घर एकै क्षणमा ध्वस्त भएपछि विक्षिप्त छु,’ नगरपालिकाका पूर्वकर्मचारीसमेत रहेका उनले भने, ‘नगरपालिकाबाट अवकाश पाएपछि बस्न थालेको घर हो । अब त्यही रहेन ।’

आचार्यका चार सन्तानमध्ये दुई छोरीको विवाह भइसकेको छ । एक छोरा र कान्छी छोरी क्याम्पस तहमा अध्ययन गरिरहेका छन् । ‘सबै सामान पुरिएकाले अहिले एक छाक खान तड्पिनुपर्ने अवस्था आएको छ,’ उनले भने । त्यही पिरले बिरामी पर्न थालेको उनले सुनाए । गत असोज ४ गते बिहान एक्कासि खसेको पहिरोले आचार्यको ज्योतिनगरस्थित घर पुरेको हो । बुटवलको बाक्लो बस्ती रहेको क्षेत्रमा यसरी पहिरो खस्ला भन्ने उनले सोचेकै थिएनन् । ‘म रेलिङ समातेर जोगिएँ,’ उनले भने, ‘श्रीमती र छोरीलाई पहिरोले बगायो । छिमेकीले उद्धार गरे ।’

आचार्यका छिमेकी सुशील पंगेनीको ६ जनाको परिवार पनि अहिले भाडामा बस्न थालेको छ । कपडा पसलमा काम गर्ने उनले भदौ १४ गते पहिरो खस्दा घरमा केही हिलो पसे पनि त्यो हटाएर बसेको सुनाए । असोज ४ गतेको पहिरोले घरै पुरिएपछि आफूहरूको पनि बिचल्ली भएको उनले बताए । बूढी आमा, भाइबहिनी, श्रीमती र चार वर्षीय सन्तानलाई पाल्ने जिम्मा आफूमा रहेकाले घर नहुँदा पर्ने अप्ठ्यारो भोग्न थालेको बताए । ‘छाप्रो नै किन नहोस्, आफ्नै घर चाहिने रहेछ,’ उनले भने, ‘अरुकहाँ बस्दा सबै कुरामा बन्धनजस्तो भइने रहेछ ।’

माटोको ५ कोठे घर हेर्दाहेर्दै हिलोमा पुरिएपछि भूपेन्द्रसिंह गुरुङको दिमागले काम गर्न छोडेको छ । बिहानदेखि बेलुकासम्म मिस्त्री काम गरेर बनाएको घर नरहेपछि पीडा भएको उनले बताए । २०३६ सालदेखि ज्योतिनगरमा बस्दै आएका उनले विगतमा पहिरो आउँदा आफ्नो घरतिर पहिरो नपसेकाले घर त के बगाउला भनेर ढुक्क बस्दा घर बगेको बताए । भूपेन्द्र श्रीमतीसहित अहिले छिमेकमै एक कोठा भाडामा लिई बसिरहेका छन् । प्रेमाकुमारी राना सात सदस्यीय परिवार लिएर कालिकानगरमा कोठा भाडामा लिएर बस्दै आएकी छन् । श्रीमान्ले विदेशमा दुःख गरी कमाएर बनाएको घर मासिएपछि रातभरि निद्रा नलाग्ने उनले सुनाइन् ।

गएको असोज ४ गते खसेको पहिरोले बुटवल–३, ज्योतिनगर, चेतना टोलका सात घरमा क्षति गरेको थियो । ती ७ परिवार अहिले कोठा भाडामा लिई बसिरहेका छन् । उनीहरूलाई चाड नजिकिंदा आफूहरू भने घरविहीन भएको चिन्ताले सताएको छ । घर नै नभएपछि चाडपर्व मनाउने कुनै हर्ष नभएको पीडितहरूले सुनाए । उनीहरूको घरमा पहिरो आउनुअघि ज्योतिनगरकै अन्य भागमा क्षति भइसकेको थियो । यी परिवारले घर नै लैजाने गरी पहिरो आउला भन्ने कल्पना नगरेको बताए । टोलका सबै जना एउटै परिवार जसरी बसेको र पहिरोले सबैलाई छुट्याएपछि आफूहरूबीचको सम्बन्ध समेत चिसिने डर भएको दुखेसो पोखे । पहिरोले विनाश पारेका घर हेर्न उनीहरू भाडाको घरदेखि बिहानै हिँड्छन् । दिनभरि पुरिएको घर वरपर बस्ने, रुमल्लिने र बेलुका मात्र भाडाको कोठामा फर्कने गरेको उनीहरूले सुनाए ।

बुटवल उपमहानगरपालिकाले ज्योतिनगर क्षेत्रका पहिरोबाट विस्थापित भएका पीडितलाई अस्थायी आवासका लागि घरबहाल खर्च रकम सहयोग गर्ने बताएको थियो । पहिरोले क्षतिग्रस्त स्थानमा उपमहानगर प्रमुख शिवराज सुवेदीसहितको टोली अनुगमनमा गएको थियो । नगर प्रमुख सुवेदीले बिचल्लीमा परेका परिवारलाई खाद्य राहत र भाडामा बस्दा तिर्नु पर्ने भाडा रकम दिने वचन दिएका थिए । आर्थिक सहयोग दिने घोषणा भएको हप्तादिन बितिसक्दा पनि आफूहरूले नपाएको पीडितले गुनासो गरे । वडाबाट दिने भनिएको खाद्यान्न भने पाएको उनीहरूले सुनाए ।

ज्योतिनगरमा २३ वर्षपछि पहिरो गएको हो । यसपटक ज्योतिनगर र लक्ष्मीनगरमा गरी २० घरमा क्षति भएको छ । पहिरोले घरमा क्षति पुर्‍याएपछि स्थानीय अन्यत्र बसाइँ सरेका छन् । उनीहरूले चुरेको व्यवस्थापन नगरेसम्म आफ्नो जमिनमा फिर्ता आएर बस्न नसक्ने गुनासो गरे ।

प्रकाशित : आश्विन २०, २०७८ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?