कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाकामा कोरोनासँगै क्षयरोग परीक्षण

‘नोकरी गर्दा ज्यानको ख्याल हुँदैन, हेल्थ डेक्समा जाँच गरिदिँदा बेलैमा उपचार गर्न पाएँ’
मधु शाही

बाँके — हल्का खोकी लाग्दा उनको छाती दुख्थ्यो । मुम्बईमा कोठीमा काम गर्दा उपचार गराउने फुर्सद पाएनन् । बिरामी शरीरको बेवास्ता गर्दै बर्दियाका मन्सुर ऐरी ६ महिना जागिर गरेर गत साता मात्रै घर फर्किएका हुन् । पर्वको मौका छोपेर घर फर्किएका ५८ वर्षीय उनको जमुनाह नाकामा आइपुग्दा कोभिडसँगै क्षयरोग पनि परीक्षण गरियो । उनलाई डर कोभिडको थियो । तर, लक्षण क्षयरोगको देखिएकाले खकारको स्याम्पल हेल्थ डेक्समा छोडेर घर गएका थिए । 

नाकामा कोरोनासँगै क्षयरोग परीक्षण

केही दिनपछि उनलाई क्षयरोग लागेको सूचना हेल्थ डेक्स जमुनाह नाकाबाट खबर पुग्यो । क्षयरोग पनि सरुवा रोग हो । त्यसैले उनी सूचना पाउने बित्तिकै नजिकैको स्वास्थ्य चौकीमा डस्ट कार्यक्रमअन्तर्गत औषधि खाइरहेका छन् । संयुक्त परिवारमा बसेका ऐरीले बेलैमा क्षयरोग थाहा नपाएको भए अरूलाई पनि सार्न सक्थे । आफ्नो ज्यान पनि रोगले थलिन्थ्यो । भारतमा बिरामी परेका उनी नाकामा आएर बेलैमा रोग पत्ता लागेकामा अहिले खुसी छन् । ‘नोकरी गर्दा ज्यानको ख्याल हुँदैन, खानपिनको ध्यानै हुँदैन,’ उनले भने, ‘हेल्थ डेक्स जमुनाह नाकाले जाँच गरिदिंदा बेलैमा उपचार गर्न पाएँ ।’

सुर्खेतका ४८ वर्षीय केशव सुना गुजरातको एक चप्पल फ्याक्ट्रीमा काम गर्छन् । दुई सातादेखि लगातार बेलुका ज्वरो आउने लक्षण उनलाई भारतमा बस्दादेखि नै थियो । सिटामोल खाँदै ज्वरो टार्दै गर्थे । हल्का छाती दुख्दा कामको लोडले होला भन्दै बेवास्ता गरे । दिनको १२ घन्टा कारखानामा खटिंदा केशवले आफ्नै स्वास्थ्यको ख्याल राख्ने समय पाएनन् । फेरि खर्च जोगाउने चिन्ता पनि थियो । दसैंमा घर फर्किएका उनलाई नाकामा स्वास्थ्य परीक्षण गर्दा क्षयरोग लागेको पत्ता लाग्यो । ‘आफ्नै घर आएर रोग पत्ता लाग्यो,’ उनले भने, ‘महिना पुर्‍याएर औषधि खान्छु अनि फेरि कमाउन उतै (भारत) जान्छु ।’

रोल्पाका कर्मर गुरुङ बिरामी भएर काम गर्न नसकेपछि घर फर्किर्एका छन् । सिमलामा स्याउ टिप्न गएका उनी तीन महिनामै शरीर कमजोर भएपछि घर फर्किएका हुन् । थकाइ लाग्ने, शरीर दुख्ने र मनोवल घढ्दै गएको उनले बताए । रुघा र ज्वरोको लक्षण भने उनलाई देखिएको थिएन । नेपाल आउँदा नाकामा उनलाई हेल्थ डेक्सका स्वास्थ्यकर्मीले क्षयरोग हुन सक्ने बताए । नमुनाका रूपमा खकार जाँच गर्न दिएका कर्मरले बेलैमा रोग थाहा पाउँदा उपचार सुचारु गर्न सजिलो भएको बताए । जमुनाह नाकामा पछिल्लो ६ महिनायता हेल्थ डेक्समा भारतबाट आउने मजदुरमा कोरोनासँगै एचआईभी/एड्स, मलेरिया र क्षयरोगजस्ता सरुवा रोगको जाँच गर्न थालिएको छ । जनशक्ति, स्रोत साधन र व्यवस्थापनको अभावले भारतबाट आएका सबैको परीक्षण सम्भव नभए पनि लक्षण देखिएका बिरामीको तुरुन्तै जाँच भइरहेको हेल्थ डेस्कका अधिकारीले बताए ।

हेल्थ डेक्सका ल्याब टेक्निसियन चिरन्जीवी ज्ञवालीका अनुसार दुई महिनामा २ हजारको क्षयरोग स्क्रिनिङ गर्दा चार जनामा लक्षण पुष्टि भएको छ । खास गरी भारतको गुजरात, मुम्बई, दिल्लीजस्ता सहरबाट आएका मजदुरमा क्षयरोग र कोभिड देखिएको उनले बताए । लक्षण पुष्टि भइसकेकालाई जिल्लामा जानकारी गराउने र स्थानीय तहको सहकार्यमा बिरामीलाई तुरुन्तै उपचार गर्न लगाउने गरिएको उनले सुनाए । कोभिडमा ध्यान केन्द्रित हुँदा मलेरिया र क्षयरोगजस्ता अरू सरुवा रोगको रोकथाम हुन नसकेको उनले सुनाए । ‘कुनै पनि किसिमको सरुवा रोग फैलिन नदिन नाकामा कडाइ गर्न जरुरी छ,’ उनले भने, ‘हेल्थ डेक्सले सकेसम्म रोकथाम गर्ने प्रयास छ । यद्यपि, सबैको जाँच गर्न सम्भव नहुँदा चुनौती पनि उस्तै छ ।’

प्रकाशित : आश्विन १४, २०७८ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?