कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यवर्ती क्षेत्र घोषणाको विरोध

‘सिकार आरक्षले जबरजस्ती हामीलाई मध्यवर्ती क्षेत्रभित्र राख्न खोजेको छ, यसको प्रतिवादको विकल्प छैन’
हरि गौतम

रुकुम पूर्व — नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षले गर्न लागेको मध्यवर्ती क्षेत्र घोषणालाई स्थानीयले विरोध जनाएका छन् । बाग्लुङमा मुख्य कार्यालय रहेको आरक्षले केही दिनमा यस जिल्लाको केही क्षेत्रलाई सिकार आरक्षको मध्यवर्ती क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । त्यसको पूर्वसन्ध्यामा पुथाउत्तरगंगा गाउँपालिकाका बासिन्दाले त्यसको प्रतिवाद गर्ने गरी निर्णय गरेका हुन् । 

मध्यवर्ती क्षेत्र घोषणाको विरोध

गाउँपालिकास्थित सम्पूर्ण राजनीतिक दलले मध्यवर्ती क्षेत्र घोषणा गर्न नदिने गरी निर्णय गरेका छन् । गाउँपालिकाको आयोजनामा भएको छलफलमा गाउँपालिकामा क्रियाशील, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस लगायतले एकमत रूपमा त्यस क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणालाई अवरोध गर्ने जनाएका हुन् ।

‘हामी मध्यवर्ती क्षेत्रका बासिन्दा हुन राजी छैनौं,’ स्थानीय अमित पुन मगरले भने, ‘सिकार आरक्षले जबरजस्ती हामीलाई मध्यवर्ती क्षेत्रभित्र राख्न खोजेको छ, यसको प्रतिवादको विकल्प छैन ।’ स्थानीयको रोजीरोटी र गुजारामाथि सिकार आरक्षले पेलेर काम गर्न खोजेको उनले बताए । स्थानीयकै स्वामित्वमा रहने गरी बाहेक सिकार आरक्षले घोषणा गर्ने मध्यवर्ती क्षेत्रलाई नमान्ने गरी सर्वदलीय बैठकको निष्कर्ष रहेको नेपाली कांग्रेसका काजीमान घर्ती भगरले बताए । स्थानीयले विरोध गर्दा गर्दै मध्यवर्ती क्षेत्र घोषणामा सिकार आरक्ष अघि बढ्न नहुने उनले बताए । संविधान र कानुनले पनि मध्यवर्ती क्षेत्र घोषणाका लागि सजिलो नभएको भन्दै उनले ढोरपाटन सिकार आरक्षलाई कानुनअनुसार नै गर्न चेतावनी दिएको समेत बताए ।

सर्वदलीय बैठकले मध्यवर्ती क्षेत्र विस्तारलाई अस्वीकार गरी नेपालले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ १६९ तथा नेपाल पक्ष राष्ट्र भएको आदिवासी, जनजातिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा पत्र २००७ र जैविक विविधता महासन्धिजस्ता अन्तर्राष्ट्रिय महत्त्वका विषयमा हस्ताक्षर गरिसकेकाले कानुन, विधि, मूल्य–मान्यताअनुसार व्यवहार गर्नुपर्ने उल्लेख छ । बैठकले नेपालको संविधान तथा कानुनअनुसार सिकार आरक्षले त्यसको स्वामित्व स्थानीयमा हस्तान्तरण गर्नुपर्ने ठहर गरेको छ । निकुञ्ज आरक्ष र सिकार आरक्षमा प्रदेश र स्थानीय सरकारको भूमिका संविधानमै किटान गरेको भन्दै उक्त भूमिका नभुल्न सिकार आरक्षलाई भनिएको छ । संविधानको धारा ५७ को उपधारा ४, २१४ को उपधारा २, २६६ को १ र २ को १ अनुसूची ८ को १० तथा २१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ को दफा (३) को २ उपदफा १ बमोजिम उक्त सिकार आरक्षको स्वामित्व स्थानीयमा हस्तान्तरणको माग पनि बैठकले गरेको छ ।

उक्त स्वामित्वमा भएको अधिकार सुनिश्चितताका लागि गाउँपालिकाले लुम्बिनी प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष ओप्रकाश घर्ती मगरले जानकारी दिए । कार्यपालिकामार्फत उक्त निर्णय प्रदेश र संघमा पठाउने उनले बताए । जिल्लाको ६० प्रतिशतभन्दा बढी भूभाग ढोरपाटन सिकार आरक्षले ओगटेको छ । यसभित्र धेरै बस्ती त छन् नै स्थानीयका आय आम्दानीका स्रोतमा पनि बन्देज गर्ने गरी सिकार आरक्षले गर्न लागेको मध्यवर्ती क्षेत्र विस्तारलाई अस्वीकार गर्नुको विकल्प नरहेको अध्यक्ष घर्तीले बताए ।

त्यसका लागि सबैतिर पहल र स्थानीयलाई पनि तयार राखिएको उनको भनाइ छ । स्थानीयको इच्छाबेगर यो सब गर्ने छुट सिकार आरक्षलाई नभएको उनको भनाइ छ । हाल सिकार आरक्षले तकसेरा, दुले र पेल्मामा सिकार आरक्षका इलाका स्तरीय कार्यालय स्थापना गरेको छ ।

प्रकाशित : आश्विन ८, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?