कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्माण नसक्दै पुल उद्घाटन

तीन पटक म्याद थपिए पनि एप्रोच सडक कालोपत्र भएन
हरि गौतम

रुकुम पूर्व — सिस्ने गाउँपालिकाका चार वडा जोड्न सानीभेरी नदीमा निर्माणाधीन पुलको काम नसकी उद्घाटन गरिएको छ । पुलको वारिपारिको एप्रोच सडक कालोपत्र नसकी बिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले उद्घाटन गरेका हुन् । 

निर्माण नसक्दै पुल उद्घाटन

पुल उद्घाटन गरिरहँदा वारिपारिको सडक डोजरले सम्याइरहेको थियो । पुल बनाउन तीनपटक म्याद थप गरिएको थियो । २०७५ पुस ३०, २०७७ पुस ३० र २०७८ असार २५ सम्म म्याद थपिए पनि काम भने सम्पन्न हुन सकेको छैन । पहिलो म्याद जिल्ला विकास समितिले नै थप गरेको हो भने त्यसपछिको म्याद लुम्बिनी प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालयले थपेको थियो ।

२०७५ असार ३० गते पुल निर्माणका लागि प्राविधिक कार्यालय र मृत सञ्जीवनी निर्माण सेवा हेटौंडाबीच सम्झौता भएको थियो । प्राविधिक कार्यालयले पोखरा–रुकुमकोट जोड्ने गरी तरवरास्थित सानीभेरी नदीमाथि सडक पुल बनाउनुपर्ने गरी निर्माण कम्पनीलाई जिम्मा दिएको हो ।

सिस्ने गाउँपालिका–६, ५, ४ र ३ नम्बर वडा जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको यस पुलबाट कर्णाली प्रदेशको बाँफीकोट गाउँपालिकाका बासिन्दा पनि लाभान्वित हुनेछन् । पुलको लम्बाई ८० मिटर छ । काम सम्पन्न नभएको भन्दै ठेकेदार कम्पनीलाई सम्पूर्ण भुक्तानी दिइएको छैन । ८ करोड ८६ लाख ८१ हजार ४ सय ८४ रुपैयाँमा निर्माण सम्पन्न गर्ने ठेक्का लिएको उक्त कम्पनीले ७ करोड ९१ लाख ९८ हजार ६ सय ६५ रुपैयाँ मात्रै भुक्तानी पाएको छ । पुल निर्माणपछि पुलको दुवैपट्टिको एप्रोच रोड कम्तीमा १ सय मिटर कालोपत्र गर्नुपर्ने हुन्छ । ठेकेदार कम्पनीले उक्त काम अहिले द्रुत गतिमा गरिरहेको छ । प्राविधिक समेत रहेका स्थानीय ओमप्रकाश थापाले पुलको काम पूर्ण रूपमा सम्पन्न नहुँदै उद्घाटन गरिएको बताए ।

पूर्वाधार विकास कार्यालयका प्रमुख गोविन्दबहादुर महत्राले भने उद्घाटनका बेला केही फिनिसिङको काम गरिएको भए पनि पुलमा गाडी चल्न थालेको जनाए । पुलबाट गाडी वारपार गर्न थालिसकेकाले पुल निर्माण भइसकेको उनको दाबी छ । सडक नै कालोपत्र नभएका कारण पनि पुलको वारिपारिको एप्रोच रोड कालोपत्र गर्नु नपर्ने उनको तर्क छ । ठेकेदार कम्पनीले पुलबाहिरको केही क्षेत्रसम्म ससाना पोल गाडेको छ । त्यहाँसम्मको सडक कालोपत्र गर्न बाँकी छ ।

प्रमुख महत्राले संघीय संरचनाका कारण तत्कालीन जिल्ला प्राविधिक कार्यालय विघटन हुनु, कामको स्वामित्व लिने निकाय नहुनु, कोरोना महामारी लगायतका कारण पुल निर्माणमा ढिलाइ भएको बताए ।

प्रकाशित : आश्विन १६, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?